विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
सम्पादकीय

आज यो दुनियाँमा उपलब्ध अधिकांश इन्धनको स्रोत जैवीक वा खनिजजन्य पदार्थ हो । जमिनभित्र सीमितमात्रामा रहेका यस्ता मासिने र नासिने खनिजजन्य स्रोतहरू उपयोग हुँदा–हुँदै छिट्टै समाप्त हुने सम्भावना छ । धेरै स्रोतहरू हिजो बिलाएर गएका जीव–जनावर, वनस्पति, इन्धनजस्तै भविष्यमा दुर्लभ हुने खतरा छ । कतिपय देशहरूले यस्ता खनिज उत्पादन धान्न नसक्ने अवस्था पनि छ । त्यसैले, मानव जीवनमा विविध उपयोगमा आउने इन्धन लगायत नयाँ–नयाँ पदार्थ र स्रोतहरूको खोजी भइरहेको छ । यही खोजबाट पत्ता लगाइएको हो, हाइड्रोजन । जुन, पृथ्वी तथा वायुमण्डलमा अधिकमात्रामा उपलब्ध छ । हाइड्रोजन उत्पादन गर्ने सबैभन्दा साधारण तरिका पानीलाई टुक्र्याउने विधि अर्थात् इलेक्ट्रोलाइसिस हो, जसले विद्युत्‌मार्फत पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्ट्याउँछ ।

मानव विकासको गतिशीलतासँगै ऊर्जा दैनिक जीवनमा अपरिहार्य तत्त्व बनेर आयो । पृथ्वीमा ऊर्जाका अनेक स्रोतहरू पत्ता लागेका छन् । कोइला, प्राकृतिक ग्यास, जीवाश्म इन्धन, जलविद्युत्, सौर्य, वायु, आणविक हुँदै विश्वमा पत्ता लागेको ऊर्जाको अर्को स्रोत हो, हाइड्रोजन । करिब २ सय वर्ष अगाडि हाइड्रोजन ग्यासको प्रारम्भिक प्रयोग शुरू भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । पछिल्ला दशकहरूमा हाइड्रोजन ‘हरित हाइड्रोजन’को स्वरूपमा लोकप्रिय बन्दै आएको छ । तीव्र गतिमा जलवायु परिवर्तन भइरहेका कारण पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने विश्वव्यापी अभियान छ । यो अभियानलाई सघाउन पनि ‘हरित हाइड्रोजन’ ऊर्जाको दिगो र भरपर्दो स्रोत मानिएको छ ।

जीवाश्म इन्धनबाट उत्पादित बिजुलीको प्रयोग गरी हाइड्रोजन लामो समयदेखि औद्योगिक क्षेत्रमा प्रयोग हुँदै आएको छ । जस्तैः हाइड्रोजनबाट अमोनिया बनाइ रासायनिक मल उत्पादन गर्ने तथा वनस्पति तेलमार्फत वनस्पति घ्यू बनाउन, मिथानोल र हाइड्रोजन क्लोराइड जस्ता उपयोगी रासायनिक यौगिक बनाउन पनि हाइड्रोजनको उपयोग हुँदै आएको छ । यस्तै, हाइड्रोजनको उत्पादन तथा भण्डारण गरी ऊर्जाको रूपमा प्रयोग गर्न सकिन्छ । यस्तो ऊर्जा भान्सादेखि यातायात लगायत क्षेत्रमा उपयोगमा आउन सक्छ ।

ऊर्जाको उपयोग भने हाइड्रोजनको नयाँ क्षेत्र हो । कार्बन उत्सर्जनका प्रतिकूलतासँग जुध्न विश्वले नवीकरणीय ऊर्जा उत्पादनलाई आक्रामकरूपमा अगाडि बढाउँदै प्रदूषणजन्य ऊर्जा क्रमशः घटाउँदै लैजाने योजनालाई पनि तीव्रता दिइएको छ । नवीकरणीय ऊर्जाका स्रोतहरूबाट उत्पादित विद्युत्लाई भविष्यका लागि अत्यावश्यक स्वच्छ ऊर्जाको स्रोतको रूपमा लिइएको छ । तर, यस्तो विद्युत्‌को परिमाण मौसममा भर पर्ने र छिनछिनमा घटबढ हुने हुँदा विद्युत् प्रणालीमा यसको संयोजन चुनौतीपूर्ण मानिन्छ ।

