काठमाडौँ । हेवा ‘ए’ साना जलविद्युत् आयोजना (९.९ मेगावाट) को विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै प्रवर्द्धक ह्याविट्याट पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–१ मा रहेको आयोजनाको स्विचयार्डदेखि हिलिहाङ गाउँपालिका हुँदै प्राधिकरणको फिदिम सबस्टेसनसम्म ११.२४ किलोमिटर लामो ३३ केभीको सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको हो ।
प्रसारण लाइनअन्तर्गत १४० वटा स्टिल ट्युबुलर पोलहरू रहने छन् । पोलको उचाई १३ मिटर र पोलहरूबिचको दूरी ६३.१२ मिटर रहने छ । प्रसारण लाइनको फाउन्डेसन र राइट अफ वे गरी कुल ८.०४२ हेक्टर जग्गा आवश्यक पर्ने छ ।
प्रसारण लाइनको निर्माण १२ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र प्रवर्द्धक कम्पनीको कार्यालय वा विभागमा लिखित राय–सुझाव पेस गर्न आग्रह गर्दै विभागले मंगलबार सूचना जारी गरेको छ ।