विद्युत अपडेट

  • प्राधिकरण : ९८८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५९०८ मे.वा.घन्टा
  • आयात : २५ मे.वा.घन्टा
  • निर्यात : १३९११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८० मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : २२८६ मे.वा.
२०८० असोज १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रबार (फागुन २८ गते) देखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको छ ।

माउन्टेन इनर्जी कम्पनी प्रालिले निर्माण गरेको आयोजनाको ३ वटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाले बताए । उनका अनुसार पहिलो युनिटको ९९ प्रतिशत, दोस्रोको ९० प्रतिशत र तेस्रोको ८० प्रतिशत परीक्षण पूरा भएको छ ।

‘उपकरणहरूको परीक्षण पूरा भएपछि शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘करिब एक हप्तासम्म परीक्षण उत्पादन गरेपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले निरिक्षण गरी व्यापारिक उत्पादनको मिति तोक्ने र प्रणालीमा जोडिनेछ ।’

१५ दिनसम्म परीक्षण उत्पादन गरेपछि चैत्र अन्तिम साताबाट व्यावसायिक उत्पादन सुरु गर्ने योजना छ । गत फागुन १६ गतेदेखि परीक्षण उत्पादन सुरु गर्ने तालिका रहे पनि प्रक्रिया पूरा भइनसकेकाले समय लम्बिएको कम्पनीले जानकारी दिएको छ ।

उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ । यो सबस्टेसनको काम पूरा भएकाले माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गरेका थिए । सबस्टेसनसम्मको ४ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक आफैंले निर्माण गरेको छ ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजना भन्दा निकै सस्तो मानिएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो ।

प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेगावाट करिब १४ करोड रुपैयाँमा पूरा भएको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी छ ।

५ अर्ब ६४ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । यसैलाई आधार मान्दा प्रतिमेगावाट लागत करिब १३.४३ करोड रुपैयाँ हुन आउँछ ।

आयोजनामा नबिल (१ अर्ब) सँगै नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ अर्ब, नेपाल बैंकले ५० करोड, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलपमेन्ट बैंकले ३० करोड लगानी गरेका छन् । मिस्ट्री खोलाले २०६८ असोज २० गते उत्पादन अनुमतिपत्र पाएको थियो ।

कम्पनीले यसअघि नै सर्वसाधारणका लागि २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । आयोजना आकर्षक भएको हुँदा यसको सेयर मूल्य पनि त्यही अनुसार किनबेच भइरहेको छ ।

माउन्टेन इनर्जीले यसअघि नुवाकोटको तादी खोलामा ५ मेगावाटको तादी खोला निर्माण गरी सञ्चालन गरिरहेको छ । यस्तै, कम्पनीले मिस्ट्री खोलाको विद्युत्गृहबाट निस्केको पानी उपयोग गरी मिस्ट्री खोला–२ (क्यासकेड) को निर्माण अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit