विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । करिब १५ वर्ष अगाडिदेखि जलविद्युत् विकासमा लगानी गर्दै आएको नबिल बैंक लिमिटेडले अहिलेसम्म आफ्नो लगानीको दायरा निकै फराकिलो बनाइसकेको छ । सन् २००७ देखि जलविद्युत्मा लगानी थालेको बैंकले अहिलेसम्म झन्डै २० अर्ब रुपैयाँ यो क्षेत्रका लागि छुट्ट्याइसकेको छ ।

डेढ–दुई दशक अगाडि जलविद्युत्मा लगानी गर्ने भन्दा बैंकहरू निकै हच्किन्थे । अहिले त्यो अवस्था छैन । २५–३० मेगावाटको आयोजनामा कुनै वाणिज्य बैंक एक्लैले लगानी गर्ने क्षमता बनाइसकेका छन् । नबिलले पनि १ मेगावाटको थोप्पल खोलाबाट सुरु गरेको लगानी यात्रा निर्माणाधीन सबैभन्दा ठूलो अरुण–३ सम्म पुर्याएको छ ।

भलै अरुण भारतीय कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको छ । यसको विद्युत् उत्पादन गरी भारत निर्यात हुने गरी अनुमतिपत्र दिइएको छ । लगानीका दृष्टिले अगुवाई (लिड बैंक) र सहलगानीकर्ता गरी नबिल अहिलेसम्म १८ आयोजनामा संलग्न भएको छ ।

बैंकले लगानी गरेका मध्ये करिब ९४ मेगावाटका ८ आयोजना निर्माण पूरा भई तिनबाट विद्युत् उत्पादन भइरहेको छ । विद्युत् उत्पादन गरिरहेका आयोजनामा १ मेगावाटको थोप्पल खोला, जुन आयोजनामा बैंकले पहिलो लगानी गरेको थियो ।

यस्तै, ४.५ मेगावाटको विजयपुर–१, ५ मेगावाटको तादी खोला, २९ मेगावाटका माई र माई क्यासकेड, पञ्चकन्या माई १५.३८ मेगावाट, २५ मेगावाटको अरुण काबेली, ७.५ मेगावाटको इन्द्रवाती र ६.६ मेगावाटको भैरवकुण्डबाट बिजुली उत्पादन भइरहेको छ ।

बैंकले लगानी गरेका ५२.४ मेगावाटको लिखु–४ को निर्माण करिब ८० प्रतिशत पूरा भइसकेको छ । यस्तै, ४० मेगावाटको खानी खोला–१, माथिल्लो खिम्ती र माथिल्लो खिम्ती–२ १९ मेगावाट, २७ मेगावाटको दोर्दी, ३० मेगावाटको न्यादी, ४२ मेगावाटको मिष्ट्री खोला निर्माणको अन्तिम चरणमा छन् ।

कोभिड असरले चिनियाँ कामदार नफर्केको हुँदा २०–२५ प्रतिशत काम बाँकी रहेको न्यादीको प्रवद्र्धक न्यादी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ‘चिनियाँ कामदारसँगै त्यहाँबाट केही सामान आउन बाँकी छ,’ उनले भने, ‘कोरोना असर कायमै रहेकाले काम पूरा गर्न केही समय लाग्ने देखियो ।’

बैंकका अनुसार खानी खोलाको ७५ प्रतिशत, खिम्तीको ९८ प्रतिशत, दोर्दीको ९५ प्रतिशत, न्यादीको ७० प्रतिशत र मिष्ट्री खोलाको ९९ प्रतिशत निर्माण पूरा भएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली–३ ‘बी’, ७३ मेगावाटको मध्य तमोरमा पनि बैंकले लगानी गरेको छ ।

बैंकले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा पनि केही लगानी गरेको छ । तर, यसमा ‘ग्याप फाइनान्स’ मात्र गरेको बैंकले जनाएको छ । बैंकले अहिले लगानीका लागि केही राम्रा आयोजना हेरिरहेको कर्पोरेट लगानी प्रमुख ज्ञानेन्द्रप्रताप शाहले बताए ।

‘कोभिड–१९ का कारण केही आयोजनाको लागत बढ्ने देखिएको छ, यसो हुँदा तिनमा थप ऋण प्रवाह गर्नुपर्ने देखिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढेको हुँदा पनि आयोजनाको लागत बढेको छ ।’ उनका अनुसार बैंकले अहिले लगानीका लागि ६२ मेगावाटको भोटेकोसी–५ र ४६ मेगावाटको माथिल्लो बलेफीसँग छलफल गरिरहेको छ ।

दोर्दी जहाँ बैंकले ५० करोड रुपैयाँ लगानी गरेका छ, यसको पनि निर्माण अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । ‘बाँकी काम पूरा गरेर माघभित्र बिजुली बाल्न सकिन्छ तर प्रसारण तयार हुन समय लाग्ने देखिन्छ ।’

बैंकको लगानी रहेको माथिल्लो त्रिशूली ३ ‘बी’को भने अहिले कुनै पनि काम नभएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन गौतमले बताए । ‘चीनबाट ठेकेदार तथा तिनका कामदार नफर्केसम्म काम अगाडि बढ्ने अवस्था छैन,’ उनले भने, ‘एक वर्षदेखि उपकरणहरू केरुङमा रोकिएका छन् ।’ यही कारण निर्माण अवधि एक वर्ष लम्बिने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit