आज यो दुनियाँमा उपलब्ध अधिकांश इन्धनको स्रोत जैवीक वा खनिजजन्य पदार्थ हो । जमिनभित्र सीमितमात्रामा रहेका यस्ता मासिने र नासिने खनिजजन्य स्रोतहरू उपयोग हुँदा–हुँदै छिट्टै समाप्त हुने सम्भावना छ । धेरै स्रोतहरू हिजो बिलाएर गएका जीव–जनावर, वनस्पति, इन्धनजस्तै भविष्यमा दुर्लभ हुने खतरा छ । कतिपय देशहरूले यस्ता खनिज उत्पादन धान्न नसक्ने अवस्था पनि छ । त्यसैले, मानव जीवनमा विविध उपयोगमा आउने इन्धन लगायत नयाँ–नयाँ पदार्थ र स्रोतहरूको खोजी भइरहेको छ । यही खोजबाट पत्ता लगाइएको हो, हाइड्रोजन । जुन, पृथ्वी तथा वायुमण्डलमा अधिकमात्रामा उपलब्ध छ । हाइड्रोजन उत्पादन गर्ने सबैभन्दा साधारण तरिका पानीलाई टुक्र्याउने विधि अर्थात् इलेक्ट्रोलाइसिस हो, जसले विद्युत्मार्फत पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्ट्याउँछ ।
मानव विकासको गतिशीलतासँगै ऊर्जा दैनिक जीवनमा अपरिहार्य तत्त्व बनेर आयो । पृथ्वीमा ऊर्जाका अनेक स्रोतहरू पत्ता लागेका छन् । कोइला, प्राकृतिक ग्यास, जीवाश्म इन्धन, जलविद्युत्, सौर्य, वायु, आणविक हुँदै विश्वमा पत्ता लागेको ऊर्जाको अर्को स्रोत हो, हाइड्रोजन । करिब २ सय वर्ष अगाडि हाइड्रोजन ग्यासको प्रारम्भिक प्रयोग शुरू भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । पछिल्ला दशकहरूमा हाइड्रोजन ‘हरित हाइड्रोजन’को स्वरूपमा लोकप्रिय बन्दै आएको छ । तीव्र गतिमा जलवायु परिवर्तन भइरहेका कारण पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्ने विश्वव्यापी अभियान छ । यो अभियानलाई सघाउन पनि ‘हरित हाइड्रोजन’ ऊर्जाको दिगो र भरपर्दो स्रोत मानिएको छ ।
जीवाश्म इन्धनबाट उत्पादित बिजुलीको प्रयोग गरी हाइड्रोजन लामो समयदेखि औद्योगिक क्षेत्रमा प्रयोग हुँदै आएको छ । जस्तैः हाइड्रोजनबाट अमोनिया बनाइ रासायनिक मल उत्पादन गर्ने तथा वनस्पति तेलमार्फत वनस्पति घ्यू बनाउन, मिथानोल र हाइड्रोजन क्लोराइड जस्ता उपयोगी रासायनिक यौगिक बनाउन पनि हाइड्रोजनको उपयोग हुँदै आएको छ । यस्तै, हाइड्रोजनको उत्पादन तथा भण्डारण गरी ऊर्जाको रूपमा प्रयोग गर्न सकिन्छ । यस्तो ऊर्जा भान्सादेखि यातायात लगायत क्षेत्रमा उपयोगमा आउन सक्छ ।
ऊर्जाको उपयोग भने हाइड्रोजनको नयाँ क्षेत्र हो । कार्बन उत्सर्जनका प्रतिकूलतासँग जुध्न विश्वले नवीकरणीय ऊर्जा उत्पादनलाई आक्रामकरूपमा अगाडि बढाउँदै प्रदूषणजन्य ऊर्जा क्रमशः घटाउँदै लैजाने योजनालाई पनि तीव्रता दिइएको छ । नवीकरणीय ऊर्जाका स्रोतहरूबाट उत्पादित विद्युत्लाई भविष्यका लागि अत्यावश्यक स्वच्छ ऊर्जाको स्रोतको रूपमा लिइएको छ । तर, यस्तो विद्युत्को परिमाण मौसममा भर पर्ने र छिनछिनमा घटबढ हुने हुँदा विद्युत् प्रणालीमा यसको संयोजन चुनौतीपूर्ण मानिन्छ ।
