विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २१, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपालले पछिल्लो समय भोगेको विनाशकारी बाढी, पहिरो र नदीको असामान्य बहावले हामीलाई एउटा गम्भीर प्रश्नसामु उभ्याएको छ । के हाम्रो विकास प्रणाली बदलिँदो प्राकृतिक जोखिम अनुसार तयार छ ? भोटेकोसी तथा त्रिशूली नदी कोरिडोरमा पर्ने रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको क्षतिले केवल तत्कालीन विपद्को पीडा मात्र देखाएको छैन । यसले आगामी पुस्ताका लागि विकासको शैली र प्राथमिकता पुनर्विचार गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ ।

नयाँ दृष्टिकोण

नेपालका हिमाली क्षेत्रमा सयौँ हिमताल छन् । विश्वव्यापी तापक्रम वृदद्धिसँगै हिमनदी पग्लने क्रम बढ्दै जाँदा हिमतालको आकार र जोखिम पनि बढ्न सक्छ । हिमपहिरो, चट्टान खस्ने वा हिमताल फुट्ने जस्ता घटनाले एकैपटक ठूलो परिमाणमा पानी तलतिर पठाउन सक्छन् । यस्ता घटनाको प्रभाव नदीकिनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा अत्यन्त गम्भीर हुन सक्छ । प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न सकिँदैन तर जोखिम पहिचान, भरपर्दो  पूर्वसूचना प्रणाली, सुरक्षित स्थान छनोट, वैज्ञानिक डिजाइन र आपत्कालीन तयारीमार्फत मानवीय तथा भौतिक क्षति निकै घटाउन सकिन्छ ।

नेपालका अधिकांश ठूला नदीहरू हिमालयबाट उत्पत्ति हुन्छन् । नदीकिनार हुँदै सडक निर्माण गर्दा दूरी छोटो हुने, निर्माण लागत कम हुने र यातायात सहज हुने भएकाले धेरै सडक नदीसँगै निर्माण गरिएका छन् । सडक पुगेपछि त्यसको आसपास बस्ती, बजार र अन्य संरचना पनि विस्तार हुँदै जान्छन् । यसले नदीकिनारको जोखिमलाई झन् बढाएको छ । त्यसो हुँदा अब सडकको नयाँ अवधारणा आवश्यक छ । सडक बनाउँदा केवल आजको लागत र दूरी होइन, भविष्यको बाढी, पहिरो, नदी कटान, हिमताल विस्फोट तथा जलवायुजन्य जोखिमसमेत मूल्याङ्कन गर्नुपर्ने भएको छ । जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तारलाई नियन्त्रण गर्ने र सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकास गर्ने नीति आवश्यक छ ।

नेपालको आर्थिक विकासमा जलविद्युतको योगदान अत्यन्त महत्त्वपूर्ण छ । जलविद्युत् आयोजनामा ठूलो लगानी हुन्छ र तिनको आयु दशकौँसम्म रहन्छ । त्यसैले, आयोजना निर्माण गर्दा केवल उत्पादन क्षमता, लागत र समयलाई मात्र प्राथमिकता दिएर पुग्दैन, मानव जीवन र सम्पत्तिको सुरक्षा पनि डिजाइनको आधारभूत हिस्सा बन्नुपर्दछ ।

बाँध, मुहान, पानी प्रवेश गर्ने द्वार जस्ता केही संरचना नदीमै वा नदीसँगै निर्माण गर्नुपर्ने हुन्छ । ती संरचनालाई नदीबाट पूर्ण रूपमा अलग गर्न सम्भव नहुन सक्छ तर कर्मचारी आवास, श्रमिक शिविर, गोदाम, कार्यालय तथा अन्य सहायक संरचना सकेसम्म सुरक्षित र उच्च भूभागमा राख्न सकिन्छ । श्रमिक तथा कर्मचारी शिविरको सुरक्षित उचाइ कुनै एउटै निश्चित मापदण्डबाट निर्धारण गर्नु उचित हुँदैन ।

आयोजना विशेषको अधिकतम सम्भावित बाढीको तह, नदीको बाढी क्षेत्र, पहिरोको जोखिम, भूगर्भीय अवस्था र निकास प्रणालीको अध्ययनका आधारमा सुरक्षित स्थान निर्धारण गरिनुपर्छ ।  भूमिगत विद्युत्‌गृह सतहीका तुलनामा बाहिरी वातावरणमा देखिनेलगायत केही जोखिमबाट सुरक्षित हुन्छ तर यसको अर्थ सम्पूर्ण आयोजना जोखिममुक्त हुन्छ भन्ने होइन । विशेषगरी विद्युत्‌गृहसम्म पुग्ने पहुँच सुरुङ र त्यसको प्रवेशद्वार अत्यन्त संवेदनशील संरचना बन्न सक्छ ।

