नेपाल जलस्रोतमा धनी देश हो । पछिल्ला वर्षमा जलविद्युत् उत्पादन तीव्ररूपमा बढिरहेको छ । देशको विद्युत् उत्पादन क्षमता ४ हजार मेगावाटभन्दा माथि पुगिसक्यो । आगामी केही वर्षमा यो १० हजार मेगावाटभन्दा माथि पुग्ने अपेक्षा छ । यो देशको आर्थिक विकासका लागि निकै सकारात्मक कुरा हो । प्रश्न यहाँ उत्पादन कति भयो भन्ने मात्र होइन । उत्पादित विद्युत् कति भरपर्दो रूपले निरन्तर उपलब्ध गराउन सकिन्छ रु यो महत्त्वपूर्ण प्रश्न हो ।
मैले विगत एक दशकदेखि निरन्तर जलविद्युत् क्षेत्रमा काम गर्दै आएको छु । आयोजना निर्माणदेखि सञ्चालन तथा मर्मत–सम्भारसम्मको काम गर्ने क्रममा गण्डकी र बागमती प्रदेशका विभिन्न आयोजनामा काम गर्ने अवसर पाएँ । इन्जिनियरका रूपमा तथा विद्युत्–यान्त्रिक पक्षको जिम्मेवारी सम्हाल्दै १० वर्षभन्दा बढी समय आयोजना व्यवस्थापकका रूपमा काम गरेँ । हाल अप्पर तामाकोसी जलविद्युत् केन्द्र सञ्चालन तथा मर्मत(सम्भारको जिम्मेवारीमा छु ।
यस क्रममा मैले नेपालका जलविद्युत् आयोजनाले भोगिरहेका केही साझा समस्या नजिकबाट अनुभव गरेको छु । ती मध्ये सबैभन्दा महत्त्वपूर्ण हो— सानो प्राविधिक समस्याले पनि ठूलो परिमाणमा विद्युत् उत्पादन बन्द गराउन सक्ने अवस्था ।
सानो सामान, ठूलो समस्या
नेपालमा निर्मित धेरै आयोजनाका महत्त्वपूर्ण विद्युतीय तथा यान्त्रिक उपकरण विदेशबाट ल्याइएका छन् । भारत, चीन, जर्मनी, जापान, अस्ट्रिया स्विट्जरल्यान्ड, अस्ट्रेलिया, ताइवान लगायत विभिन्न देशबाट उपकरण तथा त्यसका सामग्री ल्याउनुपर्ने अवस्था छ ।
विदेशबाट सामान ल्याउनु आफैँमा समस्या होइन तर समस्या त्यतिबेला हुन्छ, जब कुनै महत्त्वपूर्ण उपकरणमा प्रयोग हुने सानो सामग्री बिग्रन्छ । त्यो सामग्री नेपालमा उपलब्ध हुँदैन । कल्पना गरौँ, करोडौँ रुपैयाँको एउटा ठूलो विद्युत् उपकरण पूर्णतः ठीक छ तर एउटा सानो नियन्त्रण सामग्री, सेन्सर, रिले, विद्युतीय कार्ड, सिल वा अन्य सानो भाग बिग्रियो । त्यो सामान विदेशबाट ल्याउनुपर्यो । सामान आउन हप्तौँ वा महिनौँ लाग्न सक्छ । परिणामतः करोडौँको उपकरण ठीक हुँदाहुँदै पनि विद्युत् उत्पादन रोक्नुपर्ने अवस्था आउन सक्छ । यसले विद्युत् उत्पादनमा घाटा मात्र गराउँदैन, प्रणालीमै असर पार्न सक्छ ।
समस्याअघि सचेत
हाम्रो मर्मत–सम्भारको अभ्यास धेरै हदसम्म निश्चित समय पुगेपछि उपकरण जाँच गर्ने काम आवश्यकताको आधारमा निहित छ । यसलाई पूर्वनिर्धारित मर्मत–सम्भार भन्न सकिन्छ । अब यतिले पुग्दैन । अबको समयमा अर्को महत्त्वपूर्ण प्रश्न पनि सोध्नुपर्छ( उपकरण बिग्रिनुअघि नै त्यसमा समस्या आउँदैछ भन्ने कसरी थाहा पाउने ?
