विद्युत आपूर्ति : प्राधिकरण :५५८० मे.वा.घन्टा / निजी क्षेत्र :४४३३ मे.वा.घन्टा / आयात : १७८१९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / ऊर्जा माग :२७८८२ मे.वा.घन्टा/ उच्च माग :१४३६ मेगावाट
×

उज्यालो सहरको प्रतिबिम्ब खोज्दै

काठमाडाैं । छिमेकी देश चीनका महामहिम राष्ट्रपति २०७६ असोज २५ गते (सन् २०१९, अक्टोबर १२) नेपाल आउने दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ बजे ओर्लिने कार्यक्रम थियो । तर, गोधुली साँझमा मात्र एयरपोर्टबाट होटलतर्फ सवारी सुरु भयो । त्यतिबेलासम्म बानेश्वरको बाटो हुँदै सोल्टी होटलसम्म पुग्ने सौर्य सडक बत्ती बल्नेछन् भन्ने अनुमान रहेछ ।

मलाई बताइए अनुसार यी बत्तीमा लाइट सेन्सर नराखेर टाइमर सेटिङ थियो । तर, त्यो लामो दिन हुने आधारमा । हतार–हतार हिउँदका लागि मिल्ने गरी मिलाउन भ्याइएन । राष्ट्रपतिको भ्रमणसँग सम्बन्धित एक जना सरकारी अधिकृतले मलाई सुनाउनुभयो– ठ्याक्क राष्ट्रपतिको सवारी कालीमाटी पुग्ने बेला पिलपिल उदाए । त्यो दिन सम्माननीय प्रधानमन्त्री आफैंले नगरपालिका लगायत सम्बन्धित स्थानमा सोध्नुभएछ– पिलपिल नै सही, यी बत्ती किन बलेनन् ?

यो सबै सुनेपछि मलाई निकै दुख लाग्यो । एउटा विद्युत् इन्जिनियरको रूपमा यो विषयलाई गम्भीररूपमा उठाउने निचोडमा म पुगेको छु । आजको युगमा देशको राजधानीमा ट्राफिक लाइटले काम गर्दैन । विदेशी पाहुना आउँदा अँध्यारो सडकमा गाडी कुदाउनुपर्छ । यो त राष्ट्रिय लज्जाको विषय भयो ।

विभिन्न देशका केही सहरहरूको रात्रीकालीन जिन्दगीका रंगिन दृष्य हेरेर फर्केपछि मलाई लाग्न थाल्यो– जुनसुकै देशका मुख्य–मुख्य सहरमा त खास गरी सन्ध्याकालमा सुरु भएर मध्यरातसम्म चल्दो रहेछ । कहाँ दिउँसो र रातीको तुलना हुन्छ र ? पानीको फोहोरासँगै बलेका झिलिमिली बत्तीहरूले दुनियाँ अर्कै जस्तो बनाउँछन् ।

मुख्य–मुख्य ल्याण्डमार्कहरूमा आफ्ना–आफ्ना डिजाइनका रात्रीकालीन सजावट निकै प्रिय लाग्छन् । छिमेकी देश भारतमा पनि ठूला–ठूला मन्दिरहरूलाई कलात्मक प्रलाशहरूले रोमाञ्चक बनाएको देखिएको छ । म कल्पना गर्छु– उपत्यकामा हवाइजहाज छिर्नासाथ यहाँका विश्व सम्पदा सूचीका स्मारकहरूमा प्रकाशमय कलात्मक अभिव्यक्ति आकाशबाटै अनुभूत गर्न पाए !
रातमा सडकमा उज्यालो किन चाहिन्छ भनेर कुरा सुरु गरौं ।

सडक बत्ती सडकमा गाडी हाँकिरहेका ड्राइभरलाई रातको समयमा वाटो चिनेर हिड्न एवं सम्भावित दुर्घटनाबाट बचाउन र वटुवाहरूलाई बाटोमा उज्यालो दिन प्रयोग गरिन्छ । त्यो बाहेक अँध्यारोमा हुनसक्ने अपराधबाट जोगाउन पनि सहयोग हुन्छ । सामान्यतः सहरहरूका व्यस्त बजारहरू मध्यरातसम्म पनि व्यापारिक प्रयोजनका लागि चलायमान नै हुन्छन् । त्यसकारण सहर उज्यालो हुनुको सिधा फाइदा त्यसको अर्थतन्त्रसँग जोडिन्छ ।

