दोलखा । साँघु खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । दोलखाको विगु गाउँपालिका–८ मा निर्माण भएको २० मेगावाटको साँघु खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो । आयोजनाको निर्माण पूरा गरी सबै संरचनाको परीक्षण सकिएपछि विद्युत्को परीक्षण उत्पादन सुरु गरिएको हो ।
आयोजनाको हेडवर्क्समा रहेका इन्टेक, बाँध, कल्भर्ट, डिस्याण्डर र गेटहरूको परीक्षण भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणबाट आएका प्राविधिक टोलीले विद्युत्गृहका विभिन्न उपकरणको परीक्षण पूरा गरेर शनिबार दिउँसोदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाको प्रवर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । परीक्षण उत्पादनका क्रममा प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनु पर्दछ । दशैँं लगत्तै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने छ ।
साँघु खोला र पेगू खोलाको दोभानमा बाँध निर्माण गरी बालुवा थिग्र्याउने पोखरीबाट दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपमार्फत सोरुङ खोलामा ल्याएर विद्युत् उत्पादन गरिएको छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ । एक महिनाअघि नै विद्युत् उत्पादन गर्ने लक्ष्य भए तापनि गत साउनमा आएको बाढीले क्षति भएका कारण आयोजनाको उत्पादन एक महिना ढिलो भएको हो ।
यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टक पाइप जडान गरिएको छ । सोरुङ खोलामा विद्युत्गृह निर्माण भएको छ । सोरुङ खोलामा स्विचयार्ड निर्माण गरिएको छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत् आयोजनाहरूलाई समेत लक्षित गरी स्विचयार्ड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ८ किलोमिटर टाढा रहेको सिंगटी सबस्टेसनमा जोडिएको छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् । यसअघि यही कम्पनीले ५.५ मेगावाटको साँघु खोला आयोजनाबाट २ महिनाअघि विद्युत् उत्पादन सुरु गरिसकेको छ ।
दुवै आयोजनाको सिभिल संरचना निर्माणतर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकल निर्माणतर्फ फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकल निर्माणतर्फ डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइन निर्माणको काम सम्प्रधा ट्रेडिङ प्रालिले ठेक्का लिएर गरेका हुन् ।
हिमपर्वतले निर्माण गरेको उक्त आयोजनाको लागत ३ अर्ब ८० करोड रहेको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा हिमालयन बैंक र माछापुच्छ्रे बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानीको अनुपात ६५ः३५ रहेको छ । हिम पर्वतका यी दुवै आयोजनाको अनुमानित लागतभित्रै निर्माण सकिएको कम्पनीका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए ।
हिम पर्वत हाइड्रोपावरले ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता साधारण सेयर (आइपिओ) निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआइएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । गुरुङको नेतृत्वमा गौरीशंकर गाउँपालिका–५ मा यसअघि १५ मेगावाटका २ जलविद्युत् आयोजनाले निर्माण गरी विद्युत् उत्पादन भइरहेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका नामबाट यी दुई आयोजनाको प्रवर्द्धक कम्पनीको सेयर सूचीकरण भई नेप्सेमा कारोबारसमेत हुँदै आएको छ ।