विश्वमा विद्युत् उत्पादनको प्रचुरतासँगै स्टोरेज (भण्डारण) ब्याट्रीहरू प्रयोग गरी विद्युतीय सवारी सञ्चालन गरेको धेरै भएको छैन । यी ब्याट्रीहरूको क्षमता पनि सीमित हुन्छ । ब्याट्रीको शक्ति र ऊर्जा क्षमता ट्रकजस्ता ठूला सवारी र उड्डयन क्षेत्रमा प्रभावकारी हुन नसक्ने विज्ञहरूको विश्लेषण रहिआएको छ । उता, हाइड्रोजनलाई स्टोरेज गरी सामुद्रिक जाहाज, हवाई उड्डयन, ट्रक वा रेल सेवामा प्रयोगमा ल्याउन सकिने अध्ययनबाट पुष्टि भइसकेको छ । हरित हाइड्रोजनले यातायात क्षेत्रमा उत्सर्जन भइरहेको ठूलो परिमाणको कार्बनसमेत न्यूनीकरण गर्छ । ब्याट्री भण्डारण प्रणालीले विद्युतीय फोहोर व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती सिर्जना गरेको हुन्छ, जुन हाइड्रोजन इन्धनको सन्दर्भमा हुँदैन ।

यातायात उद्योगमा मात्र नभएर भान्सा (हाइड्रोजन–कुकिङ) को भरपर्दो इन्धनको रूपमा समेत हाइड्रोजन प्रयोगमा आउन सक्ने परीक्षणबाट देखिइसकेको छ । हरित हाइड्रोजन जीवाश्म इन्धनको न्यूनीकरणका साथै यातायात क्षेत्र र भान्साबाट हुने कार्बन उत्सर्जन अन्त्यको मौलिक स्रोत हुन सक्ने यस क्षेत्रका अनुसन्धाताको दाबी छ । यद्यपि, यातायात उद्योग र भान्सामा हाइड्रोजनको प्रयोग अझै परीक्षण चरणमै रहेको छ ।

विश्वमा उदाइरहेको हरित हाइड्रोजन परीक्षण, प्रयोग र यसको व्यावसायिक पक्षलाई नेपालले पनि पच्छ्याइरहेको छ । नेपालमा सन् २००७ देखि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूबाट यसको बहस शुरू भएको पाइन्छ । यसपछि, चरणबद्ध रूपमा काठमाडौं विश्वविद्यालय (केयूले हरित हाइड्रोजनका विषयमा अध्ययन/अनुसन्धान, परीक्षण र व्यावसायिक सम्भावनाका विकल्पमा काम गर्दै आएको छ । विश्वविद्यालय परिसरमै ‘ग्रीन हाइड्रोजन ल्याब’ स्थापना गर्नुले उसको आक्रामक अग्रसरताको पुष्टि हुन्छ ।

यसैगरी, निजी तथा गैरसरकारी क्षेत्रको तर्फबाट नेपाल इनर्जी फाउण्डेसन (एनईएफ) ले यसमा अगुवाई लिएको छ । विदेशी दाता निकाय र एनईएफको संयुक्त पहलमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका खर्बाङस्थित गिरिङ्दी खोला लघुजलविद्युत् केन्द्रको परिसरमा खाना पकाउन हाइड्रोजन प्रयोगको परीक्षण पनि सफल भयो । यद्यपि, यसको व्यापक व्यावसायिक प्रयोगसँग सम्बन्धित पक्षले सार्थकता पाउन समय लाग्ने देखिन्छ । यसको उत्पादन लागत, भण्डारण र उपयोगका चुनौतीको दिगो समाधान नखोजेसम्म फेरि पनि यो मानव जीवनका लागि त्यति सहज नहुन सक्छ ।

