काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले नवीकरणीय ऊर्जा र यसका स्रोतहरूका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् क्षेत्रमा प्रयोग हुने प्रचलित शब्द र तिनका अर्थबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. नवीकरणीय ऊर्जा भनेको के हो ?
उत्तरः नवीकरणीय ऊर्जा भनेको प्रकृतिक स्रोतहरूबाट प्राप्त हुने ऊर्जा हो, जुन सीमित नभएका हुन्छन् । कोइला, तेल र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनहरू सीमित हुन्छन् र प्रदूषण पनि उत्पादन गर्छन्, जबकि नवीकरणीय ऊर्जा स्रोतहरू सफा र दीर्घकालीन हुने गर्छन् ।
२. नवीकरणीय ऊर्जाको स्रोतहरू के के हुन् ?
उत्तर : मुख्यतया ऊर्जाका ६ प्रकारका स्रोत छन् :
भूतापीय ऊर्जाः भूतापीय ऊर्जा एउटा नवीकरणीय ऊर्जा स्रोत हो, जुन पृथ्वीको सतहमुनि थुनिएको प्राकृतिक तापबाट प्राप्त हुन्छ । पृथ्वीको गहिराइमा रहेका तातो ढुंगा, तरल पदार्थ र पारगम्यता (ढुंगाभित्रबाट पार हुन सक्ने क्षमतायुक्त तरल पदार्थ) ले विद्युत् उत्पादन गर्न सकिने अवस्था सिर्जना गर्छन् । प्राकृतिक वा कृत्रिम रूपमा बनेको पारगम्यता र चिराहरू मार्फत तरल पदार्थ तातो ढुंगाहरूभित्रबाट बग्छन्, जसले ती ढुंगाबाट ताप निकाल्छ । त्यस तापलाई इनारहरूको माध्यमबाट सतहमै ल्याउन सकिन्छ । यो तापीय ऊर्जा वाष्पमा परिणत गरिन्छ, जुन टर्बाइन चलाएर विद्युत् उत्पादन गर्छन् । यसमा अरू कुनै ऊर्जाको स्रोतको तुलनामा कम जमिन आवश्यक पर्छ । यो सौर्य वा पवन ऊर्जा जस्तो मौसममा भर पर्दैन ।
ज्वारीय ऊर्जा : ज्वारीय ऊर्जा नवीकरणीय ऊर्जा स्रोतहरूमध्ये एक हो, जुन समुद्री ज्वारभाटाको गतिमा आधारित हुन्छ । यो ऊर्जा चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण शक्तिहरू तथा पृथ्वीको परिक्रमाबाट उत्पन्न हुने ज्वारको गति र स्थिति ऊर्जा प्रयोग गरेर प्राप्त गरिन्छ । यो ज्वारभाटा निश्चित ढाँचामा चल्ने भएकाले ऊर्जा उत्पादन पनि पूर्वानुमान गर्न सकिन्छ । यो सञ्चालनको क्रममा हरितगृह ग्यासहरू उत्सर्जन हुँदैन । ज्वारीय विद्युत् केन्द्रहरू दशकौैँसम्म टिक्ने दीर्घायू हुन्छ ।
जैविक ऊर्जा : जैविक ऊर्जा पनि नवीकरणीय ऊर्जाको प्रकार हो, जुन जैविक पदार्थहरूबाट प्राप्त हुन्छ, जस्तै बिरुवा, कृषि तथा बनजङ्गलका फोहोर, र जनावरको गोबर । यी सबैलाई जैविक पदार्थ भनिन्छ र तिनीहरूलाई जलाएर वा रूपान्तरण गरेर ताप, विद्युत् वा जैव इन्धन उत्पादन गर्न सकिन्छ । जैविक पदार्थलाई दिगो तरिकाले पुनःपूर्ति वा सङ्कलन गरिन्छ । जैविक र कृषि फोहोरलाई ऊर्जा उत्पादनका लागि उपयोग गरिन्छ । यसले फोहोर घटाउँछ । इन्धन प्रशोधन र कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न सक्छ, जसले गर्दा ग्रामीण विकासमा सहयोग पुग्छ ।
जलविद्युत् : जलविद्युत् एउटा नवीकरणीय र सफा ऊर्जा स्रोत हो, जुन खसेको वा बगेको पानीको ऊर्जाबाट विद्युत् उत्पादन हुन्छ । यो विश्वभर सबैभन्दा पुरानो र सबैभन्दा व्यापक रूपमा प्रयोग हुने नवीकरणीय ऊर्जा रूपहरूमध्ये एक हो । यसबाट कुनै पनि किसमिको कार्बन उत्सर्जन वा सिधा प्रदूषण हुँदैन । यो भरपर्दो र लचकदार हुन्छ, जसले गर्दा विद्युत् मागअनुसार छिटो प्रतिक्रिया दिन सक्षम रहन्छ । जलविद्युत् केन्द्रहरू दशकौँसम्म सञ्चालन गर्न सकिन्छ । निर्माणपछि मर्मत र सञ्चालन खर्च न्यूनतम हुन्छ ।
वायु ऊर्जा : हावाबाट उत्पन्न ऊर्जा प्रदूषणरहित ऊर्जा स्रोत हो, जसले हावाको गति ऊर्जा प्रयोग गरेर वायु टर्बाइनमार्फत विद्युत् उत्पादन गर्छ । वायु टर्बाइनहरू ठूलो पङ्खाहरूबाट बनेका हुन्छन्, जुन हावा चल्दा घुम्छन् । घुम्ने पङ्खाहरूले एउटा रोटर बनाउँछन्, जुन जनरेटरसँग जोडिएको हुन्छ । जनरेटरले विद्युत् उत्पादन गर्छ । वायु फार्महरू जमिनमा वा समुद्रमा स्थापना गर्न सकिन्छ । यो पनि अरु नवीकरणीय ऊर्जाको स्रोत जस्तै सफा हुन्छ र यसले प्रयोगको क्रममा कुनै उत्सर्जन हुँदैन । साना र ठूला दुवै किसिमका वायु ऊर्जा फार्म स्थापना लागि उपयुक्त हुन्छ । यस्ता फार्म तुलनात्मक रूपमा छिटो निर्माण गर्न सकिन्छ ।
सौर्य ऊर्जा : सौर्य ऊर्जा सूर्यको प्रकाश र तापबाट प्राप्त नवीकरणीय ऊर्जा हो । यो पृथ्वीमा उपलब्ध सबैभन्दा सफा र प्रशस्त ऊर्जा स्रोतहरूमध्ये एक हो । सौर्य ऊर्जा मुख्य गरी दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ :