विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई बाढी पीडित जलविद्युत् कम्पनीका माग तत्काल पूरा गर्न आग्रह गरेका छन् । बिहीबार मन्त्रालयमा भएको छलफलका क्रममा अध्यक्ष कार्कीले यस्तो आग्रह गरेका हुन् । बाढी प्रभावित आयोजनाले प्रभाव तथा क्षतिको फोटो– भिडियोसहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरेको, मन्त्रालयले दुई–चार ठाउँमा सिफारिस पनि गरेको तर राहत कसैले नपाएको कार्कीको गुनासो थियो । 

‘गर्ने भए छिटो माग पूरा गरिदिनुस्, अन्यथा सक्दिन भनेर हात उठाइदिनुस्,’ छलफलका क्रममा उनले भने, ‘सरकारले आश्वासन मात्र दिइरहेको छ । २ वर्षअघिसम्म आयोजनाको मर्मत सम्भारमा भन्सार छुट पाउँथ्यौँ, अहिले त्यो व्यवस्था पनि अर्थ मन्त्रालयले हटाइदियो । यसले गर्दा धेरै आयोजना प्रभावित भएका छन् । उनीहरू ले २८ प्रतिशत अतिरिक्त रकम स्पेयर पार्टसमा खर्च गर्नुपरेपछि आयोजनाको वित्तीय अवस्था के हुन्छ ? खासगरी यसबाट बाढी प्रभावित आयोजना धेरै नै प्रभावित भएका छन् । उनीहरू ले आयोजना पुनर्निर्माण नै गर्न सकेका छैनन् ।’

उनले बाढीपीडित आयोजनाका विषय मात्र नभएर ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्या लिएर मन्त्रालयका मन्त्री, सचिव र सहसचिवसम्म पटक पटक निवेदन गर्दा पनि माग पूरा नगरिदिएको भन्दै आक्रोश व्यक्त गरे । दैवी प्रकोप, विस्फोटक पदार्थको अभाव, रुस–युक्रेन युद्धका कारण सामान आयातमा भएको अवरोध, वन तथा भूमिसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा कुनै पनि जलविद्युत् आयोजना पूरा हुन नसकिरहेकोले सबै आयोजनाको आरसीओडी (व्यापारिक विद्युत् उत्पादन शुरु गर्नुपर्ने मिति) को म्याद २ वर्ष थप गर्न पटक पटक सबै निकायमा पहल गर्दा पनि काम नभएको बताए ।

‘एकातिर आरसीओडीको म्याद थप भएको छैन, अर्कोतर्फ आर्थिक वर्ष (आव) २०८४/८५ सम्म विद्युत् उत्पादन गर्न सकेन भने उक्त आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले टेक एण्ड पे (लिएपछि मात्रै पैसा तिर्ने व्यवस्था) अन्तर्गत खरिद गर्ने उल्लेख गरिएको छ,’ उनले भने, ‘यसले गर्दा बैंकले लगानीबाट हात झिक्दैछन् भने आयोजनामा अहिलेसम्म गरिएको लगानी खेर गई प्रवर्द्धकहरू टाट पल्टिने अवस्था आउँदैछ ।  विविध कारणले आयोजना समयमा बन्न सकेनन्, यसमा आयोजना वा प्रवर्द्धकको मात्रै दोष छैन । त्यसैले यस्तो प्रावधान खारेज गरेर आरसीओडी थप गरिदिनुस् ।’

अध्यक्ष कार्कीले ४ वर्षदेखि रोकिएका करिब १३ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए (विद्युत खरिद बिक्री सम्झौता) खुलाउनु पर्ने, जलवायु परिवर्तनका कारण हाइड्रोलोजीको समस्या बढ्दै गएकाले सबै आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, वन र भूमि सुधारका समस्या समाधान गर्नुपर्ने, २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउनुपर्ने र विद्युत् विधेयकमा निजी क्षेत्रले उठाइरहेका प्रश्नको उत्तर नखोजी विधेयक ल्याउन नहुने लगायतका विषयमा ऊर्जा मन्त्री खड्कासहित सचिव गोपालप्रसाद सिग्देल र ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीको ध्यानाकर्षण गराएका हुन् । 

जवाफमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले इपानले उठाएका सबै विषयवस्तुबारे मन्त्रालय गम्भीर रहेको बताए । विद्युत् विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको पनि खड्काले बताए । ‘निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसदमा लिएका छैनौँ,’ उनले भने, ‘भारतमा १० हजार मेगावाट बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा ५ हजार मेगावाट निर्यातको कुरा पक्का पक्की जस्तै भएको र चीनमा पनि केही विद्युत् बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको र सबै गरेर २० हजार मेगावाट विद्युत् बेच्न सकिने खड्काले बताए ।

मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणहरूमा भन्सार छुट नदिएका कारण एउटै आयोजना २९ प्रतिशतसम्म महँगो भएको र आर्थिक रूपमा सम्भाव्य नभएको बताए । त्यस्तै उनले निःशुल्क विद्युत्को विषय पनि गम्भीर रहेको बताए ।

‘अहिले विदेशी लगानीमा बनेका ठूला आयोजनाबाट २१.९ प्रतिशत निःशुल्क विद्युत् पाइरहेका छौँ । अहिले आएर साना आयोजनामा पनि यो अभ्यास गर्नेबारे छलफल चलिरहेको छ,’ ऊर्जा मन्त्री खड्काले भने, ‘उसै पनि विद्युत् आयोजनाको लागत उच्च छ, त्यसैमा फ्रि इनर्जीको कुरा सम्भव देखिँदैन ।’ अनुमतिपत्रको अवधि ३०/३५ वर्ष भने पनि एउटा प्रवर्द्धकले मुस्किलले २७/२८ वर्ष मात्रै आयोजना चलाउन पाउने पनि खड्काले बताए ।

ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले बाढी पीडित आयोजनाले भन्सार छुट लगायतका सुविधा पाउने विषय अर्थ मन्त्रालयसँग जोडिएका कारण ऊर्जा मन्त्रालयले सिफारिस गर्दा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए । मर्मत सम्भारमा भन्सार छुट दिने विषय समावेश गर्न ऊर्जा मन्त्रालयबाट यो वर्षा पनि बजेटमा सुझाव दिएको तर अर्थमन्त्रालयले नराखेको पनि सिग्देलले दावी गरे । उनले विगतमा आरसीओडीको म्याद थप गर्ने विषय आफूले नै सिफारिस गरेको भन्दै यसलाई निकास दिने प्रतिवद्धता पनि जनाए ।

छलफलको क्रममा वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले जलविद्युत् आयोजनाहरू बिस्फोटक पदार्थको अभाव, वित्तीय व्यवस्थापनमा ढिलाई, वित्तीय व्यवस्थापन भएपनि पैसा निकासा हुन नसकेका लगायतका कारणले पनि निर्माणमा ढिलाइ भएको बताए । उनले सरकार पेनाल्टी लिएर धनी नहुने भन्दै आरसीओडीको म्याद थप गर्ने विषयमा मन्त्रालय सकारात्मक नै रहेको बताए ।

त्यस्तै उनले २०७२ को ऊर्जा संकट निवारण कार्ययोजना अनुसार २०८४/८५ सम्म विद्युत उत्पादन नगरे टेक एण्ड पे हुने प्रावधान राखिएको भन्दै त्यही प्रावधानका कारणले बैकले पैसा नहाल्ने जोखिम रहेको स्वीकार गरे । त्यसका लागि निजी क्षेत्रका त्यस्ता आयोजनाले छुट्टाछुट्टै निवेदन दिएर त्यो प्रावधानलाई २०८९/९० सम्म बनाउने प्रयास गर्ने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३