काठमाडौं । जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेपछि स्थानीय क्षेत्रको विद्युतीकरणका लागि निर्माण गरिएका लघुजलविद्युत आयोजना बन्द हुन पुगेका छन् । यो वर्ष बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याउँदा बन्द भएका लघुजलविद्युत आयोजनाको उत्पादन पुनः सुचारु हुन नसकेको हो ।
स्थानीयबासीले फेरि लगानी गरेर मर्मत गरी सञ्चालन गर्नुभन्दा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गर्ने विकल्प रोजेपछि लघुजलविद्युतको भविश्य संकटमा परेको हो । बर्खामा आएको बाढीले क्षतिग्रस्त १० वटा लघुजलविद्युत आयोजना अहिले पनि मर्मतमा जान सकेका छैनन् ।
बजेट अभाव तथा राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुँचको विकल्प पाएपछि लघुजलविद्युत आयोजनाका स्थानीय सञ्चालन पुनर्निर्माण गरेर फेरि सञ्चालन नगर्ने मनस्थितीमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्र प्रमुख नरेश रावलले बताए । ‘राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुग्दासम्म जिल्लाको विद्युतीकरणमा यीनै लघु जलविद्युत आयोजनाको भूमिका महत्त्वपूर्ण थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘बर्खाको बाढीले क्षति पुर्यापछि लाखौं रुपैयाँ खर्चिएर मर्मत गर्नुभन्दा प्राधिकरणको विद्युत सेवाको माग आइरहेको छ ।’
२ वर्षअघि मात्रै सञ्चालनमा आएको तातोपानी गाउँपालिकास्थित २२० किलोवाटको जालपादेवी लघुजलविद्युत आयोजना क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरेर सञ्चालन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा विवाद उत्पन्न भएको छ । ४० प्रतिशत सेयर लगानी भइसकेकाले प्राधिकरणलाई लघुजलविद्युतगृह हस्तान्तरण गर्ने मनस्थितीमा उनीहरू छैनन् ।
‘अहिले बजेट अभावले बाढीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण गरी वितरण लाइन विस्तार गरेर विद्युत सेवा दिन सक्ने अवस्था छैन । अर्कोतर्फ स्थानीयले प्राधिकरणको सेवा माग गरिरहेको भए पनि सञ्चालकहरूले आफ्नो लगानी उठिनसकेकाले लघुजलविद्युत प्राधिकरणलाई चलाउन दिन सहमति नजाएका छैनन्’ उनले भने ।
स्थानीय सञ्चालकको अवरोधका कारण गाउँमा प्राधिकरणको सेवा विस्तार गर्नमा पनि अलमल भइरहेको वितरण केन्द्रले जनाएको छ । जुम्लामा गत साउन २३ गते राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो ।
स्थानीयले गाउँमै राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगिसकेकाले लघुजलविद्युतबाट उत्पादन हुने विद्युतको विद्युत खरिद सम्झौता (पिपिए) गरेर प्राधिकरणले खरिद गरिदिनुपर्ने माग राखेको पनि रावलले बताए । यो लघुजलविद्युत आयोजना २ वर्षअघि मात्रै सञ्चालनमा आएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केनद्रको ६० प्रतिशत र स्थानीयबासीको ४० प्रतिशत लगानीमा यो लघुजलविद्युत आयोजना निर्माण भएको हो । लघुजलविद्युत आयोजनाको निर्माण तथा वितरण लाइन विस्तारमा भएको लगानी उठिनसकेका कारण पनि स्थानीयले उत्पादन हुने विद्युत खरिद गरिदिन प्राधिकरणलाई आग्रह गरेका छन् ।
बाढीले क्षति पुर्याउनुअघि गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ मा यो लघुजलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतबाट विद्युतीकरण गरिएको थियो । यो लघुजलविद्युत आयोजनाको जस्तै समस्या अन्य जिल्लामा पनि देखिएको थियो ।
यसअघि स्याङ्जास्थित पुतपुते लघुजलविद्युतमा बर्खामा प्रतियुनिट ४ रुपैयाँ र हिउँदमा प्रतियुनिट ६ रुपैयाँमा पिपिए गरिएको थियो । रामेछापस्थित खिम्ती र कास्कीस्थित सिक्लेस लघुजलविद्युत सँग पनि बर्खामा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पिपिए गरिएको छ ।