आयोजना निर्माणकै चरणमा भूमिगत विद्युत्‌गृहबाट सुरक्षित र उच्च स्थानसम्म पुग्ने गरी छुट्टै खाली पाइप वा नली राखेर त्यसलाई भविष्यमा सञ्चार तार, प्रकाशीय रेखा वा अन्य आपत्कालीन सञ्चार साधनका लागि प्रयोग गर्न सकिने व्यवस्थाबारे अध्ययन गर्न सकिन्छ ।

यदि अत्यधिक बाढीको पानीसँगै ढुङ्‌गा, माटो, लेदो तथा अन्य पदार्थ पहुँच सुरुङमा प्रवेश गरे र सुरुङबाट गहिराइमा रहेको विद्युत्‌गृहसम्म पुग्यो भने त्यहाँ ठूलो मात्रामा पानी तथा गेग्रान थुप्रिन सक्छ । यसले टर्बाइन, जेनेरेटर, केबल, नियन्त्रण प्रणाली, स्विचगियर तथा अन्य महत्त्वपूर्ण उपकरणमा गम्भीर क्षति पुर्‍याउनुका साथै मानव जीवनमा समेत ठूलो जोखिम निम्त्याउन सक्छ ।  त्यसैले, पहुँच सुरुङको प्रवेशद्वार सम्भावित चरम बाढीको तहभन्दा पर्याप्त सुरक्षित उचाइमा राख्ने, नदीको प्रत्यक्ष बहाब प्रवेश गर्न नसक्ने गरी स्थान र दिशा निर्धारण गर्ने, पानी निकास तथा बाढी नियन्त्रण संरचना प्रभावकारी हुने गरी निर्माण गर्ने जस्ता उपाय अपनाउन सकिन्छ । आवश्यकताअनुसार पानी रोक्ने ढोका तथा आपत्कालीन बन्द प्रणालीको व्यवस्था गर्ने विषयलाई आयोजनाको प्रारम्भिक डिजाइनमै समेटिनुपर्दछ ।

निर्माण अवधिमा प्रयोग हुने सहायक सुरुङ र सञ्चालन अवधिमा कर्मचारी तथा मर्मत–सम्भारका लागि प्रयोग हुने मुख्य पहुँच सुरुङको जोखिम पनि अलग-अलग मूल्याङ्कन गर्नुपर्दछ । आयोजना निर्माण सकिएपछि पनि मुख्य पहुँच सुरुङ आपत्कालीन अवस्थामा सुरक्षित रहन सक्ने गरी पुनः परीक्षण र मूल्याङ्कन गरिनुपर्दछ । ठूला भूमिगत संरचनामा विपद्का बेला बाहिरी संसारसँग सम्पर्क कायम रहनु जीवनरक्षाका हिसाबले महत्त्वपूर्ण हुनसक्छ तर सामान्य सञ्चार प्रणाली बाढी, पहिरो वा सुरुङको प्रवेशद्वार अवरुद्ध हुँदा बन्द हुन सक्छ । यस्तो अवस्थाका लागि वैकल्पिक सञ्चार मार्गको अवधारणा विकास गर्न सकिन्छ ।

आयोजना निर्माणकै चरणमा भूमिगत विद्युत्‌गृहबाट सुरक्षित र उच्च स्थानसम्म पुग्ने गरी छुट्टै खाली पाइप वा नली राखेर त्यसलाई भविष्यमा सञ्चार तार, प्रकाशीय रेखा वा अन्य आपत्कालीन सञ्चार साधनका लागि प्रयोग गर्न सकिने व्यवस्थाबारे अध्ययन गर्न सकिन्छ । यस्तो संरचनालाई आवश्यक सुरक्षा परीक्षणपछि आपत्‌‌कालीन अक्सिजन आपूर्तिका लागि प्रयोग गर्न मिल्ने गरी छुट्टै प्राविधिक डिजाइन पनि अध्ययन गर्न सकिन्छ । सञ्चारका लागि राखिएको सामान्य पाइपलाई स्वतः जीवनरक्षक अक्सिजन प्रणाली मान्न भने मिल्दैन, त्यसका लागि छुट्टै प्राविधिक मापदण्ड, क्षमता र सुरक्षा परीक्षण आवश्यक हुन्छ ।

सरकारले के गर्ने ?

