विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ९ जना विज्ञहरूको आवेदन परेको छ । आवेदन दिने फागुन २० गते अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।

एचआइडिसिएलले गत फागुन ५ गते रिक्त पदका लागि इच्छुक व्यक्तिहरूबाट १५ दिनभित्र दरखास्त पेश गर्न आह्वान गरेको थियो । सिइओ छविराज पोखरेलको ४ वर्षे कार्यकाल गत माघ चौथो साता पूरा भएपछि अर्को कार्यकालका लागि आवेदन मागिएको छ । हाल संस्थामा वरिष्ठताको आधारमा उपमहाप्रबन्धक मुक्तिबोध न्यौपानेले निमित्त सिइओको जिम्मेवारी सम्हालिरहेका छन् ।

आवेदन दिनेहरूमा पूर्व सिइओ छबिराज पोखरेल, संस्थाकै प्राविधिक विभागका उपमहाप्रबन्धक अरुण रजौरिया, रामहरि ढकाल, सुरज लामिछाने, डा. भेषराज थापा, विनोद देवकोटा छन् । यस्तै, अन्य आवेदकमा रुग्ण जलविद्युत् आयोजनाको संयोजक रहेका सूर्यप्रसाद अधिकारी,  अर्जुन गौतम र सुधिर ज्ञवाली छन् ।

जलविद्युत् क्षेत्रको विकासका लागि एचआइडिसिएलको नेतृत्व हाँक्न अधिकांशको योग्यता र क्षमता कमजोर देखिन्छ । ढकाल विभिन्न ठाउँमा छोटो अवधि काम गर्दै छोड्दै हिँड्ने व्यक्तिका रूपमा चिनिन्छन् भने थापा कृषि इन्जिनियरिङ पढेका व्यक्ति हुन् । कृषि पढेको व्यक्तिले जलविद्युत् क्षेत्र हाँक्न खोज्नुलाई गज्जबको रहर मान्नुपर्छ । उता देवकोटासँग पनि जलविद्युत् क्षेत्रमा लामो समय काम गरेको अनुभव देखिँदैन ।

सुरज लामिछाने यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक थिए । त्यहाँ रहँदा उनी केही ठेक्कापट्टाको काममा विवादित पनि भएका थिए । उनी हाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अध्यापन गराउँछन् । यो बाहेक जलविद्युत् क्षेत्रमा काम गरेको उनको अनुभव भेटिँदैन ।

वित्तीय क्षेत्रको अनुभव भएका ज्ञवाली एचआइडिसिएलकै पूर्वसञ्चालक हुन् भने गौतम कर्मचारी सञ्चय कोषका प्रमुख प्रबन्धक हुन् । कोषमा कार्यरतबाहेक गौतमसँग वित्तीय र जलविद्युत् दुवै क्षेत्रमा काम गरेको अनुभव देखिँदैन ।

निजी जलविद्युत् क्षेत्रबाट आवेदन दिएका अधिकारी यही क्षेत्रमा काम गर्दै आए पनि उनमा नेतृत्व हाँक्ने क्षमता र कुशलता देखिँदैन । बागलुङमा १.५ मेगावाटको ठेउले खोला निर्माण गरेका यिनले पछिल्लो समय हाइड्रोलोजीका कारण लक्षित ऊर्जा उत्पादन गर्न नसकेका १० मेगावाटभन्दा साना आयोजनालाई सहुलियत दिनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् ।

क्षेत्रगत विधामा निकै राम्रो दख्खल रहेका अधिकारी सानो र सीमित स्वार्थका व्यक्तिको घेराभित्र रमाउने अनुहारका रूपमा चिनिन्छन् । यो घेरा तोड्न सके पछिल्लो समय निजी क्षेत्रमा प्राविधिक दृष्टिकोणले योग्य अरू व्यक्ति देखिँदैन । तर, साँधुरो सोचाइ र चाँडै आक्रोसित हुने प्रवृत्तिका कारण निजी क्षेत्र तथा सरकारी निकायमै उनको चरित्रको आलोचना हुने गर्छ ।

अब एचआइडिसिएल हाँक्न सक्ने योग्य अनुहारमा पोखरेल, न्यौपाने र रजौरिया नै हुन् । तर, योग्यता नपुगेको भन्दै न्यौपानेले आवेदन दिएका छैनन् । बाँकी रहे पोखरेल र रजौरिया । पोखरेल हाल नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) का महासचिव पनि हुन् । उनी शैक्षिक तथा व्यावसायिकसँगै राजनीतिक पहुँच भएका व्यक्ति हुन् ।

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको पालामा एचआइडिसिएलको नेतृत्व सम्हाल्न पुगेका पोखरेलका लागि अहिलेको राजनीतिक समिकरण भने त्यति सुखद देखिएको छैन । उनी पूर्वमाओवादी खेमाको भए पनि नरम स्वभाव र जिम्मेवारीमा खटेर काम गर्न सक्ने व्यक्ति हुन् । राजनीतिक समिकरणलाई चित्त बुझाउन सके एचआइडिसिएलमा पोखरेलको सम्भावना पक्का देखिन्छ ।

