काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारेका ८ जलविद्युत् आयोजना निर्माणका लागि झण्डै २ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ । निजी ऊर्जा उत्पादक तथा सरकारी निकायले अघि बढाएका १ हजार ३६५ मेगावाटका ती आयोजना निर्माणका लागि उक्त परिमाणको लगानी आवश्यक पर्ने देखिएको हो । चालु आवको साउनदेखि असोजसम्म इआइए तयार पारेको ती आयोजनाले प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएका छन् ।
निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकले १५ देखि ४८० मेगावाटसम्मका नदी प्रवाही, जलाशय र आंशिक जलाशय आयोजनाहरु निर्माणका लागि इआइए प्रतिवेदन तयार पारी स्वीकृतिका लागि मनत्रलयमा आवेदन दिएका हुन् । यसबाहेक यो अवधिमा ३ जलविद्युत् आयोजनाको पूरक इआइए स्वीकृतीका लागि आवेदन परेको छ ।
इआइए प्रतिवेदन अनुसार यी आयोजनाको विकास गर्न १ खर्ब ९८ अर्ब ८५ करोड १ लाख ३३ हजार रुपैयाँ लागत लाग्ने देखिएको हो ।
जलविद्युत् आयोजनामा लगानी जुटाउनु ठूलो चुनौतीको रुपमा रहेको यस क्षेत्रका सरोकारवालाहरूले बताउँदै आएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले हालै गरेको अध्ययन अनुसार ३ हजार ७०० मेगावाटका आयोजना विकास गर्दा ५ वर्षमा झण्डै ५ खर्ब ५५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ । नेपाल–भारतबीच भएको विद्युत् निर्यातको सम्झौता समेत जोड्ने हो भने १० वर्षमा २० खर्ब ५५ अर्ब रुपैयाँ र ऊर्जा दशक (२०७५–८५) को घोषणाअनुसार २५ हजार मेगावाट थप उत्पादन गर्ने भएमा ३७ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्ने इपानको प्रक्षेपण छ ।
इपानले पनि बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनामा लगानी गर्न नसकेको गुनासो गर्दै आएको छ । इपानले बैंक तथा वित्तीय संस्थालाई कुल लगानीको २० प्रतिशत ऊर्जा क्षेत्रमा अनिवार्य लगानी गर्नैपर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दै आएको छ ।
यस्ता छन् इआइए स्वीकृतिका लागि मन्त्रालय पुगे ८ आयोजना
४८० मेगावाटको फुकोट कर्णाली
यो आयोजना आंशिक जलाशयमा आधारित जलविद्युत् आयोजना हो । विद्युत् विकास विभागले अघि बढाएको ४८० मेगावाटको आयोजना कालिकोट जिल्ला भएर बग्ने कर्णाली नदीमा निर्माण हुनेछ ।
प्रस्तावित आयोजनाको जलाशयको लम्बाई करिब ११ किलोमिटर, कुल भण्डारण क्षमता ७९७.८ लाख घनमिटर र लाइभ स्टोरेज क्षमता १४२.९ लाख घनमिटर हुनेछ । आयोजनामा ६०३९.०८ मिटर र ५८७३.७३ मिटर लामो दुई वटा हेडरेस सुरुङ निर्माण हुनेछ ।
आयोजना पूरा भएपछि वार्षिक २५५२.७१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । यो आयोजनाले हिउँदमा ७४४.७९ गिगावाट घण्टा र बर्खायाममा १७०३.८ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ । उत्पादित विद्युत् ४०० केभी प्रसारण लाइनमार्फत भारत निर्यात हुनेछ । आयोजना सम्पन्न गर्न ९२ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसको काम पूरा गरी उत्पादन सुरु गर्न ५ वर्ष लाग्ने अनुमान छ ।
४१७ मेगावाटको नलगाड
नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनामा ८.५ किलोमिटर लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ निर्माण हुनेछन् ।
जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । ४ वटा टर्वाइन जडान हुने आयोजनाको प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट वार्षिक १२८०.४ गिगावाट घण्टा (सुख्खायाममा ६०४.९ गिगावाट घण्टा र वर्षायाममा ६७५.५ गिगावाट घण्टा) विद्युत् उत्पादन हुनेछ ।
उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ११२ किलोमिटर लामो दूरीमा रहेको कोहलपुर सबस्टेसनमा जोडिने छ । प्रस्तावित आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
यो आयोजनाबाट नलगाड नगरपालिका वडा नम्बर २, ५, ७, ८ तथा बारेकोट गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ मा प्रभावित हुनेछ ।
६० मेगावाटको माथिल्लो तमोर
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर–७ मा ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ को निर्माण प्रक्रिया अघि बढाइएको छ । युनियन हाइड्रो पावर लिमिटेडले अघि बढाएको आयोजना सम्पन्न गर्न १२ अर्ब ८५ करोड २१ लाख रुपैयाँ लागत लाग्ने प्रतिवेदनमा उल्लेख छ । जसअनुसार प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ लाग्ने देखिएको छ ।
आयोजना निर्माणका लागि वन क्षेत्रको ११.५९२ हेक्टर स्थायी र ७.५८२ हेक्टर अस्थायी जग्गा अधिग्रहण गरिनेछ । आयोजनामा दुई वटा हेडरेस सुरुङ निर्माण हुनेछ । हेडरेस सुरुङ–१ को लम्बाई १९५४ मिटर रहनेछ भने हेडरेस सुरुङ २ को लम्बाई ४६८६ मिटर लामो हुनेछ ।
यो आयोजनाबाट वार्षिक ३३३.८२२ गिगावाट (सुक्खायाममा १००.३०७ गिगावाट घण्टा र बर्षायाममा २३३.८२२ गिगावाट घण्टा) घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत १५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको २२०÷१३२÷३३ केभी ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
१०६ मेगावाटको जगदुल्ला हाइड्रो
कर्णाली प्रदेशको डोल्पामा १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ ।
आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको कम्पनीले जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घण्टा र हिउँदयाममा १९३.२४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
आयोजना निर्माण गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले कूल लगानीको ७० प्रतिशत अर्थात् १६ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । बाँकी ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी जुटाइनेछ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
१५ मेगावाटको माथिल्लो ब्रह्मयाणी
इन्टिग्रेडेड हाइड्रो फण्ड नेपाल प्रालिले बागमतीको सिन्धुपाल्चोकमा पहिचान गरी १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनाको डिजाइन डिस्चार्ज ४.०२ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ४६३ मिटर र नेट हेड ४४४.४४ मिटर हुनेछ । आयोजनामा २७४३.२६ मिटर हेडरेस सुरुङ, १४८१.७५ मिटर हेडरेस पाइप र ८९० मिटर लामो पेनस्टक पाइपलाइन निर्माण हुनेछ ।
आयोजनाबाट वार्षिक ८९.०९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ६२.३३ गिगावाट घण्टा र सुख्खायाममा २६.७२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५ किलोमिटर दूरीमा रहेको ब्रम्हयाणी जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिनेछ । आयोजनाको काम सम्पन्न गर्न २ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
३६.५२ मेगावाटको ब्रह्मयाणी
ब्रह्मयाणी हाइड्रो पावर कम्पनी प्रालिले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा ३६.५२ मेगावाटको ब्रह्मयाणी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनामा इन्टेक, ग्रावेल ट्रयाप, सेटलिङ बेसिन, डायभर्जन वेयर, हेडरेस पाइप, हेडरेस सुरुङ, सर्ज साफ्ट, विद्युत्गृहलगायतका मुख्य संरचनाहरू हुन् । आयोजनाको इन्टेक लगन खोलाको दायाँ किनारमा र न्याम्या मसाल खोलाको दायाँ किरामा प्रस्ताव गरिएको छ । बाँकी आयोजनाको संरचना बलेफी खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ ।
आयोजना पूरा भएपछि वार्षिक २१६.६६ गिगावाट (१५१.७३ गिगावाट र सुख्खायाममा ६४.९३ गिगावाट घण्टा) घण्टा विद्युत् उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ । उत्पादित विद्युत् १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत १५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको पाङ्टाङ सबस्टेसनमा जोडिने छ । आयोजनाको निर्माण सम्पन्न गर्न ६ अर्ब १५ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
१८८ मेगावाटको सुर्के–दूधकोसी
समिट पावर कम्पनीले सोलुखुम्बुमा १८८ मेगावाटको सुर्के–दूधकोसी निर्माण गर्ने भएको छ । आयोजनाको संरचनाहरू जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा १ र २, माप्य दूधकोसी गाउँपालिकाको वडा नम्बर १, २ र ७ र सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर १ मा निर्माण हुनेछ ।
आयोजनाको लागि १०.९६ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ३१ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको सबै काम पूरा गरी उत्पादन सुरु गर्न ५ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।
आयोजना पूरा भएपछि वार्षिक ११४०.०७५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायाममा ३४२.४८२ गिगावाट घण्टा र वर्षायाममा ७९७.५९२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादन हुने विद्युत् २२० केभी प्रसारण लाइन मार्फत ६५ किलोमिटर दूरीमा रहेको न्यू खिम्ती सबस्टेसनमा जोडिने छ ।
६३ मेगावाटको कोखाजोर
विद्युत् विकास विभागले २७ अर्ब ७४ करोड ९ लाख ४१ हजार रुपैयाँ लागतमा काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लामा ६३ मेगावाटको कोखाजोरको निर्माण प्रक्रिया अघि बढाएको हो । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत ४४ करोड ३ लाख ३२ हजार रुपैयाँ लाग्ने देखिएको छ ।
यो आयोजनाको काम पूरा गर्न ७ वर्ष लाग्नेछ । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को क्षेत्र निर्धारण तथा कार्यसूची ११० मेगावाटमा स्वीकृत भएको थियो । तर, आयोजनाको हाइड्रोलोजिकल विश्लेषण तथा लागत परिवर्तन गर्दा क्षमता बढेर ११६ मेगावाट पुगेको थियो ।
हाइड्रोलोजिकल विश्लेषण परिमार्जन गर्दा प्रस्तावित बाँध क्षेत्रको औसत मासिक बहावमा परिवर्तन भएकोले प्लान्ट अपरेसन मोडलमा परिवर्तन भएको र सो अनुसार जलाशयको प्रवाहमा पनि परिवर्तन हुँदा जडित क्षमता फेरि १०४ मेगावाटमा झर्याे । यो क्षमताको पिकिङ अपरेसन पिरियड ६ घण्टाको रहने र हाल १० घण्टाको पिकिङ अपरेसन हुँदा जडित क्षमता ६३ मेगावाट हुने आयोजनाको लागत कम हुने तर, वार्षिक कुल ऊर्जा उत्पादन १०४ मेगावाट र ६३ मेगावाट जडित क्षमतामा करिब बराबर हुने देखिएकोले आयोजनाको जडित क्षमता ६३ मेगावाट कायम गरिएको हो ।
आयोजना निर्माण पूरा भएपछि वार्षिक ३०५.९३ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् प्रस्तावित स्वीचयार्डदेखि ७ किलोमिटर दूरीमा रहेको फापरबारी सबस्टेसनमा जोडिनेछ ।
यशाेदा सुनुवार आधा दशकदेखि ऊर्जा तथा जलविद्युत पत्रकारितामा क्रियाशील छन् ।