काठमाडौँ । लामो समयदेखिको खडेरीले चीनको दक्षिणपश्चिमी भागका नदीहरूको बहावमा उल्लेख्य कमी आएको छ । यही कारण, त्यहाँ ठूला जलविद्युत् केन्द्रहरू सञ्चालन भइरहे पनि विगत तीन वर्षदेखिको विद्युत् उत्पादन स्थिर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
सन् २०२२ को मध्यमा खडेरी सुरु भएदेखि चीन बिजुलीको माग पूरा गर्न कोइलाका स्रोतमा फर्किन बाध्य भएको छ । यद्यपि, माग पूरा गर्न सौर्य र वायु ऊर्जाका स्रोतले केही मद्दत पुगेको थियो ।
चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार जलविद्युत् जडित क्षमता सन् २०२३ को अन्त्यसम्म ३५.८० करोड युनिटबाट १८ प्रतिशतले बढेर ४२.२० करोड युनिट पुगेको थियो । तर, यो उत्पादनको मात्रा चार वर्षअघिको ११५३ अर्ब युनिटको तुलनामा सन् २०२३ मा १ प्रतिशत घटेर ११४१ अर्ब युनिट पुगेको छ ।
अघिल्ला उदाहरणहरू हेर्दा, खडेरीले सन् २०२३ मा जलविद्युत् उत्पादन करिब १९० अर्ब युनिट (१४ प्रतिशत कम) घटेको देखिएको छ । नदीमा आउने पारिस्थितिक प्रणालीका कारणले पनि यस्तो अवस्था आएको अनुमान गरिएको छ ।
दक्षिण–पश्चिमी चीन
चीनमा निर्माण भएका अधिकांश जलविद्युत् आयोजना दक्षिण–पश्चिम तिब्बतीय भूमिबाट उत्पत्ति भएर बगेका नदीमा आधारित छन् । जुन, चीनको रणनीतिक महत्त्वको याङ्जी र यसका सहायक नदीमा क्यासकेडको रूपमा निर्माण गरिएका छन् । सन् २०२० को तथ्यांक अनुसार सिचुवान र युनानका छिमेकी प्रान्तले मात्र देशको ४८ प्रतिशत जलविद्युत् उत्पादनको हिस्सा ओगटेका थिए ।
यदि, तल्लो तटीय प्रान्त हुबेइ (जहाँ २२५०० मेगावाटको थ्रि गोज्रेज जलविद्युत् आयोजना निर्माण भएको छ) लाई समेत गणना गर्ने हो भने दक्षिण–पश्चिमी क्षेत्रको जलविद्युत् उत्पादन योगदान करिब ६० प्रतिशत पुग्छ । अन्य दक्षिण–पश्चिमी क्षेत्रमा बग्ने याङ्जीसहितका साना नदीहरू कुइझाउ, क्वाङ्सी, क्वाङडोङ र चोङचिङ लगायत समेट्दा जलविद्युत् उत्पादन ७५ प्रतिशत पुग्छ ।
दक्षिण–पश्चिमी चीनमा पूर्वी एसियाली मनसुन (जुनदेखि अगष्ट) को समयमा अधिक र मार्च र मे महिनाको बीचमा निकै कम वर्षा हुन्छ । शरद ऋतु तथा जाडो महिनाभरि अति नै सुख्खा हुने गर्छ । सन् २०२२ को मध्यदेखि नै अधिक खडेरी परेका कारण नदीमा पानीको बहाव तीव्र रूपमा घटेको छ । सन् २०२२ को मध्यदेखि तिब्बत तथा सिचुवान र युनान क्षेत्रमा औसत ५० प्रतिशत वा त्यो भन्दा पनि कम वर्षा भएको छ ।
सन् २०२३ मा सिचुवान र युनानको बीचमा अवस्थित यिबिन सहरमा ६६३ मिलिमिटरमात्र वर्षा भएको थियो । यस्तो वर्षा सन् २०२२ मा १०२४ मिलिमिटर परेको थियो । सन् २०१४ देखि २०२१ को बीचमा यस्तो वर्षा औसत १२२५ मिलिमिटर थियो ।
तल्लो क्षेत्रका नदीको बहाव
चीनले वार्षिकरूपमा हुने वर्षा, नदीको बहाव, देशका बाँधयुक्त जलाशय (जलविद्युत्) मा सञ्चित र सिँचाइमा उपयोग भइरहेको पानीको तथ्यांक संकलन गरिरहेको छ । धेरै खालका राष्ट्रिय तथा प्रादेशिक सरकारी निकाय यस्तो तथ्यांक संकलनमा जुटेका छन् तर अपेक्षाकृत उपलब्धि हासिल गर्न गाह्रो भइरहेको जनाइएको छ । यद्यपि, खडेरीको प्रारम्भिक संकेत तथ्यांक ब्यूरोको वार्षिक प्रतिवेदनबाट समेत अनुमान गर्न सकिन्छ ।
