काठमाडौँ । नेपालका इँटा तथा सिमेन्ट उद्योग, होटल लगायत क्षेत्रमा प्रयोग भइरहेको कोइला प्रतिस्थापन गर्दै हरित एवम् दिगो ऊर्जाको प्रवर्द्धन गर्न बायोग्यास पेलेट महत्त्वपूर्ण मानिएको छ । पेलेट र बर्नरको प्रयोगले परम्परागत इन्धन (डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला) माथिको परनिर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । अहिले भारतबाट वार्षिकरूपमा ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।
आर्थिक वर्ष (आव) २०७९/८० मा मात्रै २ खर्ब ९३ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास) आयात भएको भन्सार विभागको तथ्यांक छ । वार्षिकरूपमा बाहिरिने यो रकमलाई बायोमास पेलेटको उपयोगबाट प्रतिस्थापन गर्न सकिने उद्योगीहरू बताउँछन् ।
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको वन क्षेत्र ४५.३१ प्रतिशत पुगेको छ तर ऊर्जा, वन तथा वातावरणीय क्षेत्रमा कार्यरत व्यक्ति तथा विभिन्न गैरसरकारी संस्थाहरूले यो करिब ४७ प्रतिशत पुगेको दाबी गर्छन् । वनको सदुपयोग गर्दै पात, पतिङ्गर र झाडी लगायत कृषिजन्य वस्तुहरूको उपयोग गरी बायोमास पिलेट तथा ब्रिकेट उत्पादन गर्न सकिन्छ । यसरी उत्पादित पेलेट उपयोगबाट कार्बन ‘फुट प्रिन्ट’ उल्लेख्यरूपमा कम गरी जलवायु परिवर्तनका असर न्यूनीकरण घटाउन सकिने पर्याप्त सम्भावना देखिन्छ ।
उल्लिखित क्षेत्रमा पछिल्लो दुई वर्ष देखि वकस रिन्युवेबल इनर्जीले बायोमास पेलेटको उत्पादन गर्दै आएको छ भने जान्दा देवी नेपाल इनर्जी (जेडिएन) ले पेलेट चुल्हो तथा बर्नरको बजारीकरण गर्दै आएको छन् । नवीकरणीय ऊर्जा अन्तर्गत बायोमास वर्नरमा काम गर्दै आएको जेडिएनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को ‘नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरइपी)’मार्फत आर्थिक सहयोग लिई मधेश प्रदेशमा लघु, साना तथा मझौला उद्यमका लागि बायोमास पेलेटको प्रवद्र्धन तथा बजारीकरण गरिरहेको छ ।
उता, औद्योगिकरूपमा बकस रिन्युवेबलले सर्लाहीको इश्वरपुरमा वार्षिक २० हजार मेट्रिन टन बायोमास पेलेट तथा ५ हजार मेट्रिक टन ब्रिकेट उत्पादन क्षमता भएको कारखाना स्थापना गरेको छ । यो कारखाना स्थापना गर्न बिजनेश अक्सिजन भेन्चर क्यापिटलबाट स्वपुँजी (इक्विटी) तथा एनएमबी बैंकबाट ऋण समेत लगानी भएको छ । यसै सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का कार्यकारी सदस्यसमेत रहेका बकसका संस्थापक कुबेरमणि नेपालले बायोमास पेलेटका विषयमा राखेको महत्त्वपूर्ण धारणा यहाँ प्रस्तुत गरिएको छ–
‘बायोमास स्रोतबाट डिजेल तथा कोइला प्रतिस्थापन गर्ने नीतिको खाँचो छ’
नेपालको आफ्नै बायोमास स्रोतबाट डिजेल तथा कोइलाको प्रतिस्थापन गर्न सकिने कुरा सर्लाही जिल्लामा उत्पादन भएको बायोमास पेलेटले प्रमाणीत गरिसकेको छ । सुन्दा अचम्म लाग्छ तर देशभित्रै वन, झाडी र खेर गइरहेको वस्तुको उपयोग गरी वार्षिक २० हजार टन पेलेट बायोमास उत्पादन गर्ने गरी कारखाना खोलिएको कुरा सबैलाई थाहा नहुन सक्छ ।
हाम्रा अधिकांश उद्योगहरूमा तापीय स्रोतको रूपमा कोइला, डिजेल, फर्नेस आयल, विद्युत्, भुस वा दाउराको उपयोग हुने गरेको छ । यी इन्धनहरूमध्ये कोइला, डिजेल र फर्नेस आयलको प्रतिस्थापन गर्न नेपालमै बनेको बायोमास पेलेट तथा ब्रिकेटले गर्ने कुरा प्रमाणीत भइसक्यो ।
अमेरिका, युरोप, क्यानडा, जापान, कोरिया जस्ता विकसित मुलुकहरूमा यो प्रविधिको विकास भएको २० वर्ष नाघिसकेको छ । हामी बल्ल सुरुकै चरणमा छौँ । त्यस्ता खालका उद्योग स्थापना भएको खण्डमा वन–जंगलमा लाग्ने डढेलो कम गराउने, आन्तरिक रोजगारी सिर्जना हुने, वैदेशिक मुद्राबाट खर्च गर्नुपर्ने इन्धनमा कमी आउन सक्छ । हाल खेर गइरहेको बायोमासले मूल्य पाउनुका साथै हरित ग्यास उत्सर्जन उल्लेख्य मात्रामा कमी ल्याउन सक्छ ।
यस प्रकारको कामलाई प्रोत्साहन गर्नदेशमा प्रभावकारी नीतिको अभाव छ । सरकारले तत्काल यसतर्फ काम गर्नुपर्छ । कार्बन उत्सर्जन गर्न फर्नेस आयलको आयात बन्द गर्नुपर्छ । हरेक उद्योगले कोइलासँग ५ प्रतिशत पेलेट उपयोग गर्नुपर्ने बाध्यकारी नीति ल्याउनुपर्छ । यस्तो पेलेट निर्यात गर्दा भन्सार छुट हुनुपर्नेमा अहिले १० प्रतिशत भन्सार लगाइएको छ । जुन, शून्य हुनुपर्याे । उद्योगलाई पेलेट बर्नर खरिदमा अनुदानको व्यवस्था गर्नुपर्छ ।
इँटा उद्योगले मात्र वार्षिक ७ लाख टन कोइला प्रयोग गर्छ । सबैभन्दा बढी कोइलाको प्रयोग सिमेन्ट उद्योगले गर्छन् । वातावरण मन्त्रालयले कोइलामा ५ प्रतिशत पेलेट प्रयोग गर्नैपर्ने नियम पनि बनाउनुपर्यो । झ्याङ–झाडी, पातपतिङ्गरमात्र उपयोग गर्दा पनि वर्षमा ८० अर्ब रुपैयाँ आम्दानी हुने देखिन्छ ।
बायोमास पेलेटका फाइदाहरू
- वन–जंगललाई बढ्दो आगलागी र डढेलोबाट जोगाउँछ
- कार्बन उत्सर्जनमा कमी ल्याउँछ
- कार्बन बिक्री गरी आम्दानी गर्न सकिन्छ
- ठूलो संख्यामा अदक्ष व्यक्तिहरूका लागि रोजगारी सिर्जना हुन्छ
- सरकारको राजस्वमा वृद्धि हुन्छ
- विदेशी मुद्रा सञ्चितिमा टेवा पुग्छ
- खेर गएको वन, झाडी, पात–पतिङ्गरले मूल्य पाउछ