यही नै पूर्वानुमानमा आधारित मर्मत–सम्भारको अवधारणा हो । उदाहरणतः ठूला ट्रान्सफर्मरको तापक्रम सामान्यभन्दा बिस्तारै बढिरहेको छ । तत्कालै ठूलो समस्या नदेखिन सक्छ । लामो समयको तथ्याङ्क हेर्दा त्यसमा समस्या विकास भइरहेको हुन सक्छ । त्यस्तै जेनेरेटरको बायरिङको तापक्रम, कम्पन, विद्युत् प्रवाह, तापक्रम तथा अन्य अवस्थाको नियमित अभिलेख राखेर विगतसँग तुलना गर्न सकिन्छ । यसरी उपकरणमा समस्या बढ्दै गएको छरछैन भन्ने कुरा समयमै पत्ता लगाउन सकिन्छ ।
कृत्रिम बुद्धिमत्ता
नेपालका धेरै जलविद्युत् आयोजनामा अहिले विभिन्न उपकरणबाट निरन्तर तथ्याङ्क संकलन भइरहेको हुन्छ । नियन्त्रण प्रणालीले तापक्रम, विद्युत् प्रवाह, दबाब, कम्पन, भारलगायत धेरै विषयको जानकारी राखिरहेको हुन्छ । हामीले ती तथ्याङ्कलाई केवल उपकरण हेर्न र सञ्चालन गर्न मात्र प्रयोग गरिरहेका छौँ । त्यसको पूर्ण उपयोग भएको मान्न सकिँदैन । अब ती तथ्याङ्कको आधारमा कृत्रिम बुद्धिमत्ता र आधुनिक तथ्याङ्क विश्लेषण प्रविधिको प्रयोग गरी उपकरणको अवस्था पहिचान गर्ने बिधि अबलम्बन गर्नु आवश्यक देखिन्छ ।
उदाहरणका लागि विगत पाँच वर्षको कुनै जेनेरेटरको तापक्रम, कम्पन र भारको तथ्याङ्क कम्प्युटर प्रणालीमा राखेर विश्लेषण गर्न सकिन्छ । सामान्यतः उपकरण कसरी चल्छ भन्ने प्रणालीले सिक्न सक्छ । त्यसपछि अहिलेको अवस्थामा उपकरणको व्यवहार असामान्य देखियो भने समस्या आउन सक्ने सम्भावनाबारे पहिले नै जानकारी दिन सक्छ । यसले मर्मत टोलीलाई समस्या आउनुअघि नै तयारी गर्ने अवसर दिन्छ । आवश्यक सामान पहिले नै मगाउन सकिन्छ । आवश्यक जनशक्ति तयार राख्न सकिन्छ । उपकरण बन्द गर्नुपर्ने समय पनि योजनाबद्धरूपमा निर्धारण गर्न सकिन्छ । यसबाट अचानक विद्युत् उत्पादन बन्द हुने सम्भावना घटाउन सकिन्छ ।
दक्ष जनशक्ति
हामीले विदेशबाट उपकरण ल्याउन सक्छौँ । उपकरणसँगै त्यसलाई बुझ्ने र मर्मत गर्ने ज्ञान पनि आउनुपर्छ । नेपालमा धेरैजसो आधुनिक नियन्त्रण तथा स्वचालित प्रणाली विदेशी कम्पनीले बनाएका छन् । कुनै समस्या आएमा सम्बन्धित विदेशी कम्पनीकै प्राविधिकमा निर्भर हुनुपर्ने अवस्था अझै धेरै ठाउँमा छ । यसैले उपकरण खरिद गर्दा सम्बन्धित उपकरणमात्र खरिद गर्नु हुँदैन । नेपाली प्राविधिकलाई तालिम, प्राविधिक विवरण, समस्या पहिचान गर्ने उपकरण र आवश्यक ज्ञान पनि हस्तान्तरण हुने व्यवस्था गर्नुपर्छ ।
आज हामीले एउटा उपकरण किनेका छौँ भने त्यसलाई २०–३० वर्षसम्म चलाउनुपर्ने हुन सक्छ । यसैले त्यसको दीर्घकालीन मर्मत–सम्भारको योजना उपकरण खरिद गर्दाकै समयमा बनाउनुपर्छ । साथै, कुनै उपकरणको छनोट गर्दै गर्दा त्यसको भविष्यमा हुने उपलब्धता र कम्पनीको दिर्घकालिन अवस्था समेत मध्यनजर गर्नुपर्ने हुन्छ ।
सामग्री भण्डारण
जलविद्युत् केन्द्रले आफ्ना सबै सामग्रीको समानरूपमा भण्डारण गर्न आवश्यक छैन । कुन सामग्री बिग्रिँदा विद्युत् उत्पादन नै रोक्नुपर्छ भन्ने पहिचान गर्नुपर्छ । यस्ता सामग्री अत्यावश्यकरूपमा छुट्याएर पर्याप्त मात्रामा भण्डारण गर्न सकिन्छ ।
कुन सामग्री विदेशबाट आउन धेरै समय लाग्छ रु कुनको विकल्प छैन रु कुन सामग्री बिग्रिँदा पूरै विद्युत् उत्पादन बन्द हुन्छ रु कुन सामग्री पुरानो हुँदै गएको छ र भविष्यमा उत्पादन हुन छाड्न सक्छ रु यी प्रश्नको उत्तर पहिले नै खोज्नुपर्छ ।
एउटा सामान्य सामग्रीका कारण महिनौँसम्म आयोजना बन्द हुने अवस्था आउँछ भने त्यो उचित भण्डारणमा गरिएको खर्च वास्तवमा खर्च नभई विद्युत् उत्पादन जोगाउने लगानी हो ।
राज्य तथा निजी क्षेत्र
नेपालको विद्युत् प्रणाली भरपर्दो बनाउने जिम्मेवारी कुनै एउटा संस्था वा आयोजनाको मात्र होइन । सरकारले आवश्यक नीति बनाउनुपर्छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको समग्र विश्वसनीयतालाई प्राथमिकतामा राख्नुपर्छ । निजी जलविद्युत् आयोजनाले पनि केवल विद्युत उत्पादन सुरु गर्ने कुरामा मात्र सफलता नठानी दीर्घकालीन रूपमा भरपर्दो सञ्चालनलाई प्राथमिकता दिनुपर्छ ।
नेपालमा सञ्चालनरत आयोजनाबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने प्रणाली पनि विकास गर्न सकिन्छ । कुनमा कस्तो समस्या आयो रु किन आयो रु कसरी समाधान गरियो रु कुन सामग्रीको अभाव भयो रु भविष्यमा यसलाई कसरी रोक्ने रु यस्ता अनुभव एकबाट अर्को आयोजनाले सिक्न सके एउटै समस्या बारम्बार दोहोरिनबाट रोक्न सकिन्छ ।
भरपर्दो आपूर्ति
नेपालमा विद्युत् उत्पादन बढिरहेको छ । यो खुसीको विषय हो । उत्पादन क्षमता बढ्दै जाँदा प्रणालीको विश्वसनीयता पनि बढाउनुपर्छ । घरमा बत्ती बाल्नेदेखि उद्योग सञ्चालनसम्म विद्युत्को नियमित आपूर्ति आवश्यक छ । विद्युत् भरपर्दो भएन भने उद्योगको उत्पादन रोकिन्छ, व्यापारमा असर पर्छ, रोजगारीमा असर पर्छ र समग्र अर्थतन्त्रमा असर पर्न सक्छ । त्यसैले जलविद्युत् आयोजनाको मर्मत–सम्भारलाई केवल प्राविधिक विषयका रूपमा हेर्नु हुँदैन । यो देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो ।
अबको दिशा
नेपालले अब जलविद्युत् निर्माणको चरणसँगै भरपर्दो सञ्चालनको चरणमा प्रवेश गर्नुपर्छ । क्रमशः समस्या आएपछि मर्मत गर्ने प्रणालीबाट पहिला नै समस्या पहिचान गर्नेतर्फ जानुपर्छ । यसका लागि उपकरणको नियमित अवस्था परीक्षण, तथ्याङ्कको व्यवस्थित अभिलेख, अत्यावश्यक सामग्रीको भण्डारण, दक्ष जनशक्ति, आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । नेपालले सबै प्रकारका विद्युतीय तथा यान्त्रिक उपकरण तत्काल आफैँ उत्पादन गर्न नसक्ला ।
