काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपिजिसिएल) ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । यसअघिका सिइओ डा. नेत्रप्रसाद ज्ञवालीको पदावधि करिब १२ दिनअघि सकिएपछि उक्त पद रिक्त भएको हो । पदपूर्तिका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट १५ दिनभित्र दरखास्त दिन आह्वान गर्दै आरपिजिसिएलले सोमबार सूचना (विज्ञापन) प्रकाशित गरेको हो ।
यस पदमा आवेदन दिन राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाचौँ संशोधनसहित) को नियम ३६(२) बमोजिमको योग्यता चाहिने छ । जसअनुसार उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै, मान्यता पाप्त शैक्षिक संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरको र साही क्षेत्रमा कम्तीमा ८ वर्षको कार्यानुभव हुनुपर्ने वा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक तथा व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी स्नातकपछि सोही क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।
सूचना अनुसार उक्त पदका लागि नैतिक पदन देखिने फौजदारी कसूरको सजाय नपाएको, कम्पनीको स्वार्थ बाझिने अन्य कम्पनीमा संलग्न नरहेको, कुनै पनि राजनीतिक दलको पदाधिकारी वा सदस्य नरहेको नेपाली नागरिकले प्रतिलित कानुन अनुसार अयोग्य नरहेको स्वघोषणा पत्रसहित आवेदन दिनुपर्ने छ ।
साथै, सिइओको कार्यादेश (टर्मस् अफ रिफ्रेन्स) बामोजिमको बिजनेश प्लानको दुई प्रति दरखास्तसाथ संलग्न गर्नुपर्ने छ । बिजनेश प्लानको बाहिरी पृष्ठमा मात्रै आफ्नो नाम खुलाई कार्यादेशअनुसारका सम्पूर्ण कागजात एउटै खामभित्र सिलबन्दी गरी बुझाउनु पर्ने छ । दरखास्त पेस गरेका उम्मेदवारमध्ये प्रारम्भिक छनोट सूची (सर्टलिस्ट) मा परेकालाई मात्र बिजनेश प्लान प्रस्तुतिका लागि सूचित गरिने कम्पनीले जनाएको छ ।
पहिलो र दोस्रो कार्यकाल गरी निरन्तर ८ वर्ष सिइओ रहेका डा. ज्ञवालीले स्थापनाकालदेखि आरपिजिसिएललाई अहिलेको समृद्ध अवस्थामा ल्याइपुर्याएका हुन् । उनको कार्यकालयमा आरपिजिसिएलले गुरुयोजनाका साथ राष्ट्रिय प्रसारणका लागि ठूला तथा रणनैतिक लाइनहरू निर्माण अघि बढाएर प्रसारण पूर्वाधारकाे विकासतर्फ देशलाई नै अग्रगामी दिशा दिएकाे छ । नदी करिडोरमा आधारित भएर ठूला प्रसारण लाइन निर्माणको नेतृत्व आरपिजिसिएलले लिइदिँदा यसबाट नदी करिडोरमा बन्ने जलविद्युत् आयोजनाहरूले निकै ठूलो सहजीकरणको महसुस गरेका छन् । साथै उनकै कार्यकालमा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई पनि संलग्न गराई सार्वजनिक–निजी साझेदारी (पिपिपी मोडल) समेत अघि बढाइसकिएको छ ।
पुल्चोक पुलचोक इन्जिनियरिङ कलेजका सहप्राध्यापक तथा इलेक्ट्रिकल इन्जिनियरिङ विभागको प्रमुख समेत भएर काम गरिसकेका ज्ञवालीले सन् २०११ मा पावर सिस्टममा जापानबाट विद्यावारधी उपाधि हासिल गरेका हुन् । आरपिजिसिएलमा उनकाे विज्ञता, अनुभव र भूमिका प्रतिफलमुखी देखिएकाे छ ।