विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । घिसिङले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका हुन् । 

सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गत असारबाट ठप्प छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताए ।

यस्तो अवस्थामा आयोजना कार्यान्वयन भइरहेका पालिकाहरूका जनप्रतिनिधिले सडक विभागसँग समन्वय गरिदिएमा अझै पनि केही समय रहेको उल्लेख गर्दै घिसिङले सबैले जिम्मेवारी पूर्ण काम गर्नुपर्नेमा जोड दिए । उनले सडकको पेटीमा काम गर्न पालिकाहरूले अनुमति दिए पनि सडक विभागले काम गर्न नदिएको बताए ।

‘जमिनमाथि (ओभरहेड)भन्दा तारलाई भूमिगत गर्दा १० गुणा महँगो पर्छ । तार भूमिगत गर्न सडक खन्नासाथ भित्र के के भेटिन्छ ज्यादै गाह्रो छ,’ उनले भने, ‘समन्वय गरेर केही समयका लागि अप्ठ्यारो भए पनि गरौँभन्दा सडकबाट अनुमति पाउँदैनौँ, बर्खाभरी उहाँहरूले अनुमति दिनुभएन तर बर्खा सकिएपछि पनि अहिलेसम्म अनुमति दिनुभएको छैन ।’

‘यति ठूलो आयोजना हामीबीचको समन्वयको अभावले बेवारिसे हुँदैछ । यो दूर्भाग्यपूर्ण छ । मलाई पनि पीडा लाग्छ । वनमा गयो प्रसारण लाइन निर्माण गर्न दिंदैन, वनै राज्य । सडकमा गयो सडक नै राज्य । अनि कहाँचाहिं काम गर्नु ? यो स्थिति आउनुमा हामी सबै जिम्मेवार छौँ । जिम्मेवारी पूर्वक हामी सबैले समस्या समाधान गर्न काम गरौँ’ उनले भने ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाडौं जिल्लाको बाँकी स्थानहरू, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथौ चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रहरूको  वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरिएको थियो ।

यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४०० भोल्टेजको भूमिगत लाइन निर्माण गर्नुकासाथै अप्टिकल फाइबर पनि बिछ्याइने छ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरुप बनेको सहरको कुरुपताको अन्त्य भई सौन्दर्यता थपिने छ ।

विकास हुन्छ भने आम सर्वसाधारणले यसलाई सहज रुपमा लिई केही समय अप्ठ्यारो बेहोर्नु पर्ने उनले बताए । ‘अलिकति अप्ठ्यारो पर्‍यो भयो भने वडाले गाली गर्ने, नगरपालिकाले गाली गर्ने, कुनै ठाउँमा सडकले काम नै गर्न नदिने, सहमति नलिइ काम गरेमा हाम्रा कर्मचारीलाई थुनिदिन्छन्’, उनले भने, ‘धेरै पहल गर्दा पनि सडकबाट सहमति नपाएपछि सडकमा आफैं उभिएर काम गराउँछु भन्दा ठेकेदारहरू सहमति विना त हामी कार्म गर्न सक्दैनौं भन्ने अडान लिन्छन्, मैले चाहेर पनि काम गराउन सक्ने अवस्था छैन ।’

हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सकिने छ । भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राती काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धुलोबाट आमनागरिकलाई असर पर्न नदिन न्यूनिकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

सडकले माग्यो ५० प्रतिशत धरौटी 

सडक विभागले तार भूमिगत गर्दा खनिने सडक खण्डको अनुमानित लागतको ५० प्रतिशत धरौटी राख्नु पर्ने प्रस्ताव गरेको छ । यसअघि २० प्रतिशत धरौटी राखी काम हुँदै आएकोमा विभागले यसलाई बढाएर ५० प्रतिशत राख्नु पर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले आफ्नो काम सकेर सडक त्यतिकै छाडेमा सडक मर्मतका लागि धरौटी रकमको व्यवस्था गरिएको हो । सडक मर्मत भएमा विभागले  उक्त धरौटी रकम फिर्ता गर्छ ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले यस वर्ष गरिने सम्झौताका लागि ५० प्रतिशत धरौटी राख्नु पर्ने प्रस्ताव सडक विभागबाट प्राप्त भएको बताए । ‘नेपाल सरकारबाट बजेट विनियोजन गरिएको छैन, हामीसँग पनि छैन, विगतका वर्षहरूमा २० प्रतिशत राखिंदै आएकोमा यस वर्ष ५० प्रतिशत धरौटीको राख्नु पर्ने प्रस्ताव गरिएको छ, हामी पुरानै व्यवस्थाअनुसार सम्झौता हुनुपर्छ भनिरहेका छौं’, उनले भने ‘खानेपानीलगायतका निकायहरूबाट स्वीकृति लिएपछि मात्र सडकबाट अनुमति दिने नयाँ प्रस्तावसमेत गरिएको छ, यस्ता सर्तले झन् झन् अप्ठ्यारो पारिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३