विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएका छन् । गएको शुक्रबार २ वटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताए ।

‘शनिबार क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो’, उनले भने, ‘निरीक्षणपछि हिजो २ वटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ।’

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ। ‘थामेभन्दा माथिपट्टि ५ वटा हिमताल रहेछन्, शुक्रबार २ वटा विस्फोटपछि बाढी आएको पुष्टि भयो’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘बाँकी ३ मध्ये एउटा सुरक्षित रहेको र २ वटा जोखिम रहेको जानकारी प्राप्त भएको छ।’ खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उनले बताए ।

जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ ।

विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम ९ दशमव ७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ । शुक्रबार भने तापक्रम बढेर १५ दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ । 

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताए । उनले भने, ‘थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।’ 

बाढीपीडितलाई राहत 

बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । शनिबार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका रक्षामन्त्री राई नेतृत्वको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद १५ हजार र ३–३ थान त्रिपाल वितरण गरिएको हो ।

स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई ५० हजारका दरले वितरण गरिएको छ । पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । प्रजिअ पाण्डेले लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको बताए । 

नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा शनिबार प्रभावित स्थानबाट ७ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाइएको छ । बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेको सेनाले जनाएको छ ।

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ । साथै बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ ।

बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन् । 

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवातजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताए । आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उनले बताए । उनले भने, ‘खुम्बु यतिबेला अस्तव्यस्त छ, बत्ती नहुँदा सञ्चार सेवा अवरुद्ध भएको छ भने हिमताल फुट्ने खतरा उत्तिकै छ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३