ती उपकरणको अवस्था बुझ्ने, समस्या पहिचान गर्ने, समयमै मर्मत गर्ने र सम्भावित समस्या आउनुअघि नै त्यसको पूर्वानुमान गर्ने दक्ष जनशक्ति भने नेपालमै तयार गर्न सकिन्छ । मेरो लामो समयको जलविद्युत् क्षेत्रको अनुभवले देखाएको एउटा महत्त्वपूर्ण कुरा यही हो, ठूला उपकरणभन्दा कहिलेकाहीँ साना सामानको अभावले ठूलो क्षति पुर्याउँछ ।
त्यसैले समस्यापछि समाधान खोज्ने भन्दा त्यसअघि नै सम्भावना पहिचान गर्नु बुद्धिमानी हुन्छ । नेपालले अब धेरै विद्युत् उत्पादन गर्ने मात्र होइन । भरपर्दो, निरन्तर र गुणस्तरीय विद्युत् उत्पादन गर्ने देश बन्ने लक्ष्य लिनुपर्छ । जलविद्युतको भविष्य केवल नयाँ आयोजना निर्माणमा होइन, निर्माण भइसकेका आयोजनालाई अझ सुरक्षित, भरपर्दो र बुद्धिमत्तापूर्ण ढङ्गले सञ्चालन गर्न सक्ने क्षमतामा निर्भर छ ।
भारतीय प्रणालीसँगको निर्भरता
नेपालको विद्युत् प्रणाली अब छिमेकी भारतको विद्युत् प्रणालीसँग समेत अन्तरसम्बन्धित भइसकेको अवस्था छ । सीमापार विद्युत् आदानप्रदान र प्रसारण सञ्जाल विस्तार हुँदै जाँदा नेपालको विद्युत् प्रणालीको विश्वसनीयता र गुणस्तरको महत्त्व अझ बढेको छ । अन्तरसम्बन्धित विद्युत् प्रणालीमा एउटा स्थानमा देखिएको प्राविधिक समस्या अर्को प्रणालीमा समेत असर पार्न सक्छ ।
त्यसैले नेपालले विद्युत् उत्पादनको परिमाण बढाउने मात्र होइन, आफ्नो उत्पादन, प्रसारण र वितरण प्रणाली अझ सुरक्षित, स्थिर र भरपर्दो बनाउनेतर्फ ध्यान दिनुपर्छ । यसका लागि अत्याधुनिक उपकरण जडान गर्नु मात्र पर्याप्त हुँदैन । ती उपकरणको नियमित परीक्षण, अवस्था अनुगमन, मर्मत–सम्भार, सुरक्षा, तथ्याङ्क विश्लेषण र समस्या आउनुअघि नै त्यसको सङ्केत पहिचान गर्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ ।
विद्युत्गृहको स्वास्थ्य
आयोजना निर्माण गर्दा ठूलो लगानी गरिएको हुन्छ र त्यसलाई लामो समयसम्म सञ्चालन गर्ने उद्देश्य राखिएको हुन्छ । कुनै मेसिन निरन्तर चलिरहँदा घर्षण, तापक्रम, कम्पन, दबाब र वातावरणीय प्रभावका कारण क्रमशः कमजोर हुँदै जान सक्छ ।
मुख्य उपकरणसँगै त्यसमा जडान गरिएका सहायक उपकरण, क्षेत्रीय मापन उपकरण, नियन्त्रण प्रणाली, सञ्चार प्रणाली तथा सुरक्षा प्रणालीमा पनि समस्या आउन सक्छ । एउटा सानो उपकरण बिग्रिँदा समेत ठूलो उत्पादन प्रणाली प्रभावित हुन सक्छ । यसैले जलविद्युत् गृहलाई पनि मानिसको स्वास्थ्यजस्तै नियमित रूपमा ‘स्वास्थ्य परीक्षण’ गर्नुपर्ने हुन्छ । ट्रान्सफर्मर, जेनेरेटर, टर्बाइन, बेयरिङ, सुरक्षा प्रणाली, नियन्त्रण प्रणाली तथा अन्य महत्त्वपूर्ण उपकरणको अवस्था नियमित परीक्षण र मूल्याङ्कन गर्नुपर्छ । आजको अवस्था हिजोको अवस्थासँग तुलना गर्नुपर्छ । कुनै उपकरणको तापक्रम, कम्पन, भार वा अन्य मापदण्ड लामो समयदेखि बिस्तारै परिवर्तन भइरहेको छ भने त्यो भविष्यको समस्याको सङ्केत हुन सक्छ ।
विकल्पसहितको मर्मत–सम्भार
