काठमाडौं । लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प छ । आयोजना प्रभावित स्थानीयमा फैलिएको भ्रामक सूचना वा अफवाह र केही समूहको व्यक्तिगत स्वार्थका कारण आयोजनामा तोडफोड र आगजनी गर्दा गत मंसिर २४ गतेदेखि काम रोकिएको हो ।
चेपे ‘ए’ मा भएको तोडफोड र आगजनीको विषयमा छानविन तथा अध्ययन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति गठन गरेको विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बताए । समिति आजै आयोजनास्थल जान लागेको उनले जानकारी दिए ।
आयोजनाका कारण सिँचाइका लागि राइनास नहरमा पानी उपलब्ध नहुने भन्दै तोडफोड र आगजनी गर्दा करोडौं रुपैयाँको क्षति भएको प्रवर्द्धक चप्पावती हाइड्रो पावर कम्पनीका अध्यक्ष हरिराम पराजुलीले बताए । आयोजनाको टेलरेसबाट निस्केको पानी नहरभन्दा तल्लो क्षेत्रमा खस्ने अनुमानका आधारमा स्थानीयले विरोध गरेको उनले जानकारी दिए ।
आयोजनाले करोडौं रुपैयाँको क्षति बेहोरिसकेको र यसबारे सरकारी निकाय मौन रहेकोमा पराजुलीले बताए । ‘परामर्श नै नगरी तोडफोड र आगजनीमा उर्तिनुमा कसैको निजी स्वार्थ लुकेको हाम्रो अनुमान छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अध्ययन र डिजाइन अनुसार टेलरेसबाट निस्केको पानी नहरभन्दा करिब १५० मिटरभन्दा माथि नै खस्ने भए पनि स्थानीयवासीमा अफवाह फैलाइएर दुःख दिन खोजियो ।’
गत असोजमै स्थानीयसँगको परामर्शमा टेलरेसको पानी नहरभन्दा माथि नै खस्छ भनेर विश्वास दिलाइए पनि अहिले आएर पुनः विरोध चर्काइएको कम्पनीले जनाएको छ । काम रोकिएपछि अहिले केही कामदारहरू घर फर्केका छन्, बाँकीलाई पनि डर त्रास देखाउने, आतंक फैलाउने काम भइरहेको तर सुरक्षा निकायबाट पनि उचित ध्यान नदिइएको पराजुलीको भनाइ छ ।
निर्माणाधीन जलविद्युत आयोजनाको भएको यस्तो किसिमको क्रियाकलापले ऊर्जा विकासमा नकारात्मक सन्देश गएको पराजुलीले बताए । जलविद्युत आयोजनामा अवरोध गर्ने, काम गर्न नदिने, तोडफोड गर्नेलगायतका कामले लगानीकर्ता, ऊर्जा उत्पादकको मनोबल कमजोर हुने भएकोले यसको दीर्घकालीन समाधान गर्न राज्य तहबाटनै पहल गर्नुपर्ने उनको भनाइ छ । तोडफोड र आगजनीमा स्थानीयरूपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्व रहेका कम्पनीले जनाएको छ ।
आयोजनाका अनुसार राइनास नहरको मुहानभन्दा माथि रहेको चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि उक्त जल विद्युत आयोजनाको पावरहाउस अन्तर्गत टेलरेसबाट जाने पानीको निकास निस्कने स्पष्ट छ । विद्युत विकास विभागले पटक–पटक अध्ययन गरेर दिएको विद्युत उत्पादन अनुमतिपत्र तथा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा पनि चेपे खोला र चिल्ली खोलाको दोभानभन्दा माथि विद्युतगृहबाट निस्कने पानी खसाल्ने उल्लेख छ, यसरी प्रस्ट हुँदा–हुँदै पनि उपकरण जडान गर्ने समयमा विद्युतगृह सार्न दबाब दिइरहेको जनाइएको छ ।
स्थानीयवासीले विद्युतगृह अन्र्तगत जगमा बन्दै गरेका संरचनालाई देखाएर राइनास नहरको मुहानभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको बताइरहेका छन् । तर, प्राविधिक हिसाबले खोला १८० डिग्री घुमेको ठाउँको बीच भागमा आयोजनाका पावरहाउस अन्तर्गतका संरचनाहरू राख्ने भनेर वातावरणीय अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदनमा स्पष्ट रहेको पराजुलीले जानकारी दिए ।
