काठमाडौँ । हिमालको काखमा एउटा नदी बगिरहेको छ, भोटेकोसी । यस नदीमा केवल पानी मात्र बग्दैन, सम्भावना पनि बगेको छ– उज्यालो भविष्यतर्फको यात्रा बोकेर । तिब्बतबाट उत्पत्ति भएर सिन्धुपाल्चोक जिल्ला हुँदै सप्तकोसीमा मिसिने यो नदी अहिले नेपालको ऊर्जा आत्मनिर्भरताको महत्त्वपूर्ण आधार बनेको छ ।
यही नदीमा १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजना निर्माण भइरहेको छ । जुन नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतको मध्य–भोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ ।
नदीको प्रवाहमा आधारित अर्थात् रन–अफ–रिभर प्रकृतिको यस आयोजनाका इन्टेक, सुरुङ, बाँध र विद्युत्गृहको निर्माण अन्तिम चरणमा पुगेको छ । सुरुङ खन्नेदेखि पेनस्टक जडानसम्मका प्रक्रियाले प्रविधि र परिश्रमको अद्वितीय सङ्गम झल्काएको छ ।
चाकु गाउँमा निर्माण भइरहेको आयोजनाको २०६८ साल भदौ ८ गते प्राधिकरणसँग विद्युत् जडान सम्झौता अर्थात् कनेक्सन एग्रिमेन्ट भयो । सोही वर्षको असोजमा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरियो । यस्तै, २०७० साल माघ २८ गतेदेखि काम सुरु भएकोमा २०७६ सालमा पूरा गर्ने लक्ष्य थियो तर अनेकौँ चुनौतीहरू थपिए । महाभूकम्प, बाढी, पहिरो, र कोरोना महामारीको सामना गर्दै आयोजना आज विद्युत् उत्पादनको चरणमा पुगेको छ । यसै आर्थिक वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलतर्फ निर्माणको ठेक्का चिनियाँ कम्पनी गुआङसी हाइड्रो इलेक्ट्रिक र इलेक्ट्रो मेकानिकलको काम ट्रेडलिङ्क इन्टरनेशनलसँगको सहकार्यमा एन्ड्रिज हाइड्रो प्रालिले गरिरहेका छन् । उत्पादित विद्युत् विद्युत्गृहबाट ४ किलोमिटर टाढा निर्माण भएको प्राधिकरणको बाह्रबीसे सबस्टेसन हबमा जोडिने छ । त्यहाँसम्मको २२० केभी सिंगल सर्किट प्रसारण लाइन आयोजना आफैँले निर्माण गर्ने छ ।
आयोजनाका मुख्य संरचनाहरूको निर्माण पूरा भइकेकोले अब परीक्षण उत्पादन गर्ने तयारी छ । प्रसारण लाइनको सुरु बिन्दु विद्युत्गृह र अन्तिम बाह्रबीसे नगरपालिका–३ पलातिमा सबस्टेसन निर्माण भइरहेको छ । पिपिए अनुसार उत्पादित विद्युत् जोड्नका लागि एमसिसी कार्यक्रमअन्तर्गत निर्माण हुने लप्सीफेदी सबस्टेसन प्रस्ताव गरिएको थियो । यो सबस्टेसन अझै निर्माणाधीन रहेकाले हाललाई खिम्ती सबस्टेसनमार्फत विद्युत् प्रवाह गर्ने तयारी भइरहेको छ ।
यो आयोजना केवल विद्युत् उत्पादनमा सीमित छैन । यसले स्थानीय समुदायको जीवनस्तर उठाउनेतर्फ समेत समान ध्यान दिएको छ । विद्यालयहरूको पुनर्निर्माण, स्वास्थ्यचौकीको स्थापना, सीप विकास तालिमहरू, खानेपानी र सडक जस्ता पूर्वाधार निर्माण र विस्थापितलाई सुरक्षित बासस्थानको व्यवस्थाजस्ता कार्य यस आयोजनाको सामाजिक प्रतिबद्धताको परिचायक हुन् ।
पर्यावरणीय सन्तुलनलाई पनि आयोजनाले उतिकै प्राथमिकता दिएको छ । वृक्षारोपण, जलीय प्रणालीको संरक्षण, तथा सुरक्षा मापदण्डको कडाइले दिगो विकासमा यसको प्रतिबद्धता प्रष्ट हुन्छ ।
स्थानीयवासीहरू विश्वासका साथ भन्छन्– यो आयोजनाले गाउँमा परिवर्तन ल्याएको छ । सामाजिक रूपान्तरणको गतिशील चक्र थालेको छ ।