नेपालको हकमा प्रथमतः बिजुली जस्तै हरित हाइड्रोजन कसले उत्पादन गर्ने वा भण्डारण गर्ने ? त्यो भण्डारिकृत हाइड्रोजन कसले किनिदिने ? अझ, हाइड्रोजनबाट उत्पादित ‘ग्रीन सेल’को बजार कहाँ हो ? कसलाई बेच्ने ? यी प्रश्नहरूको जवाफ अझैसम्म फेला परेको छैन । सरकारले ‘ ग्रीन हाइड्रोजन नीति, २०८०’ ल्याए पनि यो भावी कार्यदिशा देखाउने खालको छैन । यो नीति विश्वविद्यालय, निजी क्षेत्र तथा अनुसन्धाताको दबाबमा औपचरिकता पूरा गर्न ल्याएजस्तो देखिन्छ ।

खासमा ‘हरित हाइड्रोजन’ वा ‘हाइड्रोजन ऊर्जा’ प्रति राज्य वा सरकारको धारणा के हो ? त्यो अझैसम्म प्रस्ट छैन । बजेट तथा कार्यक्रममा स्पष्टरूपमा समावेश गरिएको छैन । राज्यका नीतिगत तहमा बहस भएकै छैन । राज्य तहमै अनेक ऐन, नियमावली, निर्देशिका बनाउनुपर्ने खाँचो छ । यी सबै काम भएर पनि हाइड्रोजनको मूल्य प्रयोगकर्ता अनुकूल भएन भने वा अन्य इन्धनको तुलनामा सस्तो हुन नसके प्रतिस्पर्धी हुन सक्दैन ।

उल्लिखित वास्तविकता रहे पनि नेपालले कार्बन उत्सर्जनलाई शून्यमा झार्न ऊर्जा रूपान्तरणका मार्ग समात्नु परेको छ । हाल उपभोग भइरहेको जीवाश्म इन्धन नेपालभित्र छैन । हरेक वर्ष यस्तो इन्धन आयातमा अर्बौं रुपैयाँ विदेशिने गरेको छ । अर्कोतर्फ, यहाँ हरित ऊर्जा उत्पादनका लागि प्रचुर मात्रामा स्वच्छ प्राकृतिक स्रोत (जलविद्युत्, सौर्य तथा वायु) बाट उत्पादित विद्युत्‌मार्फत ‘हरित हाइड्रोजन’ उत्पादन गर्न सकिने देखिएको छ । यदि, यसलाई यातायात, भान्सा, उद्योग लगायत क्षेत्रमा व्यावसायिकरण गर्न सकियो भने नेपालका लागि वरदान हुन सक्छ । जीवाश्म इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम बाहिरिनबाट रोकिन्छ । साथै, विश्वमा हरित हाइड्रोजनको १३ खर्ब अमेरिकी डलर बराबरको बजार विकास हुने चर्चा भइरहँदा नेपालका लागि क्षेत्रीय बजारको ढोका समेत खुल्न सक्छ ।

नेपालले यातायात उद्योग र भान्साका लागि वैकल्पिक इन्धनको रूपमा ‘हरित हाइड्रोजन’को व्यावसायिकरणको नेतृत्व लिनुपर्ने कुरा उठिरहेको छ । त्यसका लागि उचित कानून, नियामक निकाय र संस्थागत संरचना गठन गर्नुपर्छ । त्यही कानूनको अधिनमा रही ‘हाइड्रोजन ऊर्जा विकास र व्यावसायिकरण प्राधिकरण’ स्थापना गर्न सकिन्छ । प्राधिकरणले त्यसपछि हरित हाइड्रोजनको विकास, व्यावसायिकरणका लागि नीति, नियम र निर्देशिका बनाउन सक्छ, जसले हाइड्रोजन उत्पादन, भण्डारण र बजारको स्पष्ट खाका कोर्न सक्छ । जुन, काम आजैबाट शुरू गर्नुपर्ने अपरिहार्यता छ ।

यो सम्पादकीय ऊर्जा खबर अर्धवार्षिक जर्नल, २०८१ असारमा प्रकाशित छैटौँ अंकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३