निश्चित समय पुगेपछि उपकरण खोल्ने, परीक्षण गर्ने र आवश्यक सामग्री परिवर्तन गर्ने पूर्वनिर्धारित मर्मत–सम्भार आवश्यक छ तर आधुनिक विद्युत् प्रणालीका लागि यसमा मात्र निर्भर रहनु पर्याप्त हुँदैन । अब हामीले प्रश्न गर्नुपर्छ– कुन उपकरणको स्वास्थ्य कमजोर हुँदैछ रु समस्या आउनुअघि त्यसको सङ्केत के देखिएको छ रु कुन उपकरणमा जोखिम बढिरहेको छ रु कुन सामग्री पहिले नै तयारी अवस्थामा राख्नुपर्छ रु यही कारणले पूर्वानुमानमा आधारित मर्मत–सम्भारलाई अब जलविद्युत् सञ्चालनको महत्त्वपूर्ण हिस्सा बनाउनुपर्छ । कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट वर्षौँदेखि सङ्कलन भएका तापक्रम, कम्पन, भार, विद्युत् प्रवाह, दबाब, तेल परीक्षण तथा अन्य तथ्याङ्कको विश्लेषण गर्न सकिन्छ । उपकरण सामान्य अवस्थामा कसरी चल्छ भन्ने प्रणालीले सिकेपछि असामान्य परिवर्तन देखिँदा प्रारम्भिक चेतावनी दिने व्यवस्था गर्न सकिन्छ । यसबाट उपकरण पूर्ण रूपमा बिग्रिएपछि मर्मत गर्नुपर्ने अवस्था घटाउन सकिन्छ । आवश्यक सामग्री पहिले नै मगाउन, दक्ष जनशक्ति तयार गर्न र मर्मतको उपयुक्त समय निर्धारण गर्न सकिन्छ ।
ऊर्जा र प्राविधिक लेखापरीक्षण
विद्युत् प्रणालीको विश्वसनीयताका लागि ऊर्जा लेखापरीक्षण र प्राविधिक लेखापरीक्षणलाई पनि सञ्चालन तथा मर्मत–सम्भारको महत्त्वपूर्ण हिस्सा बनाउन आवश्यक छ । ऊर्जा लेखापरीक्षणबाट जलविद्युत्गृहभित्र हुने विद्युत् खपत, आफ्नै प्रयोजनमा प्रयोग हुने ऊर्जा, उपकरणको कार्यक्षमता र सम्भावित ऊर्जा क्षतिको अध्ययन गर्न सकिन्छ । यसबाट अनावश्यक ऊर्जा खपत र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग पुग्छ । त्यस्तै प्राविधिक लेखापरीक्षणबाट मुख्य विद्युतीय तथा यान्त्रिक उपकरण, सुरक्षा, नियन्त्रण, सञ्चार जस्ता प्रणाली मर्मत–सम्भारको अवस्था, परीक्षण अभिलेख र अत्यावश्यक सामग्रीको उपलब्धता जस्ता विषयको मूल्याङ्कन गर्न सकिन्छ । यस्तो परीक्षण आयोजनाको प्रकृति र महत्त्वअनुसार वार्षिक वा निश्चित अवधिमा नियमितरूपमा गर्न सकिने व्यवस्था आवश्यक छ । यसबाट कुन आयोजना स्वस्थ छ, कुन उपकरण कमजोर हुँदैछ र कहाँ तत्काल सुधार आवश्यक छ भन्ने स्पष्ट जानकारी प्राप्त हुन्छ ।
अनुगमन
नयाँ जलविद्युत् आयोजना निर्माण गर्न जति ध्यान दिइन्छ, निर्माण भइसकेका आयोजनाको दीर्घकालीन स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनुपर्दछ । यसका लागि सम्बन्धित निकायले जलविद्युत् आयोजनाको नियमित प्राविधिक मूल्याङ्कन र प्रमाणीकरण गर्ने व्यवस्था विकास गर्न सक्छ । आयोजना कस्तो अवस्थामा सञ्चालन भइरहेको छ, मुख्य उपकरणको स्वास्थ्य कस्तो छ, सुरक्षा प्रणालीले आवश्यक मापदण्ड पूरा गरेको छ कि छैन, मर्मत–सम्भार पर्याप्त छ कि छैन र आगामी वर्षमा कुन उपकरणमा ठूलो जोखिम आउन सक्छ भन्ने विषयको मूल्याङ्कन आवश्यक छ । सम्भव भएसम्म यस्तो मूल्याङ्कन नियमित रूपमा र ठूला तथा प्रणालीका लागि महत्त्वपूर्ण आयोजनामा अझ कडाइका साथ गर्नुपर्छ । यसले सरकारी तथा निजी दुवै क्षेत्रका जलविद्युत् आयोजनाको विश्वसनीयता बढाउन सहयोग पुर्याउँछ ।