सरकारले जलविद्युत् आयोजना तथा अन्य ठूला पूर्वाधारका लागि स्पष्ट, वैज्ञानिक र अनिवार्य सुरक्षा निर्देशिका बनाउनुपर्दछ । आयोजना निर्माण स्वीकृति दिँदा आर्थिक तथा वित्तीय पक्षसँगै बाढी, पहिरो, हिमताल विस्फोट, नदी कटान, भूकम्पसहितका प्राकृतिक जोखिमको विस्तृत मूल्याङ्कन अनिवार्य गरिनुपर्छ ।  निर्माणपछि पनि सुरक्षा परीक्षणलाई एक पटकको औपचारिक प्रक्रियामा सीमित राख्नु हुँदैन । नियमित प्राविधिक परीक्षण, जोखिम पुनर्मूल्याङ्कन, आपत्कालीन अभ्यास, पूर्वसूचना प्रणाली, उद्धार सामग्री, वैकल्पिक सञ्चार र सुरक्षित निकास मार्गको अवस्था निरन्तर जाँच गरिनुपर्दछ ।

पुराना आयोजनाको हकमा पनि नयाँ जोखिमका आधारमा पुनर्मूल्याङ्कन आवश्यक छ । जलवायु परिवर्तनसँगै विगतमा सामान्य मानिएको बाढीको स्तर भविष्यमा असामान्य बन्न सक्छ । त्यसैले, पुरानो तथ्याङ्कमा मात्र निर्भर भएर सुरक्षा सुनिश्चित भएको मान्न सकिँदैन । यसका लागि नयाँ तथ्यतथ्याङ्हरूको खोज गरी कार्यान्वयनमा ल्याउनुपर्दछ ।

जलवायु न्याय

विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त नगण्य वा न्यून भूमिका रहे पनि जलवायु परिवर्तनका प्रभावबाट भने नेपाल गम्भीर रूपमा प्रभावित भइरहेको छ । हिमनदी पग्लनु, हिमतालको जोखिम बढ्नु, अनियमित वर्षा, बाढी तथा पहिरोको तीव्रता बढ्नु नेपालका लागि वास्तविक चुनौती बनेका छन् । त्यसैले, नेपालले संयुक्त राष्ट्रसङ्‌घ तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र बहुपक्षीय संयन्त्रमा आफ्नो आवाज अझ बलियो बनाउनुपर्छ । नेपालले केवल राहत र उद्धारको माग मात्र होइन, जलवायुजन्य क्षतिको पूर्ति, अनुकूलनका लागि वित्तीय सहयोग, पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण प्रविधि तथा जलवायु–अनुकूलका पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग माग्न हिचकिचाउनु हुँदैन ।

प्राविधिकको मनोबल उकासौँ

विपत्‌का बेला हजारौँ इन्जिनियर, प्राविधिक, कर्मचारी र श्रमिक आफ्नो ज्यान जोखिममा राखेर आयोजना सञ्चालन, उद्धार तथा मर्मत–सम्भारमा खटिएका हुन्छन् । उनीहरू स्वयंका घरपरिवारसमेत विपत् प्रभावित भइरहेका हुन सक्छन् । यस्तो अवस्थामा पनि उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन् । त्यसो हुँदा प्राविधिक जनशक्तिको सुरक्षा र मनोबललाई राष्ट्रिय सम्पत्तिका रूपमा लिनुपर्छ । राज्य र सम्बन्धित संस्थाले उनीहरूको कार्यस्थल सुरक्षा, परिवारको सहयोग, आवश्यक मनोसामाजिक सहारामा ध्यान दिएर आपत्कालीन अवस्थामा सुरक्षित भई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ ।

यो विपत्‌ले हामीलाई विकास रोक्नु भनेको होइन; विकास गर्ने तरिका बदल्न निर्देशन दिएको छ । अब सस्तोभन्दा सुरक्षित, प्रतिक्रियाभन्दा पूर्वतयारी, जोखिम बेवास्ताभन्दा जोखिम व्यवस्थापन र परम्परागत पूर्वाधारभन्दा विपत्‌को सामना गर्न सक्ने पूर्वाधार निर्माणतर्फ अघि बढ्नुपर्दछ ।

प्रकृतिसँग प्रतिस्पर्धा गरेर विकास गर्न सकिँदैन । प्रकृतिको स्वभाव, भूगोल र जोखिम बुझेर मात्र दिगो विकास गर्न सकिन्छ । लागत र समय केही बढोस् तर मानव जीवन जोखिममा पर्ने गरी कुनै सम्झौता नगरौँ । किनकि, मानव जीवन बचाउँदै समृद्ध बनाउन गरिने भन्दा ठूलो लगानी अरू हुन सक्दैन ।

विगत १२ वर्षदेखि निरन्तर विद्युत्‌गृहको निर्माण, सञ्चालन तथा मर्मत सम्भारमा  व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएका दाहाल पेशाले इलेक्ट्रिकल इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस

शिवप्रसाद दाहाल

शिवप्रसाद दाहाल, विगत १२ वर्षदेखी विद्युत्‌गृह सञ्चालन तथा मर्मत सम्भारमा व्यवस्थापकीय भूमिकामा काम गर्दै आएका छन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३