विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले ‘विद्युत् पहुँच, ऊर्जा सङ्कट र समाधान’का विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता हामीले ‘स्टेप पोटेन्सियल, टच पोटेन्सियल र ग्राउन्ड प्रतिरोध न्यूनीकरण’ शीर्षकको प्राविधिक तथा ज्ञानवर्द्धक जानकारी प्रस्तुत गरेका थियौँ ।

(१) विद्युत् पहुँच भन्नाले के बुझिन्छ ?

उत्तर : विद्युत् पहुँच भन्नाले दैनिक आवश्यकताहरू पूरा गर्न सस्तो, निरन्तर आपूर्ति हुने बिजुली उपलब्ध हुनु हो । जस्तो, बत्ती बाल्न, खाना पकाउन, टेलिभिजन, फ्रिज, पङ्खा जस्ता उपकरण चलाउन, मोबाइल र अन्य उपकरण चार्ज गर्न, काम वा व्यवसायमा प्रयोग हुने उपकरण चलाउने जस्ताका लागि विद्युत् उपलब्ध भयो भने त्यसलाई विद्युत्मा पहुँच पुगेको मान्न सकिन्छ । 

(२) विश्वव्यापी रूपमा विद्युत् पहुँच किन महत्त्ववपूर्ण छ ?

उत्तर : हाल विश्वभर करिब ७ करोड मानिस अझै पनि विद्युत् सुविधाबाट वञ्चित छन् । तीमध्ये अधिकांश बासिन्दा अफ्रिका र दक्षिण एसियाका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्छन् । बिजुलीको अभावमा मानिसहरूले मैनबत्ती, मट्टीतेल, वा दाउराको प्रयोग गर्छन्, जुन असुरक्षित र प्रदूषण फैलाउने ऊर्जा स्रोत हो । विद्युत् शिक्षा, स्वास्थ्य सेवा, गरिबी न्यूनीकरण, तथा समग्र विकासका लागि अत्यन्त आवश्यक छ ।

(३) नेपालमा विद्युत् पहुँचको अवस्था कस्तो छ ?

उत्तर : हाल नेपालका ९९ प्रतिशत भन्दा बढी घरहरूमा विद्युत् पुगेको छ । यो राष्ट्रिय प्रसारण लाइन, सानो जलविद्युत्, सौर्य प्रणाली, तथा अन्य विकेन्द्रीकृत प्रणालीहरूको विकासले सम्भव भएको हो । यद्यपि, केही चुनौतीहरू अझै बाँकी छन्ः

  • केही क्षेत्रमा नियमित लाइन जाने समस्या
  • दूरदराजका गाउँहरूमा स्थिर लाइन नपुगेको
  • ट्यारिफ महँगो हुनु वा उपकरणहरू किन्ने खर्च बढी हुँदा पूर्ण उपयोग गर्न नसकिने

(४) विकास कार्यका लागि विद्युत् पहुँच किन आवश्यक छ ?

उत्तर : विद्युत् हुँदा उज्यालो, शिक्षा, रोजगारी, स्वास्थ्य, र जीवनस्तरमा सुधार सम्भव हुन्छ । यसले कृषि, उद्योगधन्दा, पर्यटनजस्ता आर्थिक गतिविधिमा टेवा दिन्छ । स्वच्छ ऊर्जाको प्रयोगले वातावरणीय प्रदूषण घटाउन र जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुर्‍याउन सक्छ ।

(५) ऊर्जा संकट भन्नाले के बुझिन्छ ?

उत्तर : ऊर्जा संकट भन्नाले आधुनिक ऊर्जा सेवाहरू—जस्तै बत्ती बाल्नका लागि बिजुली, खाना पकाउन वा जाडो हटाउन सफा इन्धनको पहुँच नहुनुलाई जनाउँछ । जस्तै, 

  • घर वा व्यवसायमा बिजुली नहुनु
  • दाउरा, गुइँठा वा मट्टीतेलजस्ता प्रदूषणयुक्त इन्धनको प्रयोग गर्नु
  • सुरक्षित, भरपर्दो र गुणस्तरीय ऊर्जा उपयोग गर्न नसक्नु
  • विद्युत् आपूर्ति अस्थिर वा कमजोर गुणस्तरको हुनु

(६) विश्वव्यापी परिप्रेक्ष्यमा ऊर्जा सङ्कटको स्थिति कस्तो पाइन्छ ?

