काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा भीषण क्षति पुगेको छ । बाढी आएको एक हप्ता बितिसक्दा पनि त्यहाँ कार्यरत ५५७ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन् । यति ठूलो मानवीय र भौतिक सङ्कटका बीच उद्धार कार्यमा देखिएको सरकारी सुस्तता र नोकरशाही झन्झटले स्थिति थप भयावह बनाएको छ ।
आयोजनाको प्रवद्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) का अनुसार आयोजनास्थलमा कार्यरत कूल १,४३३ जना जनशक्तिमध्ये हालसम्म ८७६ जनाको मात्रै उद्धार सम्भव भएको छ । सम्पर्कविहीन ५५७ मध्ये करिब ११५ जना मुख्य सुरुङ र हेडवर्क्स (बाँध) क्षेत्रभित्रै फसेको आशंका गरिएको छ ।
आपत्कालीन विपद्को घडीमा जहाँ हरेक सेकेन्डको महत्त्व हुन्छ, त्यहाँ सरकारी संयन्त्रको अक्षमता र झन्झटिल प्रशासनिक प्रक्रियाका कारण उद्धार कार्य नै रोकिन पुगेको गम्भीर तथ्य बाहिर आएको छ । कम्पनीले उद्धार कार्यलाई तीव्रता दिन भदौ १४ गते 'नेपाल माउन्टेन रेस्क्यू एसोसिएसन'सँग सम्झौता गरी विशेषज्ञ टोली रसुवाको धुन्चे पठाएको थियो ।
सम्बन्धित सरकारी निकायबाट समयमै "आवश्यक अनुमति" प्राप्त नहुँदा उद्धारमा खटिएको टोली धुन्चेबाटै रित्तै फर्किएको कम्पनीले जानकारी दिएको छ । भीषण विपद्को समयमा पनि अनुमति र स्वीकृतिको अल्झो हालेर उद्धार टोली फर्काइनुले सरकारको विपद् व्यवस्थापन र मानवीय संवेदनाप्रतिको उदासिनतालाई छर्लङ्ग पारेको छ ।
भदौ १० गते बिहान ८:५७ बजे नै बाढीको पूर्वसूचना आयोजनाका कर्मचारीलाई दिइएको थियो । तर, अत्यन्त छोटो समयमा नदीमा लेदो सहितको ठूलो बाढी आएकाले अधिकांश श्रमिकहरू सुरक्षित स्थानतर्फ भाग्न नसकेको जनाइएको छ ।
घटनालगत्तै कम्पनीले आफ्नै पहलमा कोरियाबाट विज्ञ एवम् उपकरणहरू झिकाइ, तालिमप्राप्त कुकुर, म्यान्ट्रेलिङ प्रविधि, अत्याधुनिक एयर-स्क्यानिङ ड्रोन र ६.५ एचपीका पम्प-जेनेरेटर परिचालन गरेर सुरुङभित्र जमेको लेदो फाल्ने प्रयास गरिरहेको छ । यद्यपि, भौगोलिक विकटता, प्रतिकूल मौसम र सरकारी निकायहरू बीचको सुस्त समन्वयले उद्धारमा अपेक्षित गति लिन नसकेको बताइएको छ ।
प्रत्यक्ष लगानीमा धक्का
२०८४ साउन (जुलाई २०२७) भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनामा प्रवर्द्धक एनडब्लुइडिसी सहित कोरियन कम्पनी डुसान, पावर चाइना, ट्रयाक्टावेल-जेड कन्सल्ट र एन्ड्रिज हाइड्रोका नेपाली, कोरियाली, चिनियाँ, भारतीय लगायत नागरिकहरू कार्यरत थिए ।
बाढीले निर्माण सम्पन्न हुन लागेको बाँध (हेडवर्क्स), कार्यालय तथा आवासीय भवन पूर्णतः बगाएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताको अर्बौँ रुपैयाँ जोखिममा पर्दा समेत राज्यका संयन्त्रले देखाएको 'औपचारिक वार रुम' शैली र प्रशासनिक ढिलासुस्तीले विदेशी लगानीमा समेत नकारात्मक सन्देश जाने जोखिम बढाएको छ ।
सरकारी निकायले कागजी काममा 'फास्ट ट्र्याक' र 'वार रुम'का कुरा गरे पनि व्यवहारमा भने अनुमति नपाएर उद्धार टोली फर्किनुपर्ने नियति देखिएको छ । सुरुङभित्र फसेका ११५ जना बढी श्रमिकको जीवनरक्षाका लागि सरकारले अझै पनि सम्पूर्ण प्रशासनिक ढोका तत्काल खोलेर उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने कम्पनीको माग छ ।
सम्पर्कविहीन श्रमिक/कर्मचारीको विवरण
• एनडब्लुइडिसी (प्रवर्द्धक): १५ जना
• जेड कन्सल्ट (परामर्शदाता): ७ जना
• डुसान (मुख्य ठेकेदार): ५६ जना
• पावर चाइना (सिभिल ठेकेदार): ३८५ जना
• एन्ड्रिज हाइड्रो (इलेक्ट्रो मेकानिकल): ९४ जना