पर्वत । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अध्याँरा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौं रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे भएका हुन् ।
दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका छन् । ६ वर्ष अघिसम्म तीनवटा आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।
दक्षिण पर्वतको पैँयुँ गाउँपालिकास्थित सरौखोलामा रहेको १२ किलोवाटकाे अगुवाखोला, भोर्लेमा रहेको १६ किलोवाटकाे धुवाकोट, हुवासमा रहेको १२ किलोवाटकाे गेडीखोला, फलेवास नगरपालिका–११ पाङराङको साढे ७ किलोवाटकाे गढीसिद्ध, विहादी गाउँपलिका–१ बाच्छामा रहेको ११ किलोवाटको बाच्छाखोला तथा सोही खोलाको १९ र २१ किलोवाट क्षमताकाे बाच्छा–१ र २ लघुजलविद्युत् आयोजना बन्द छन् ।
यसैगरी, मोदी गाउँपलिका–४ क्याङमा सञ्चालित १६ किलोवाटको घट्टेखोला लघुजलविद्युत् आयाेजना पनि पूर्णरूपमा बन्द भएकाे छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत् आयोजना पनि चार वर्षअघि आएको पहिराेले पुरिएपछि बन्द भएकाे हाे । महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि चार वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि बन्द छ । आर्थिक अभावका कारण स्थानीयले मर्मतमा ध्यान नदिएपछि आयाेजना बन्द भएकाे हाे ।
तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको र मर्मतपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताइन । पछिल्लो समय स्थानीय तहले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए ।
जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १ सय ५६ दशमलव ५ किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट तत्कालीन १ हजार ४ सय ३ घरधुरीका ९ हजार वासिन्दा लाभान्वित भएका थिए ।
‘पच्चीस वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ तिरे पुग्थ्यो’, शिलाकारले भने, ‘केन्द्रीय लाइनभन्दा लघुजलविद्युतबाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।’
युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजना अहिले बेवारिसे छन् । ११ वटा आयोजनाका लागि २ करोड २५ लाख खर्चिएता पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मतको आवश्यकता छ ।