सहरको अवस्था हेरेर उपयुक्त डिजाइन गरिएका सडक बत्तीले त्यहाँको रौनक नै बदलिदिन सक्छन् । खासमा विभिन्न रङ्गहरूका प्रकाश फाल्न सक्ने लिड बत्तीको उपयुक्त संयोजनले सहरका ऐतिहासिक, सांस्कृतिक, आधुनिक र धार्मिक संरचनाको स्वरूप कलात्मक बनाइदिन सक्छन् । हामी धेरै जनाले विश्वका विविध सहरहरूका सिटी सेन्टर, सम्पदा वा संरचनामा रातको झकिझकाउ उज्यालो देखेका छौं । त्यसैमा रमाएका छौं ।

यसै पनि उज्यालो आशाको बिम्ब हो, अध्यारो निराशाको । काठमाडौं लगायत नेपालका विविध सहरहरूका कैयौं अँध्यारा सडक, चोक, गल्ली, पुल र बजारहरूमा साँझ या रातको प्रहरमा छामछुम गरेर हिँड्दै गर्दा असजिलो र असुरक्षित अनुभव गर्ने हामी सबै छौं । कतिपय स्थानमा राखिएका सडक बत्ती पनि व्यवस्थित छैनन् ।

आजकल राखिएका सोलार सडक बत्ती भएका स्थानमा उज्यालोको नाममा टुकी झुन्डिएको जस्तो मधुरो र धिपधिपे प्रकाश देखिन्छ । त्यसैको भरमा साँझपरेपछि निर्धक्क हिँड्नसक्ने अवस्था छैन । काठमाडौं बाहिरका ठूला–साना सहरहरूको अवस्था त झन् नाजुक छ । विगत ५–६ वर्षअगाडिदेखि नेपालभर सोलार सडक बत्तीमा करिब अर्बौं रुपैयाँ लगानी भयो होला ।

एक–दुई वर्षमा फेरिरहनुपर्ने लिड एसिड ब्याट्रीलाई टिनको बट्टाभित्र हालेर पोलमा राखेको देख्दा मलाई लागेको थियो– नेपालका धुलो उड्ने सहरमा यस्तो खालको सडक बत्तीको डिजाइन काम नलाग्ने छ भन्दा–भन्दै कसरी फैलियो होला ? के उद्देश्यले त्यसमा राखिएको विज्ञापनमात्र पनि टल्किन नपुग्ने बिजुली उत्पादन गर्ने प्रणालीलाई नगरपालिकाहरूले प्रोत्साहन गरेका छन् ?

सहरका मुख्य–मुख्य ठाउँमा देख्दै भद्दा लाग्ने पोलहरूको भीड जम्मा पारेर राखिने विज्ञापनका बोर्डबाट नगरपालिकाले कति पैसा कमाई गर्दो हो ? यथार्थमा सुरुमै चर्को पैसा लगानी गरेर जडान गरिएका यस्ता सोलार सडक बत्तीहरू नेपालका सहरहरूको रात्रीकालीन उज्यालोको विकल्प होइनन् । बरु सामान्य अध्ययन नगरी यसको पछाडि दौडिँदा राज्यको ठूलो लगानी सर्वनाश भएको छ । 

अहिले सोलार सडक बत्तीमा लिथियम ब्याट्रीको स्टोरेज आउन थालेको छ । बरु यस्तो प्रणाली कम धुलो उड्ने, विद्युत्को सहज पहुँच नभएको, मुख्य सडक संरचनाबाट अलि पर राख्न सकिन्छ । तर, सडक बत्तीलाई विज्ञापनको माध्यम बनाएर सहरलाई कुरूप बनाउने तरिकाबाट भने नगरपालिकाहरू ब्यूँझिनैपर्छ ।

कोरोना महामारीले हाम्रो अर्थतन्त्रलाई थला पारेको छ । पर्यटन क्षेत्रमा त अझ ठूलो असर परेको छ । तैपनि, विदेशी पाहुना ल्याउने हाम्रा कार्यक्रमलाई हामीले निरन्तरता दिनुको विकल्प छैन । पाहुनालाई ल्याउनुपूर्व हामीले धेरै काम सम्पन्न गर्नुपर्ने हुन्छ । डुल्न, घुम्न, देख्न र राम्ररी संवाद गर्न उज्यालो चाहिनु त आधारभूत कुरा हो ।

संसारभर पर्यटकहरूले सन्ध्याकालमा सहरहरूको मज्जा लिन रुचाउँछन । साँझ भनेकै मानिसहरू समूहमा भेट्ने र सामाजिकीरण हुने समय हो । दिन चलिरहँदा एकै प्रकारको प्रकाशको रङ्गमा दिक्क लागिसकेको हुन्छ । जब साँझ पर्दै जान्छ तब कालो आकाशलाई क्यानभास बनाएर सहरका विभिन्न संरचनाहरूले सौन्दर्य थपेका हुन्छन् । र, वातावरणलाई रोमान्चक बनाउँछन् । त्यसले मानिसहरूलाई यस्सै रमाइलो बनाउँछ ।

पर्यटनको व्यापाक विकास गर्नका लागि पर्यटकलाई कम्तिमा अँध्यारा सडकमा हिँडाउने अवस्था भने हटाउनैपर्छ । किनभने, सहरमा दीर्घकालीन योजना अनुसार सडक बत्ती विकासको कार्यक्रम राख्नुपर्छ । भारतमा इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड नामको एउटा सरकारी कम्पनीले ऊर्जा दक्षताको क्षेत्रमा गरेका कैयौं महत्त्वपूर्ण कामलाई थाति राख्दै उसले गरेको एउटा महत्त्वपूर्ण कार्यक्रमको चर्चा गर्न चाहान्छु ।

नेशनल स्ट्रिट लाइट कार्यक्रम

यो आधुनिक प्रविधिको प्रयोगबारे जानकार आर्किटेक्ट, योजनाविद्, इलेक्ट्रिकल र सम्बन्धित विषयका इन्जिनियरबाट सडकको अवस्था अनुसार उपयुक्त बत्ती डिजाइन गर्ने, चुस्त संयन्त्र बनाएर टेन्डर गर्ने र ऊर्जा दक्ष हुने गरी बत्ती जडान गर्ने कार्यक्रम हो । देशभरका नगरपालिकाले आफूलाई आवश्यक पर्ने बजेट यस कार्यक्रममा जम्मा गर्छन् ।

इनर्जी इफिसियन्सी सर्भिस लिमिटेडले एकमुष्ट टेन्डर गर्छ । जसले गर्दा निकै सस्तो मूल्यमा गुणस्तरीय कार्यक्रम सम्पन्न गर्न सम्भव भएको छ । कम्पनीले करोडौं लिड बल्ब खरिद गर्न थालेपछि संसारभर यसको मूल्य एकाएक घटेको हो । अप्रत्यक्षरूपमा त्यसको फाइदा नेपालले पनि लिइसकेको छ ।

नेपालका नगरपालिकाले यस्ता कामहरू आफैंले स्पेसिफिकेसन बनाएर सानो–सानो परिमाणमा टेन्डर गर्दै आएका छन् । जसले गर्दा एकातिर गुणस्तरहीन काम भइरहेको छ भने अर्कोतर्फ निकै ठूलो रकम खर्च भएको छ । त्यसकारण, म देशका नगरपालिकाहरूलाई अनुरोध गर्न चाहान्छु– तपाईंहरूले एउटा गतिलो साझा संयन्त्र बनाउनुहोस् जसले तपाईहरूले गरेका काममा आधुनिकता, दक्षता, गुणस्तर र कम खर्चिलो हुने ग्यारेन्टी दिन सकुन् । एकमुष्ट टेन्डर गर्दा सडक बत्ती जस्ता कार्य कम्तिमा ३० प्रतिशत सस्तोमा सम्पन्न हुन सक्छ ।

देशको विद्युत् वितरण प्रणालीमा लोडसेडिङ अन्तपछि नेपाल विद्युत् प्राधिकरणले सबै प्रकारका ग्राहकलाई सकेजति विद्युत प्रयोग गर्न दिन सक्ने अवस्थामा आइसकेको छ । त्यसकारण, सडक बत्तीका लागि पनि ग्रिडको विद्युत्भन्दा अर्को विकल्प हुनै सक्दैन । त्यसमा पनि सडक बत्तीको विद्युत दर निकै कम छ ।

नगरपालिकालाई सहज होस् भनेर प्राधिकरणले ऊर्जा दक्ष सडक बत्ती सम्पन्न गर्न प्राविधिक सहयोग सुरु गरिसकेको छ । यसअन्तर्गत ललितपुर नगरपालिकामा काम सुरु भइसकेको छ । भरतपुर नगरपालिकामा एकमुष्ट टेन्डर भइसकेको छ । यस्तै, काठमाडौं र पोखरा महानगरपालिकालाई सबै प्रकारका प्राविधिक सहयोग गरेको छ । 

समयक्रमले देशका सहरहरूमा स्मार्ट स्ट्रिट लाइट, स्मार्ट मास्ट लाइट जडान गर्न प्राधिकरणले देशका सबै नगरपालिकासँग समन्वय गर्न दिएको एउटा सानो जिम्मेवारीमा म आफैं पनि छु ।  म यसै लेखमार्फत नगरपालिकालाई सकेसम्म आफूहरू मिलेर सडक बत्तीको दीर्घकालीन काम गर्नुहोस् । यदि, प्राधिकरणमार्फत समन्वय र सहकार्य गर्नु परे हामीलाई निर्धक्क भएर सम्पर्क गर्नुहोला ।

ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका बरिष्ठ इन्जिनियर हुन्

प्रतिक्रिया