विश्वमा विद्युत् उत्पादनको प्रचुरतासँगै स्टोरेज (भण्डारण) ब्याट्रीहरू प्रयोग गरी विद्युतीय सवारी सञ्चालन गरेको धेरै भएको छैन । यी ब्याट्रीहरूको क्षमता पनि सीमित हुन्छ । ब्याट्रीको शक्ति र ऊर्जा क्षमता ट्रकजस्ता ठूला सवारी र उड्डयन क्षेत्रमा प्रभावकारी हुन नसक्ने विज्ञहरूको विश्लेषण रहिआएको छ । उता, हाइड्रोजनलाई स्टोरेज गरी सामुद्रिक जाहाज, हवाई उड्डयन, ट्रक वा रेल सेवामा प्रयोगमा ल्याउन सकिने अध्ययनबाट पुष्टि भइसकेको छ । हरित हाइड्रोजनले यातायात क्षेत्रमा उत्सर्जन भइरहेको ठूलो परिमाणको कार्बनसमेत न्यूनीकरण गर्छ । ब्याट्री भण्डारण प्रणालीले विद्युतीय फोहोर व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती सिर्जना गरेको हुन्छ, जुन हाइड्रोजन इन्धनको सन्दर्भमा हुँदैन ।
यातायात उद्योगमा मात्र नभएर भान्सा (हाइड्रोजन–कुकिङ) को भरपर्दो इन्धनको रूपमा समेत हाइड्रोजन प्रयोगमा आउन सक्ने परीक्षणबाट देखिइसकेको छ । हरित हाइड्रोजन जीवाश्म इन्धनको न्यूनीकरणका साथै यातायात क्षेत्र र भान्साबाट हुने कार्बन उत्सर्जन अन्त्यको मौलिक स्रोत हुन सक्ने यस क्षेत्रका अनुसन्धाताको दाबी छ । यद्यपि, यातायात उद्योग र भान्सामा हाइड्रोजनको प्रयोग अझै परीक्षण चरणमै रहेको छ ।
विश्वमा उदाइरहेको हरित हाइड्रोजन परीक्षण, प्रयोग र यसको व्यावसायिक पक्षलाई नेपालले पनि पच्छ्याइरहेको छ । नेपालमा सन् २००७ देखि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूबाट यसको बहस शुरू भएको पाइन्छ । यसपछि, चरणबद्ध रूपमा काठमाडौं विश्वविद्यालय (केयूले हरित हाइड्रोजनका विषयमा अध्ययन/अनुसन्धान, परीक्षण र व्यावसायिक सम्भावनाका विकल्पमा काम गर्दै आएको छ । विश्वविद्यालय परिसरमै ‘ग्रीन हाइड्रोजन ल्याब’ स्थापना गर्नुले उसको आक्रामक अग्रसरताको पुष्टि हुन्छ ।
यसैगरी, निजी तथा गैरसरकारी क्षेत्रको तर्फबाट नेपाल इनर्जी फाउण्डेसन (एनईएफ) ले यसमा अगुवाई लिएको छ । विदेशी दाता निकाय र एनईएफको संयुक्त पहलमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका खर्बाङस्थित गिरिङ्दी खोला लघुजलविद्युत् केन्द्रको परिसरमा खाना पकाउन हाइड्रोजन प्रयोगको परीक्षण पनि सफल भयो । यद्यपि, यसको व्यापक व्यावसायिक प्रयोगसँग सम्बन्धित पक्षले सार्थकता पाउन समय लाग्ने देखिन्छ । यसको उत्पादन लागत, भण्डारण र उपयोगका चुनौतीको दिगो समाधान नखोजेसम्म फेरि पनि यो मानव जीवनका लागि त्यति सहज नहुन सक्छ ।