नांगो आँखाले हेर्दा टेलरेसको पानी सिँचाइको नहरभन्दा तल खस्ने देखिए पनि प्राविधिक हिसाबले करिब डेढ सय मिटर माथि नै खसालिने गरी डिजाइन भएको जलविद्युत्विद् डा. कृष्णप्रसाद दुलालले बताए । ‘सिँचाइ मासेर जलविद्युत आयोजना बनाइने होइन, हुन सक्ने विषय पनि होइन्,’ उनले भने, ‘रेगुलेटेड पानी आउने हुँदा यसले सिँचाइलाई थप फाइदा हुन्छ ।’
‘सूचना आदानप्रदानमा कमी वा स्थानीयवासीको बुझाई फरक परेर पनि अहिले अवस्था आएको हुन सक्ने दुलालले बताए । स्थानीयलाई सम्बोधन गरेर नै आयोजना बनाइने हुँदा सांसद, राजनीतिक दल सबैले काम अघि बढाउन सहयोग गर्नुको विकल्प देखिँदैन,’ उनले थपे ।
आगामी ६ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने कम्पनीको योजनामा पछिल्ला गतिविधिले गम्भीर असर परेको देखिन्छ । अहिले ठेकेदार र आयोजनाको गरी साढे ३ करोड रुपैयाँको क्षति भएको र उत्पादनमा हुने ढिलाईका कारण आम्दानीमा पर्ने प्रभावले गर्दा झण्डै थप ३० करोड रुपैयाँको क्षति हुने कम्पनीको अनुमान छ ।
विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनु परेको र एक पक्षीय ढंगले माग पूरा गराउन आयोजनालाई गम्भीर क्षति पुर्याउने गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्ंथा, नेपाल (इपान) का उपाध्यक्ष गणेश कार्कीले बताए । ‘प्रवद्र्धक एवं कर्मचारीहरूलाई मानसिक र भौतिक रूपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले अराजक र उदण्ड गतिविधि हुने गरेका छन्,’ उनले भने, ‘चेपेको घटना त्यसैको निरन्तरता हो ।
‘आयोजनाको काम डिजाइन अनुसार नै भएको छ भन्ने प्रवद्र्धकको दाबी रहेको हुँदा अन्तिम चरणमा सम्पत्तिमा यसरी क्षति गर्न नपाइने उनको भनाइ छ । ‘सरकारले विदेशी आयोजनालाई सुरक्षा निकायको व्यवस्था गरेको छ, हामीले पनि यसको माग गर्यौं तर यसको खासै सुनुवाई हुन सकेको छैन,’ उनले थपे ।
जलविद्युत आयोजनाले गर्दा नहरमा पानी नजाने भन्ने बुझेपछि रिस वा आवेगमा तोडफोड गरेको स्थानीय हरिप्रसाद घिमिरेले बताए ।
‘राज्य तहबाट नहरमा पानी उपलब्ध हुने विश्वास गराए भने हामी कुनै किसिमको अवरोध गर्दैनौं, नहर र जलविद्युत दुवै राष्ट्रिय गौरवका आयोजना हुन्, दुवै राष्ट्रका लागि आवश्यक छन्, त्यसैले दुवै आयोजनाको काम हुनुपर्छ,’ उनले भने, ‘जलविद्युत आयोजना निर्माणले गर्दा सिँचाइमा समस्या आउनु भएन् ।’
गोरखाको सिरानचोक गाउँपालिका–२ कुभिन्डेबेँसीमा निर्माणाधीन आयोजनाले लमजुङको राइनासटार सिँचाइको मुहानभन्दा करिब डेढ सय मिटर तल पानी झार्ने र यसले सिँचाइ आयोजना ठप्प पार्ने भन्दै राइनासवासी आन्दोलित छन् ।
२०७७ माघदेखि आयोजना निर्माण सुरु हुँदा नै सिँचाइको मुहानमाथि पानी झर्ने गरी विद्युतगृह बनाउन आग्रह गर्दा अटेरी गरिएपछि आन्दोलनमा उत्रनु परेको स्थानीयले बताए । आयोजनाले सिरानचोक र दूधपोखरी गाउँपालिकालाई प्रभावित क्षेत्रमा समेटे पनि राइनास नगरपालिकालाई भने नसमेटेको स्थानीयको गुनासो छ । यो सिँचाइ योजनाले अहिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १८ हजार परिवारलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउँदै आएको छ ।
यशाेदा सुनुवार आधा दशकदेखि ऊर्जा तथा जलविद्युत पत्रकारितामा क्रियाशील छन् ।