उत्तर : हाल पनि ७० करोडभन्दा बढी मानिसहरू विद्युत्बिनाको जीवन बिताइरहेका छन् । थुप्रै मानिसहरू अझै पनि खाना पकाउन दाउरा वा कोइला जस्ता प्रदूषणकारी इन्धन प्रयोग गर्छन् । ऊर्जा संकटले शिक्षा, स्वास्थ्य, रोजगारी, र महिला सशक्तीकरणमा नकारात्मक असर पार्छ । यो समस्या विशेषगरी अफ्रिका, दक्षिण एसियाका ग्रामीण क्षेत्रहरू र द्वन्द्वग्रस्त भूभागहरूमा बढी देखिन्छ । ऊर्जा संकट अन्त्य गर्नु संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य ७ अन्तर्गत पर्छ ।

(७) नेपालमा ऊर्जा सङ्कटको स्थिति कस्तो छ ?

उत्तर : नेपालले ९९ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत् पहुँच विस्तार गरिसकेको छ तर केही दुर्गम गाउँहरू अझै स्थायी र भरपर्दो आपूर्तिबाट वञ्चित छन् । कतिपय ठाउँमा बारम्बार लाइन जाने वा कम गुणस्तरको भोल्टेजको समस्या छ । धेरै घरपरिवारले विद्युतीय उपकरण वा सफा इन्धन किन्न सक्दैनन् । विशेष गरी ग्रामीण क्षेत्रमा अझै पनि ६५ प्रतिशतभन्दा बढी घरहरूमा खाना पकाउन दाउरा वा बायोमास प्रयोग भइरहेको छ । बिजुली जडान भएर पनि ऊर्जा सङ्कट कायम रहन्छ ।

निम्न अवस्थालाई ऊर्जा सङ्कटको अवस्था भनिन्छ :

  • विद्युत् यति महँगो हुन्छ कि नियमित प्रयोग सम्भव हुँदैन ।
  • आपूर्ति अस्थिर वा गुणस्तरहीन हुन्छ ।
  • सफा खाना पकाउने प्रणाली उपलब्ध छैनन् वा अत्यधिक महँगा छन् ।

(८) ऊर्जा सङ्कट किन गम्भीर विषय हो ?

उत्तर : निम्न लिखित कारणले ऊर्जा सङ्कट गम्भीर अवस्था हो :

  • घरभित्रको धुवाँले महिला र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ ।
  • उज्यालो नहुँदा शिक्षा आदान–प्रदान सीमित हुन्छ ।
  • बिजुली नहुँदा उद्योग वा उद्यम चलाउन सकिँदैन, जसले आर्थिक उत्पादन घटाउँछ ।
  • यसले गरिबी र अन्यायलाई बढावा दिन्छ ।

(९) ऊर्जा सङ्कट हटाउन के कस्ता उपाय अपनाउन सकिन्छ ?

उत्तर : ऊर्जा सङ्कट हटाउन निम्न उपाय अपनाउन सकिन्छ :

  • सफा, सस्तो र भरपर्दो बिजुली आपूर्ति विस्तार गर्नु ।
  • सौर्य प्रणाली र मिनी–ग्रिड प्रविधिलाई अफ–ग्रिड क्षेत्रमा प्रवद्र्धन गर्नु ।
  • सफा खाना पकाउने प्रणाली (इलेक्ट्रिक चुल्हो, बायोग्यास, आदि) पहुँचयोग्य बनाउनु ।
  • ऊर्जा–दक्ष उपकरणको उपयोग र आर्थिक पहुँच सुनिश्चित गर्नु ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३