दक्ष जनशक्ति
नेपालमा धेरैजसो महत्त्वपूर्ण उपकरण विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । त्यसैले, उपकरण खरिदसँगै त्यसका अत्यावश्यक पार्टपूर्जाको व्यवस्थापन र मर्मत–सम्भारको ज्ञान पनि सुनिश्चित गर्नुपर्छ । कुन उपकरण बिग्रिँदा पूरा उत्पादन एकाइ बन्द हुन्छ रु कुन विदेशबाट ल्याउन धेरै समय लाग्छ रु कुन उपकरणको विकल्प उपलब्ध छैन रु कुन उपकरण पुरानो हुँदै गएको छ । भविष्यमा त्यसका सामग्री पाउन कठिन हुन्छ रु यी प्रश्नको उत्तर पहिल्यै खोज्नुपर्छ । अत्यावश्यक सामग्रीको उचित भण्डारण गर्नु खर्च मात्र होइन, विद्युत् उत्पादन जोगाउने लगानी हो । त्यसैगरी, विदेशी उपकरण प्रयोग गर्दा नेपाली इन्जिनियर तथा प्राविधिकलाई पर्याप्त तालिम, प्राविधिक विवरण, परीक्षण विधि र समस्या समाधान गर्ने ज्ञान हस्तान्तरण हुनुपर्छ । सानो समस्या समाधान गर्न पनि विदेशबाट प्राविधिक आउनुपर्ने अवस्था क्रमशः घटाउनु आवश्यक छ ।
एक–अर्काबीच सिकाइ
नेपालमा धेरै जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् । हरेक आयोजनाले आफ्नै अनुभवबाट धेरै कुरा सिकेका छन् तर एउटा आयोजनामा आएको समस्या अर्कोले पनि दोहोर्याउनु हुँदैन । कुन उपकरणमा किन र कसरी समस्या आयो, कसरी समाधान गरियो, कुन सामग्री आवश्यक पर्यो, कति समय लाग्यो र भविष्यमा त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयको व्यवस्थित अभिलेख राख्न सकिन्छ । त्यस्ता अनुभवलाई सम्बन्धित आयोजना, नेपाल विद्युत् प्राधिकरण, निजी ऊर्जा उत्पादक तथा प्राविधिक संस्थाबीच आदानप्रदान गर्ने प्रणाली विकास गर्न सकिन्छ । यसरी, ुएकले गरेको कामबाट अर्कोले सिक्नेु संस्कार विकास हुन्छ र नेपालको सामूहिक प्राविधिक क्षमता बलियो हुन्छ ।
भविष्यमा सञ्चालनमा रहेका महत्त्वपूर्ण जलविद्युत् आयोजनाको प्राविधिक अवस्था एकीकृत रूपमा बुझ्न सकिने सूचना संरचना विकास गर्न सकिन्छ । कुन आयोजना सञ्चालनमा छ, कुन एकाइ मर्मतमा छ, कुन उपकरणमा जोखिम बढिरहेको छ, कुन आयोजनामा अत्यावश्यक सामग्रीको अभाव छ, कुन उपकरण पुरानो हुँदै गएको छ र कुन आयोजनाबाट उत्पादन घट्ने जोखिम छ भन्ने जानकारी व्यवस्थित रूपमा उपलब्ध भएमा सम्बन्धित निकायले समयमै निर्णय लिन सक्छ । यसको उद्देश्य सबै आयोजनाको दैनिक सञ्चालन एउटै ठाउँबाट नियन्त्रण गर्नु होइन । उद्देश्य भनेको जोखिम पहिचान, प्राविधिक अवस्था मूल्याङ्कन, आवश्यक समन्वय र राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउन आवश्यक जानकारी उपलब्ध गराउनु हो ।
