काठमाडौँ । सन् २०२५ मा ६९० गिगावाट विश्वव्यापी नवीकरणीय ऊर्जा उत्पादन क्षमता थपिएको छ । योसँगै उक्त वर्षको अन्त्यसम्ममा यस्तो ऊर्जाको विश्वव्यापी कुल जडित क्षमता ५.१५ टेरावाट पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, गत वर्ष नवीकरणीय ऊर्जाको जडित क्षमता बढे पनि हरित ऊर्जा पहलअन्तर्गत विश्वभरका राष्ट्रहरूले गरेका प्रतिबद्धताहरू पूरा गर्न आवश्यक ११.२ टेरावाट नवीकरणीय उर्जा उत्पादनको लक्ष्य राखिएको थियो तर त्यसको आधाभन्दा पनि कममात्र क्षमता थपिएको हो ।
सन् २०२३ मा दुबईमा सम्पन्न 'कोप २८' जलवायु सम्मेलनमा १०० भन्दा बढी देशहरू सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा क्षमता तेब्बर बनाउन सहमत भएका थिए । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (इरेना), कोप ३१ को अध्यक्षता र ग्लोबल रिन्युएबल्स एलायन्सद्वारा तयार पारिएको प्रतिवेदन अनुसार, उक्त तेब्बर बनाउने प्रतिबद्धता पूरा गर्न सन् २०३० सम्म वार्षिक औसत करिब १,२०० गिगावाटका दरले जडान कार्यलाई तीव्र बनाउन आवश्यक देखिन्छ ।
प्रतिवेदनमा सन् २०२६ देखि २०३० को बीचमा ग्रिड लगानीमा औसतमा वार्षिक करिब १ खर्ब अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गरिएको छ, जुन सन् २०२५ मा गरिएको ५२५ अर्ब डलरको अघिल्लो प्रक्षेपणभन्दा बढी हो ।
हालैका दिनहरूमा ऊर्जा दक्षताका उपायहरू अपर्याप्त पाइएका छन् । सन् २०२५ मा ऊर्जा तीव्रता करिब २ प्रतिशतले मात्र सुधार भएको छ, जुन दक्षता दुई गुणा बढाउने प्रतिबद्धता पूरा गर्न आवश्यक वार्षिक ४ प्रतिशतको दरभन्दा कम हो ।
'सन् २०३० सम्मको दूरीलाई नवीकरणीय ऊर्जाले अझै पनि घटाउन सक्छ तर ऊर्जा दक्षता भने पछाडि परिरहेको छ, बिजुलीको माग अपेक्षाभन्दा तीव्र रूपमा बढिरहेको छ र ग्रिड पूर्वाधारले यसको गति भेट्टाउन सकेको छैन,' इरेनाका महानिर्देशक फ्रान्सिस्को ला क्यामेराले प्रतिवेदनमा भनेका छन् ।
रोयटर्सका अनुसार आगामी नोभेम्बरमा टर्कीमा हुने तय भएको कोप जलवायु वार्ता धेरै क्षेत्रहरूलाई सञ्चालन गर्न बिजुलीको प्रयोग बढाउने र सन् २०३५ सम्ममा विश्वव्यापी अन्तिम ऊर्जा खपतको ३५ प्रतिशत हिस्सा बिजुलीले ओगट्ने नयाँ लक्ष्य तय गर्नेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।