काठमाडौं । रुकुमपूर्वको सिस्नेमा निर्माणाधीन ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाले ५ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । ८० प्रतिशत निर्माण पूरा भइसकेको आयोजना आगामी चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
अहिलेसम्म आयोजनाको बाँध क्षेत्रका संरचनाको निर्माण पूरा भइसकेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । ‘आयोजना पूरा हुने चरणमा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी काम सम्पन्न गरेर ५ महिनाभित्र ग्रिडमा जोड्छौं ।’
उनले खोलाको पानी विद्युतगृहमा खसाल्न २ किलोमिटर पाइप लाइन बिछ्याने काम भइरहेको बताए । पाइनलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।
विद्युतगृहमा पनि धमाधम काम भइरहेको छ । विद्युतगृहको इलेकट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको पनि भण्डारीले बताए ।
आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत मुसीकोट सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसन २१ किलोमिटर टाढा छ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन कम्पनीले नै निर्माण गर्दैछ ।
कम्पनीले २०७५ सालदेखि आयोजनाको निर्माण सुरु गरेको थियो । यसअघि आयोजनाबाट गत पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा उत्पादन धकेलिएको हो ।
आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत लगानी ३ वटा बाणिज्य बैंकले गरेका छन् । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ऋण लगानी गरेका छन् ।
यो आयोजना पूरा भई सञ्चालनमा आएपछि वार्षिक २८.५७९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खामा २३.४९५ गिगावाट घन्टा र हिउँदमा ५.०८४ गिगावाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।