यो उज्यालो गाउँ–सहरतर्फको प्रवाह मात्र होइन, औद्योगिक विकास र रोजगारीको अवसरसमेत हो । मध्य–भोटेकोसी केवल जलविद्युत् आयोजना होइन, नेपालको समृद्धि यात्राको एउटा महत्वपूर्ण कडी हो । यहाँ उज्यालो भविष्य बगिरहेको छ– सम्भावनाको नदी भएर । ऊर्जा, विकास र समृद्धिको साझा यात्रामा यो आयोजना हरेक नागरिकको साझा गर्व हो ।
यो आयोजना, नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने एक महत्त्वपूर्ण आधार पनि हो; जसले स्थानीय विकासका अनेक आयामलाई समेत जोडेको छ । यहाँ स्थानीय, स्वदेशी तथा विदेशी गरी आयाेजना निर्माण अवधिमा करिब ५०० र हालकै दिनमा पनि कसिरब १०० जनाले राेजगारी पाएका छन् । आयोजना केवल विद्युत् उत्पादनमा मात्र सीमित छैन । स्थानीय समुदायको उत्थान, पूर्वाधार विकास, र सीप अभिवृद्धि पनि यसका मुख्य उद्देश्यभित्र पर्छन् ।
भोटेकोसी गाउँपालिकाका वडा नम्बर ५ मा निर्माण भइरहेको आयोजनाबाट प्रभावितलाई उचित क्षतिपूर्ति र बासस्थानको व्यवस्था गरिएको छ । हरेक घरधुरीलाई ३५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइएको छ । यस्तै, स्थानीय विद्यालयमा अध्यापन गराउने शिक्षकको तलब सुविधाबापत मासिक ४० हजार रुपैयाँका दरले उपलब्ध गराइँदै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व
स्थानीय विद्यालयहरूको पुनर्निर्माण र सुधार, स्वास्थ्य चौकीको स्थापना गरिएको छ । सीप विकास तालिमहरू प्रदान गरिएको छ । बाटो, पुल, खानेपानी र अन्य पूर्वाधार विकास गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्युत्गृह क्षेत्रबाट विस्थापितका लागि नयाँ घर–संरचना निर्माण गरिदिइएको छ । उता, सामुदायिक भवन निर्माण तथा सांस्कृतिक धरोहरका रूपमा मन्दिर निर्माण गरिएको छ ।
विस्थापितहरूलाई सुरक्षित आवास उपलब्ध गराउने कामहरू सम्पन्न भएको छ । यो सँगै आयोजनाले पर्यावरणीय सुरक्षा र वातावरणीय अनुगमन, सुरक्षाका विकल्पमा समेत पर्याप्त ध्यान दिएको छ । उता, वातावरणीय संरक्षण र कामदारको सुरक्षामा उच्च प्राथमिकता दिइएको छ ।
जलीय प्रणालीको रक्षा, हरियालीको सन्तुलन मिलाउन वृक्षारोपण र त्यसको नियमित वातावरणीय अनुगमन गर्ने गरिएको छ । विद्युतीकरण भएका गाउँहरू झिलिमिली भएका छन् । समग्रमा आयोजनाले दिगो विकासलाई उच्च प्राथमिकता दिएको छ ।
आयोजना सञ्चालनमा आइसकेपछि राष्ट्रिय ग्रिडमार्फत गुणस्तरीय विद्युत् आपूर्तिमा ठूलो मद्दत पुग्ने छ । औद्योगिक क्षेत्रमा भएको आपूर्तिको असन्तुलनमा समेत यस आयोजनाको विशेष भूमिका हुने विश्वास लिइएको छ । यसले गाउँगाउँमा औद्योगिक विकास र रोजगारी सिर्जना हुनेमा दुई मत छैन । जसबाट स्थानीय क्षेत्रको जीवनस्तर सुधार हुनेछ ।
अतः मध्यभोटेकोसीलाई ऊर्जा उत्पादन मात्र होइन, सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण कडी पनि भन्न सकिन्छ । मध्यभोटेकोसी– केवल आयोजनामात्र होइन, यो नेपालको उज्यालो भविष्य देखाउँदै बगिरहेको सम्भावनाको नदी हो । ऊर्जा र समृद्धिको साझा यात्रा हो ।