काठमाडौँ । हरेक शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले वायु ऊर्जा, यसका फाइदा र बेफाइदाका विषयमा जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता हामीले विद्युतीय दुर्घटना, यसका कारण र बच्ने उपायबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. वायु ऊर्जा भनेको के हो ?
उत्तर : वायु ऊर्जा नवीकरणीय ऊर्जाको एक प्रकार हो । यसमा हावाको गतिमार्फत ‘विन्ड टर्वाइन’ घुमाएर यान्त्रिक उपकरणमार्फत विद्युत् उत्पादन गरिन्छ । नेपालका धेरै पहाडी र हिमाली क्षेत्रहरूमा विशेषगरी मुस्ताङ जस्ता स्थानहरूमा तीव्र गति (बेग) रहेको र स्थिर हावा बहन्छ । वायु ऊर्जा उत्पादनमा यस किसिमको प्राकृतिक स्रोतको उपयोग गर्न सकिन्छ ।
२. वायु ऊर्जाका फाइदाहरू के के छन् ?
उत्तर : वायु ऊर्जाका अनेक फाइदा छन् । ती मध्ये मुख्य फाइदाहरू यस प्रकार छन् :
- नवीकरणीय र स्वच्छ ऊर्जा प्रवर्द्धन : वायु ऊर्जा उत्पादन गर्दा कुनै प्रदुषण हुँदैन, जसले गर्दा नेपालले स्वच्छ ऊर्जातर्फ अग्रसर भई वातावरणीय प्रतिबद्धता पूरा गर्न सक्छ ।
- ऊर्जा पहुँच विस्तार : दूरदराज र ग्रिडबाहिरका विकट तथा दुर्गम क्षेत्रहरूमा पुगी वायु ऊर्जा मार्फत विद्युत् उत्पादन र प्रयोग गर्न सकिन्छ । ग्रामीण विद्युतीकरणका लागि यो सहायक हुन सक्छ ।
- ऊर्जामा निर्भरता घटाउँछ : स्थानीय प्राकृतिक स्रोतका रूपमा रहेको वायु स्रोतलाई प्रयोग गरेर नेपालले विशेषगरी डिजेल जेनेरेटरमा निर्भर ग्रिडबाहिरका क्षेत्रमा पेट्रोलियम पदार्थको आयातलाई घटाउन सक्छ । साथै देशभित्रै थप विद्युत्को उत्पादन गरी विद्युत्कै आयात पनि कम गराउन सक्छ ।
- जलविद्युत्को पूरक बन्न सक्छ : सुक्खा मौसम वा जलविद्युत् उत्पादन कम हुने समयमा पनि वायु ऊर्जाले वैकल्पिक स्रोतको रूपमा काम गर्न सक्छ, जसले समग्र विद्युत् प्रणालीको भरपर्दोपनामा वृद्धि गर्छ ।
- कम सञ्चालन लागत : एकपटक जडान गरेपछि वायु टर्बाइनहरूको सञ्चालन लागत कम हुन्छ, जसले गर्दा दीर्घकालीन रूपमा विशेष गरी साना समुदायहरूका लागि यो आर्थिक रूपमा लाभदायक हुन्छ ।
- स्थानीय रोजगारी र सीप विकास : वायु ऊर्जा आयोजनाको विकासले निर्माण, जडान, र मर्मतसम्भारमा स्थानीय रोजगारी सिर्जना गर्छ र प्राविधिक सीपमा वृद्धि गर्छ ।
३. वायू ऊर्जाका बेफाइदाहरू के के छन् ?
उत्तर : वायु ऊर्जाका बेफाइदालाई निम्नानुसार बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ :
- हावाको अविश्वसनीय उपलब्धता : नेपालमा सधैँ स्थिर र बलियो हावा बहने क्षेत्रहरू अत्यन्तै थोरै छन् । अधिकांश भूभाग, विशेष गरी पहाडी र हिमाली भू–भागहरूमा औसतभन्दा बढी हावाको गति परिवर्तन भइरहने गरेको देखिन्छ । जसले गर्दा वायु ऊर्जामा भर परेर निरन्तर विद्युत् आपूर्ति गर्नु असम्भवजस्तै हुन्छ ।
- उच्च प्रारम्भिक लगानी : वायु टर्वाइन र यसका लागि आवश्यक संरचनाहरू (जस्तैः टावर, इनभर्टर, र ग्रिड जडानहरू) लगानीका हिसाबले महँगा हुन्छन् । आन्तरिक वित्तीय स्रोत सीमित भएको नेपालजस्तो गरीब राष्ट्रका लागि वायु ऊर्जामा विदेशी लगानी न्यून छ । त्यो हुँदा नेपालका यो लगानीका हिसबले चुनौतीपूर्ण र प्रतिफलका हिसाबले निकै कम लाभदायी बन्न सक्छ ।
- स्थापनाका लागि जटिल भू–भाग : नेपालको दुर्गम र पहाडी भौगोलिक स्वरूपले वायु टर्वाइनको ढुवानी र स्थापनालाई जटिल बनाउँछ । पहुँच मार्ग निर्माण, भारी उपकरण ढुवानी र ढलानमा संरचनात्मक समर्थन आवश्यक पर्ने भएकाले लागत र सञ्चालनको जटिलता अत्यधिक बढ्छ ।
- जनचेतना र प्राविधिक क्षमताको अभाव : वायु ऊर्जा प्रविधिको डिजाइन, स्थापना र मर्मतसम्भारका लागि नेपालमा सीमित मात्रामा प्राविधिक दक्षता उपलब्ध छ । तालीम प्राप्त जनशक्तिको अभाव र वायु ऊर्जा प्रविधिबारे पर्याप्त ज्ञान नहुनुले यसको दीर्घकालीन प्रयोग र मर्मतसम्भारलाई झनै कठिन बनाउँछ, जसले विदेशी सहयोगमा निर्भरता बढाउँछ ।
- वातावरणीय र सौन्दर्य प्रभाव : वायु टर्वाइनहरूले विशेषगरी प्रवासी चराहरूको चालचलनमा असर पार्न सक्छन् । यसले प्राकृतिक वातावरणमा हस्तक्षेप गर्न सक्छ । हिमालजस्ता प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा वायु ऊर्जा टर्वाइनहरूको स्थापनाले प्राकृतिक सौन्र्यको निखारतामा ह्रास ल्याउँछ । त्यसो हुँदा यसले पर्यटनमा असर पर्न सक्छ र स्थानीय समाजबाट अस्वीकृत हुने सम्भावना पनि रहन्छ ।