विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँ स्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाटको जलाशय तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेको छ । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएका छन् ।

टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत्‌गृह, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरणहरू, मुख्य सुरुङ निर्माण स्थलको अनुगमन गरेको हो । कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृतरूपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिका लगायतका विषयमा जानकारी लिएको छ ।

तनहुँ हाइड्रो पावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, उत्पन्न समस्या लगायत विषयमा टोलीलाई जानकारी गराएका थिए ।  टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन) मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्या लगायत विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँग समेत छलफल गरेको थियो । जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई आग्रह गरिएको थियो ।

आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरूको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै कुश्वाले हाल देखिएका समस्या तत्काल समधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न गर्ने आग्रह गरे । उता, सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशय प्रकृतिको यो आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए ।

विद्युत्‌गृह, प्रसारण लाइन लगायत संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई निर्देशन दिएका छन् । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण हुनेछ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ । मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको छ । प्याकेज–१ को काम प्रगति करिब ३६ प्रतिशत छ । 

प्याकेज–१को निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जे.भी ले गरिरहेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइननिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्‌गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युत्‌गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ ।

विद्युत्‌गृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीचयार्ड निर्माण, विद्युत्‌गृहमा रहने उपकरणहरू जडान लगायत कार्यहरू भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको निर्माणका भारतीय कम्रपनी के.ई.सी. इन्टरनेशनल लिमिटेड गरिरहेको छ । ३४.७ किलाेमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माण लगायत गरी ६३ वटा परियोजना सम्पन्न भएका छन् । १० वटा परियोजना सञ्चालित छन् । आयोजना प्रभावित बासिन्दाको जीविकोपार्जन तथा आय-आर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेका छन् ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाब र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३