भरपर्दो विद्युत्
नेपालको ऊर्जा क्षेत्र अब नयाँ चरणमा प्रवेश गरिरहेको छ । नयाँ जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ तर निर्माण भइसकेका आयोजनाको दीर्घकालीन स्वास्थ्य पनि राष्ट्रिय ऊर्जा नीतिको महत्त्वपूर्ण हिस्सा बन्नुपर्छ ।जनता, बैंक, निजी क्षेत्र र राज्यको ठूलो लगानीबाट बनेका आयोजनाले लामो समयसम्म नियमित उत्पादन गर्न सके मात्र त्यो लगानीको वास्तविक प्रतिफल प्राप्त हुन्छ । त्यसैले, उत्पादन क्षमतासँगै सञ्चालन तथा मर्मत–सम्भारको गुणस्तर बढाउनु अपरिहार्य छ । अबको मुख्य ध्यान विद्युत् केन्द्रको सञ्चालन तथा मर्मत–सम्भारलाई सरल, वैज्ञानिक, व्यवस्थित र विश्वसनीय बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । पूर्वनिर्धारित मर्मत–सम्भारसँगै पूर्वानुमानमा आधारित मर्मत–सम्भार, कृत्रिम बुद्धिमत्तामा आधारित उपकरण स्वास्थ्य अनुगमन, ऊर्जा लेखापरीक्षण, प्राविधिक लेखापरीक्षण, अत्यावश्यक सामग्रीको व्यवस्थापन र दक्ष जनशक्ति विकासलाई एउटै समग्र प्रणालीका रूपमा अघि बढाउनुपर्छ । अन्ततः हाम्रो लक्ष्य केवल धेरै मेगावाट उत्पादन गर्नु होइनस जनतालाई सरल, सुलभ, गुणस्तरीय र विश्वसनीय विद्युत् उपलब्ध गराउनु हो ।
नियमित सञ्चालन महत्त्वपूर्ण
मेरो लामो समयको जलविद्युत् क्षेत्रको अनुभवले देखाएको एउटा महत्त्वपूर्ण सत्य हो– ठूलो विद्युत्गृहलाई कहिलेकाहीँ ठूलो उपकरणले होइन, एउटा सानो सामग्रीको अभावले पनि रोक्न सक्छ । त्यसैले, समस्या आएपछि समाधान खोज्नेभन्दा समस्या आउनुअघि नै त्यसको सम्भावना पहिचान गर्नु बुद्धिमानी हुन्छ । नेपालको विद्युत् प्रणाली छिमेकी मुलुकसँग अन्तरसम्बन्धित हुँदै गएको अवस्थामा विश्वसनीयताको महत्त्व झन् बढेको छ ।
नियमित तथा पूर्वानुमानमा आधारित मर्मत–सम्भार, कृत्रिम बुद्धिमत्ताको प्रयोग, ऊर्जा लेखापरीक्षण, प्राविधिक लेखापरीक्षण, उपकरणको स्वास्थ्य अनुगमन, अत्यावश्यक सामग्रीको समयमै व्यवस्थापन र दक्ष नेपाली जनशक्तिको विकासलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ । यसो गर्न सके विद्युत् उत्पादनमा हुने क्षति न्यून गरी लगानी सुरक्षित गर्न र राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउन सकिन्छ । नेपालको ऊर्जा भविष्य केवल नयाँ विद्युत्गृहको बढ्दो सङ्ख्यामा होइन, सुरक्षित, स्वस्थ र भरपर्दोरूपमा कति वर्षसम्म सञ्चालन गर्न सक्छौँ भन्नेमा निर्भर रहन्छ ।
दाहाल, विगत १२ वर्षदेखि विद्युत्गृह सञ्चालन तथा मर्मत सम्भारमा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएका छन् ।
शिवप्रसाद दाहाल, विगत १२ वर्षदेखी विद्युत्‌गृह सञ्चालन तथा मर्मत सम्भारमा व्यवस्थापकीय भूमिकामा काम गर्दै आएका छन् ।