नेपालको हकमा प्रथमतः बिजुली जस्तै हरित हाइड्रोजन कसले उत्पादन गर्ने वा भण्डारण गर्ने ? त्यो भण्डारिकृत हाइड्रोजन कसले किनिदिने ? अझ, हाइड्रोजनबाट उत्पादित ‘ग्रीन सेल’को बजार कहाँ हो ? कसलाई बेच्ने ? यी प्रश्नहरूको जवाफ अझैसम्म फेला परेको छैन । सरकारले ‘ ग्रीन हाइड्रोजन नीति, २०८०’ ल्याए पनि यो भावी कार्यदिशा देखाउने खालको छैन । यो नीति विश्वविद्यालय, निजी क्षेत्र तथा अनुसन्धाताको दबाबमा औपचरिकता पूरा गर्न ल्याएजस्तो देखिन्छ ।
खासमा ‘हरित हाइड्रोजन’ वा ‘हाइड्रोजन ऊर्जा’ प्रति राज्य वा सरकारको धारणा के हो ? त्यो अझैसम्म प्रस्ट छैन । बजेट तथा कार्यक्रममा स्पष्टरूपमा समावेश गरिएको छैन । राज्यका नीतिगत तहमा बहस भएकै छैन । राज्य तहमै अनेक ऐन, नियमावली, निर्देशिका बनाउनुपर्ने खाँचो छ । यी सबै काम भएर पनि हाइड्रोजनको मूल्य प्रयोगकर्ता अनुकूल भएन भने वा अन्य इन्धनको तुलनामा सस्तो हुन नसके प्रतिस्पर्धी हुन सक्दैन ।
उल्लिखित वास्तविकता रहे पनि नेपालले कार्बन उत्सर्जनलाई शून्यमा झार्न ऊर्जा रूपान्तरणका मार्ग समात्नु परेको छ । हाल उपभोग भइरहेको जीवाश्म इन्धन नेपालभित्र छैन । हरेक वर्ष यस्तो इन्धन आयातमा अर्बौं रुपैयाँ विदेशिने गरेको छ । अर्कोतर्फ, यहाँ हरित ऊर्जा उत्पादनका लागि प्रचुर मात्रामा स्वच्छ प्राकृतिक स्रोत (जलविद्युत्, सौर्य तथा वायु) बाट उत्पादित विद्युत्मार्फत ‘हरित हाइड्रोजन’ उत्पादन गर्न सकिने देखिएको छ । यदि, यसलाई यातायात, भान्सा, उद्योग लगायत क्षेत्रमा व्यावसायिकरण गर्न सकियो भने नेपालका लागि वरदान हुन सक्छ । जीवाश्म इन्धन आयातमा खर्च भइरहेको ठूलो रकम बाहिरिनबाट रोकिन्छ । साथै, विश्वमा हरित हाइड्रोजनको १३ खर्ब अमेरिकी डलर बराबरको बजार विकास हुने चर्चा भइरहँदा नेपालका लागि क्षेत्रीय बजारको ढोका समेत खुल्न सक्छ ।
नेपालले यातायात उद्योग र भान्साका लागि वैकल्पिक इन्धनको रूपमा ‘हरित हाइड्रोजन’को व्यावसायिकरणको नेतृत्व लिनुपर्ने कुरा उठिरहेको छ । त्यसका लागि उचित कानून, नियामक निकाय र संस्थागत संरचना गठन गर्नुपर्छ । त्यही कानूनको अधिनमा रही ‘हाइड्रोजन ऊर्जा विकास र व्यावसायिकरण प्राधिकरण’ स्थापना गर्न सकिन्छ । प्राधिकरणले त्यसपछि हरित हाइड्रोजनको विकास, व्यावसायिकरणका लागि नीति, नियम र निर्देशिका बनाउन सक्छ, जसले हाइड्रोजन उत्पादन, भण्डारण र बजारको स्पष्ट खाका कोर्न सक्छ । जुन, काम आजैबाट शुरू गर्नुपर्ने अपरिहार्यता छ ।
यो सम्पादकीय ऊर्जा खबर अर्धवार्षिक जर्नल, २०८१ असारमा प्रकाशित छैटौँ अंकबाट साभार गरिएको हो ।