काठमाडौँ । प्रबल अधिकारी नेपालको ऊर्जा क्षेत्रका एक हस्तीका रूपमा परिचित छन् । विद्युत् व्यापार, वैदेशिक मामिला होस् वा ऊर्जा कूटनीतिका क्षेत्रमा उनको उपस्थिति अपरिहार्यजस्तै मानिन्छ । उनको समन्वयकारी भूमिका यस क्षेत्रको अर्को बलियो पक्ष हो ।
नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त भएपछि उनी वरिष्ठ ऊर्जाविज्ञको रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा फरक जिम्मेवारीमा पुगे । त्यहाँ उनले ५ महिना १३ दिन जिम्मेवारी सम्हालेर हिजो चैत २६ गते (मंगलबार) गते राजीनामा गरी बाहिरिएका छन् ।
अधिकारी छोटो समय मन्त्रालयमा फरक भूमिकामा रहँदा केही नीतिगत सुधारका काम भए । त्यस अवधिमा ऊर्जा क्षेत्रले उनीबाट जेजति अपेक्षा गरेको थियो, सम्भवतः त्यो पूरा हुन सकेन । शायद यसको लेखाजोखा उनी आफैँले पनि गरेका होलान् । राजनीतिक तरलता, परिस्थितिजन्य घटना र ऊर्जा विकासमा देखिएका जटिलताका कारण पनि अपेक्षाकृत काम गर्न सम्भव नरहेको उनी आफैँले हृदयङ्गम गरेको देखिन्छ ।
अधिकारीले मंगलबार पदबाट राजीनामा दिइसकेपछि सामाजिक सञ्जाल (फेसबुक) मा लेखेको लामो विचारमूलक टिप्पणीले पनि उपर्युक्त विषयलाई इंगित गरेको बुझिन्छ । यहाँ उनले सामाजिक सञ्जालमा लेखेको विचारलाई केही भाषागत सम्पादन गरी हुबहु राखिएको छः
सङ्घारमा आउँदै गरेको नयाँ वर्षको सुरुवातसँगै मैले ऊर्जा मन्त्रालयको दैनिकीबाट विश्राम लिएको छु । होला, अर्को बिहानी पो कतै मेरै लागि प्रतीक्षारत छ कि ! यात्रा शायद त्यस्तै हुन्छ, एउटा चरणमा पुगेर विश्राम, फेरि अर्को चरणको सुरुवात !
गत भाद्र १३ गतेको मन्त्रीपरिषद्को बैठकले मलाई विशिष्ट श्रेणी बराबरको वरिष्ठ ऊर्जाविज्ञमा नियुक्ति गरेको थियो ।
पुराना बाटा कहिलेकाहीँ पट्यारलाग्दा हुन्छन्, फर्किने छुट पनि नहुन सक्छ, रोबर्ट फ्रोस्टले लेखेको कविता "द रोड नट टेकन"जस्तो । मैले नयाँ वर्षमा नयाँ बाटो हिँड्नुपर्यो भनेर आफैँले पुरानो बाटोबाट मोडिन खोजेको हुँ । यसमा कसैसँग सिकायत र गुनासो छैन । यो मैले नै तय गरेको बाटो हो । तसर्थ, व्याख्यात्मक टिप्पणी यसले नमाग्ला भन्ठानौँ ।
ऊर्जा प्रकृतिको अनुपम कृति हो । त्यही कृतिका खातिर मेरो लगाव र सिर्जनशीलता निरन्तर प्रवाहित हुने नै छ । अभ्यस्त भूमिकाभन्दा अलि फरक रूपरङ्गमा हुन सक्ला, अलि बान्की- वनावटमा भिन्न देखिएला । यद्यपि, नेपालको ऊर्जा क्षेत्र राज्य र निजी क्षेत्र दुवैको सहकार्यमा अघि बढ्नुपर्छ । तबमात्रै नतिजा आउँछ भन्ने मेरो निचोड ऊर्जा मन्त्रालयबाट बाहिँरिदै गर्दा पनि उत्तिकै प्रगाढ छ । म त्यसमा आफ्नो अनुभव र विज्ञताका साथ लागिरहने छु ।
समग्रमा भन्नुपर्दा, ऊर्जा मन्त्रालयमा रहँदाको "फ्ल्यासब्याक" त रहने नै भयो । "सोचेझैँ जिन्दगी रैन छ" भन्ने गीतको बोलजस्तै केही नयाँ अनुभव गरियो । केही नयाँ पाठ सिकियो । खासमा, यो पनि जीवनको एउटा स्टोरी नै त हो ।
केही समय बाहिर पनि जानु छ; "मोनोटोनस/सेड्युल्ड" अर्थात् दिनचर्याबाट अलि रिफ्रेस पनि हुनु छ । केही निजी र पारिवारिक समय पनि चाहिएको छ । यो मोड र स्टेटस लेखनलाई त्यसैगरी सहजताका साथ बुझिदिनु भए कृतज्ञ हुनेछु ।
अन्त्यमा, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यू, सिङ्गो नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका श्रीमान सचिवज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै माननीय मन्त्रीज्यूका सल्लाहकारहरू लगायत स्वकीय/निजी सचिवलगायत सबै साथीहरू, मन्त्रालयका उच्च पदस्थ एवम् सम्पूर्ण कर्मचारी मित्रहरूका साथै सञ्चारकर्मी मित्रहरूप्रति समेत आभार र सहृदयता प्रकट गर्दछु ।
त्यसबाहिरको दुनियाँमा पनि मेरो केही वैरभाव वा दुराशय छैन र थिएन पनि । कहिलेकाहीँ मिर्ची-मसलासहितका खट्टा-मीठ्ठा परिकारहरू एवम् व्याख्या-अपव्याख्यासहित अनुमान र आशङ्कामा गरिने बिनाआधारका कथनहरूबाट अहिलेको दुनियाँमा कोही त अछुतो छैन । मैले पनि त्यसलाई रङ्गमञ्चको एउटा पाटोबाहेक अन्य किन पो ठान्नु पर्यो र ? "धमिलो पानीमा माछा मार्ने" भन्ने नेपाली उखानसँग चरितार्थ पनि हुन सक्ला ! त्यस कोणबाट "फ्ल्यासब्याक" केलाउँदा सम्बन्धित उहाँहरूप्रति पनि मेरो हार्दिक नमन छ र त्यसमा फेरि पनि मेरो केही गुनासो छैन ।
ठ्याक्कै नयाँ वर्षको दिनमा त कता होइएला, भेट होला/नहोला । अहिले नै आसन्न नयाँ वर्षको सबैलाई हार्दिक शुभकामना ।
नेपालको ऊर्जा क्षेत्र फलोस्, फुलोस् ।
पुनश्च: बोल्दै नबोलेका विषयहरूमा कसैलाई अनाहकमा मानसिक हैरानी हुने र "चान्समा डान्स" गर्ने हिसाबले मनगढन्ते समाचार नबनाइदिनुहुन र मर्यादित पत्रकारितालाई अवलम्बन गरिदिनु हुन समेत मिडियाकर्मी मित्रहरूमा विनम्र अनुरोध छ । मन्त्रालयबाट निस्किएपछि मेरो फोनै बन्द रहेको र यो स्टेटसबाहेक कुनै फोनवार्तामा सरिक नभएको परिप्रेक्षमा मेरो आधिकारिक भनाइ यसै स्टेटसलाई मात्र लिइदिनुहुन अनुरोध गर्दछु।