सन् २०२२ मा राष्ट्रव्यापी रूपमा भू–सतहमा २६ खर्ब घनमिटर (२.६० ट्रिलियन) पानी रहेको मूल्यांकन गरिएको थियो । भू–सतहको पानीको स्रोत १० वर्षको औसत (२०१२–२०२१) मा ७ प्रतिशत कमी आएको थियो । सन् २०११ को खडेरीपछि यो दरमा अझ कमी आएको छ । यस्तै, सन् २०२३ को खडेरीले भू–सतहको पानीको स्रोत अझ घटाएको छ ।
उपरोक्त दक्षिण–पश्चिमी क्षेत्रको तथ्यांकले समग्र चीनको भू–सतही पानीको मापन गर्ने दाबी छ, जसलाई निकै गम्भीरतापूर्वक लिइएको छ । सन् २०२० मा बाढी आउँदा तिब्बतको सहत स्रोत १० प्रतिशतले र सिचुवान प्रान्तको ३२ प्रतिशतले घटेको थियो ।
कोइलातर्फ फर्किँदै
कोभिड–१९ को महामारीको असर झेल्दै चीनले सन् २०२३ देखि सामाजिक दूरीको प्रतिबन्ध हटाएको थियो । यससँगै बिजुलीको खपतमा पनि वृद्धि भएको थियो । सोही वर्ष वायु र सौर्य ऊर्जाबाट १२२ अर्ब युनिट (१८ प्रतिशत) र ६५ अर्ब युनिट (२८ प्रतिशत) बढी विद्युत् उत्पादन भएको थियो । तर, जलविद्युत् ६१ अर्ब युनिट (५ प्रतिशत) कम उत्पादन हुँदा आपूर्ति व्यवस्थापनका लागि थर्मल प्लान्टबाट ३७९ अर्ब युनिट (६ प्रतिशत) बढी उत्पादन गर्नु परेको थियो ।
खासगरी, दक्षिणी हेनान प्रान्त र क्वाङडोङमा धेरैजसो कोइलामा आधारित थर्मल प्लान्टहरू सञ्चालन गरिएको थियो भने थोरै मात्र ग्यासबाट उत्पादित विद्युत्ले माग व्यवस्थापन भएको थियो । यस्ता कोइलामा आधारित प्लान्टले उच्च माग पूरा गर्न र नदीमा पानीको बहाव कम भई जलविद्युत् उत्पादन घट्दा ‘ब्याक–अप’को काम गरेका थिए ।
सन् २०१९ मा जलविद्युत् उत्पादन १९० अर्ब युनिट घटेको थियो । यो नदीहरू बहावको सामान्य अवस्थामा फर्किँदा कति थप जलविद्युत् उत्पादन हुन्छ भन्ने सूचक पनि हो । खडेरी समाप्त भई वर्षा सामान्य अवस्थामा फर्किएपछि कोइलाबाट चल्ने थर्मल प्लान्टको उत्पादन केही घट्न सक्ने आकलन गरिएको छ ।
बर्सातको पर्खाइ
दक्षिण–पश्चिमी चीन सुख्खा मौसमको अन्ततिर छ र यसले बर्खा तथा गर्मी मौसमलाई पर्खिरहेको छ । त्यस क्षेत्रमा अझै नदीको बहाव निकै कम रहेको बताइन्छ । परिणामतः सन् २०२३ को पहिलो दुई महिनाको तुलनामा २०२४ को सोही अवधिमा थर्मल प्लान्टबाट १०४ अर्ब युनिट (११ प्रतिशत) बढी विद्युत् उत्पादन गरिएको थियो । यो अवधिमा जलविद्युत्को उत्पादन २ प्रतिशतले मात्रै बढी (२ अर्ब युनिट) भयो ।
यदि, लगातार तेस्रो गर्मी मौसममा पनि खडेरी जारी रह्यो भने जलविद्युत् उत्पादनको अवस्था निराशाजनक हुने र यो वर्ष पनि विद्युत् माग पूरा गर्न कोइलामा आधारित विद्युत्गृह सञ्चालन गर्नुको विकल्प नहुने प्रक्षेपण गरिएको छ । खडेरी समाप्त भएर वायु र सौर्य ऊर्जासँगै जलविद्युत् उत्पादनमा वृद्धि भयो भने सन् २०२४ मा कोइलामा आधारित प्लान्ट सञ्चालनमा कमी आउन सक्ने अनुमान छ ।
एजेन्सीहरूको सहयोगमा