सरकारले संस्थामा व्यावसायिक र क्षेत्रगत विधामा विज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्ति गर्ने हो भने अरुण रजौरिया सबैभन्दा उपयुक्त पात्र मानिन्छन् । २० वर्षभन्दा बढी निजी जलविद्युत् क्षेत्रमा काम गरेर उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । निजी क्षेत्रमा पनि उनी योग्य, निष्ठावान र क्षमतावान इन्जिनियरका रूपमा परिचित छन् ।

नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट जलविद्युत् विकासमा एमएससी गरेका रजौरिया भारतको सरदार बल्लभ भाइ रिजनल कलेज अफ इन्जिनियरिका बिई गोल्ड मेडलिस्ट पनि हुन् । उनले लामो समय भारतीय कम्पनी जिएमआर र इसार पावर लिमिटेडमा काम गरेका थिए ।

याे पनि पढ्नुहाेस् :  चआइडिसिएलमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्यो, को-को होलान् प्रतिस्पर्धी ?

नेपालभित्रै हिमाल पावर एन्ड जेनेरल कन्स्ट्रक्सन कम्पनीमा पनि रजौरियाले साढे दुई वर्ष काम गरेका थिए । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा संलग्न रहेर ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको अध्ययन, डिजाइन, निर्माण, योजना र वित्तीय व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ । यो सँगै प्रसारण लाइनको डिजाइन तथा निर्माणमा समेत उनको योगदान देखिन्छ ।

हरेक क्षेत्र तथा संस्थामा राजनीतिक पार्टीको झन्डा बोक्ने व्यक्तिलाई नियुक्ति गर्दै आएको केपी शर्मा ओलीको सरकारले एचआइडिसिएलमा कस्तो अनुहार ल्याउँछ त्यो हेर्न बाँकी छ । यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीको समेत स्वार्थ हुने हुँदा उनले आफ्नो कार्यकालमा परिणाम देखाउन पनि एचआइडिसिएलमा योग्य, क्षमतावान र व्यावसायिक व्यक्तिलाई मौका दिनुपर्ने हुन्छ ।

२०६८ असार २७ गते तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टले स्थापना गरेको कम्पनी करिब २ वर्ष तदर्थ समितिबाट सञ्चालन भएको थियो । प्रतिस्पर्धाबाट छनोट भई सुरुका ४ वर्ष कर्मचारी सञ्चय कोषका वरिष्ठ अधिकृत दीपक रौनियरले ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसपछिका ४ वर्ष पोखरेल प्रमुख कार्यकारी अधिकृत रहे ।

कम्पनीले अहिले दुई सहायक रेमिट हाइड्रो कम्पनी र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना गरी ताप्लेजुङमा ७७.५ मेगावाट घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवा खोलाको निर्माण अगाडि बढाएको छ । योसँगै रोल्पाको माडीमा १५६ मेगावाटको माडी र ताप्लेजुङ, पाँचथर र तेह्रथुममा ७५६ मेगावाटको तमोर निर्माण गर्न चिनियाँ कम्पनी पावर चाइनासँग समझदारी गरेको छ ।

एचआइडिसिएल आफैंले जलविद्युत् विकास गर्नु भन्दा ठूला तथा जलाशय आयोजनाका लागि स्वदेश तथा विदेशबाट लगानी व्यवस्थापन गर्ने, जलविद्युत्मा स्वपुँजी लगानी बढाउने र लगानी नपाएका निजी क्षेत्रका लागि समेत स्वपुँजी व्यवस्थापन गर्नुपर्ने चुनौती छ । विगतमा यी काम केही हदसम्म हुँदै आए पनि कम्पनी आयोजना निर्माण गर्ने दिशामा एकोरिरहेको देखिन्छ । यी दुई पक्षलाई आगामी दिनमा सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।

सिइओका लागि योग्यता

सिइओका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट जनप्रशासन वा व्यवस्थापन वा व्यापार वा वित्त वा अर्थशास्त्र वा इन्जिनियरिङ वा कानुनमा वाणिज्य वा कम्पनी कानुन विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको र बैकिङ वा वित्तीय वा कोष व्यवस्थापन वा इन्जिनियरिङका क्षेत्रमा कम्तीमा अधिकृत द्वित्तीय वा वरिष्ठ प्रबन्धक तहमा वा नेपाल सरकारको राजपत्रांकित द्वित्तीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

यसैगरी, उल्लेखित शैक्षिक योग्यता तथा अनुभव वा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक उपाधि हासिल गरी चार्टर्ड एकाउन्टेन्सी उर्तीण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा संगठित संस्थाको अधिकृतस्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । ३५ वर्ष उमेर पूरा भई ५५ वर्ष ननाघेको योग्य व्यक्तिले आवेदन दिनुपर्ने पनि सूचनामा खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३