काठमाडाैं । विद्युत् खपत बढाउन र एलपी ग्यास आयात घटाउन विद्युत्मार्पmत खाना पकाउने योजना कार्यान्वयन हुनेमा धेरै चुनौती देखापरेका छन् । स्वदेशी स्वच्छ ऊर्जा खेर जाने र बर्सेनि ग्यास आयातमा अर्बौं रुपियाँ खर्चनुपर्ने शृङ्खला अन्त्यका लागि विद्युतीय चुलोमा खाना पकाउने उपाय महìवपूर्ण हुने मानिन्छ तर पनि विद्युतीय चुलोको प्रयोग बढाउन भने चुनौतीपूर्ण नै हुने अध्ययनले देखाएको छ ।
सरकारले गत वर्षको अन्त्यसम्म नै प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक ४५० किलोवाट पुर्याउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा गर्ने आधारका रूपमा विद्युतीय चुलोको प्रचलन व्यापक हुने अपेक्षा थियो तर खपतको लक्ष्य २६० युनिटमा सीमित बन्यो । यस वर्ष लक्ष्य घटाएर ३५० युनिट बनाइएको छ ।
कोरोना महामारीका कारण उद्योगधन्दा कारखाना प्रभावित भएका र घरायसी प्रयोजनमा पनि खपत बढ्न नसक्दा यो लक्ष्य हासिल गर्न पनि चुनौतीपूर्ण देखिएको हो । वैकल्पिक ऊर्जा क्षेत्रमा सक्रिय पिपुल इनर्जी इन्भारोमेन्ट डेभलपमेन्ट एसोसिएसन (पीडा)ले ग्रामीण भेगमा आधारित रहेर गरेको अध्ययन प्रतिवेदनले अहिलेकै अवस्थामा विद्युतीय चुलो प्रयोग कार्यान्वयनमा ल्याउन निकै चुनौतीपूर्ण देखाएको छ ।
ग्रामीण क्षेत्रमा सहजै प्राप्त हुने दाउरा तथा गुइँठा, विद्युत्को अपूर्तिमा हुने अनियमितता, विद्युतीय उपकरणको उपलब्धता र त्यसको मर्मतसम्भारको असहजताजस्ता कारणले विद्युतीय चुलो वा उपकरणमार्फत खाना पकाउने अपेक्षा कार्यान्वयनमा समस्या आउन सक्ने अध्ययनले जनाएको छ ।
पीडाले सोलुखुम्बुको नेटासल्यान र रुकुमको सिम्ली गाउँका स्थानीय परिवारमाझ दैनिकी अध्ययन गरेको थियो । अध्ययनअनुसार खाना पकाउने प्रयोजनमा विद्युत् प्रयोग गर्दा मात्रै पनि गार्हस्थ्य खपत उच्च हुनसक्छ । अध्ययनले खाना पकाउने प्रयोजनका लागि पाँच जनाको परिवारलाई औसत मासिक ७५ युटिन बिजुली खपत हुने देखाएको छ । दाउरा मासिक २३६ केजी आवश्यक हुन्छ ।
बिजुलीमा पकाउँदा सस्तो
प्रत्येक परिवारलाई खाना पकाउने इन्डक्सन चुलो, इन्फ्रारेड चुलो र विद्युतीय कुकर समानुपातिक रूपले उपलब्ध गराएर गरिएको यो अध्ययनले मूल्यका हिसाबले बिजुलीमा पकाउँदा सस्तो पर्ने देखाएको हो । अध्ययनअनुसार पाँच जनाको परिवालाई दाल, भात र मासु पकाँउदा एलपी ग्यासमा प्रतिछाक १३ रुपैयाँ ७८ पैसा लाग्छ भने विद्युतीय इन्फ्रारेड चुलोमा १२ रुपैयाँ ६० पैसा, इन्डक्सनमा ११ रुपैयाँ ७७ पैसा र विद्युतीय कुकरमा ६ रुपैयाँ २७ पैसा पर्ने अध्ययनले देखाएको छ ।
पीडाका प्रमुख कार्यकारी अधिकृत विराज गौतमका अनुसार बिजुलीले सस्तो पर्छ भन्ने अनुभूत भने अझै कम छ । “धेरैको बुझाई बिजुली बाल्दा महँगो पर्छ भन्ने छ” उहाँले भन्नुभयो, “यो भ्रम चिर्न प्रवद्र्धनात्मक अभियान जरुरी छ । ”
विकल्पको खोजी
अध्ययनमा समेटिएका स्थानीयले ९५ प्रतिशत खाना दाउरामा पकाउने गरेका थिए भने दुई प्रतिशत योगदान एलपीजीको थियो । विद्युतीय उपकरण निःशुल्क उपलब्ध गराउँदा विद्युत् खपत ८३ प्रतिशतसम्म पु¥याउन सफल भएको अध्ययनले देखाएको छ ।
विद्युतीय चुलो प्रयोग गराउँदा विकल्पका रूपमा एलपी ग्यास प्रयोग भने बढेको अध्ययनले देखाएको छ । पहिले दुई प्रतिशत रहेको एलपीजीको भूमिका दाउरारहित चुलो बनाउन खोज्दा छ प्रतिशत पुगेको देखियो । दाउरा प्रयोग भने अध्ययनका क्रममा नौ प्रतिशतमा सीमित हुन पुगेको छ ।
“विद्युत् अनियमित भएको अवस्थामा अथवा धेरै चुलो एकैपटक बाल्नुपर्दा यस्तो भएको हो,” उहाँले भन्नुभयो । यसका लागि ग्रामीण चुलो पूर्ण धुवाँमुक्त र एलपीजीमुक्त गराउन बायो ग्यासजस्ता वैकल्पिक उपाय पनि सँगै लैजानुपर्ने अध्ययनको सुझाव छ ।
बिजुलीमार्फत पकाउँदा स्थानीय सुरुमा उत्साहित भए पनि यसकै निरन्तरता भने चुनौतीपूर्ण रहेको अध्ययनको निष्कर्ष छ । ‘विद्युत् आपूर्तिको अनियमितता, स्थानीयमा नयाँ प्रविधि स्वीकार्यताको कमजोर क्षमता, उपकरणको मर्मतसम्भार सुविधाको अभावले खाना पकाउन बिजुली खपत चुनौतीपूर्ण छ’ अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रवर्द्धन अभियान गर्दैछौँ
हितेन्द्रदेव शाक्य
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
विद्युतीय भान्सालाई व्यापक बनाउन प्राधिकरणका दुई किसिमका योजना छन् । पहिलो, अविच्छिन्न बिजुली उपलब्ध गराउन वितरण लाइन र प्रसारण लाइनमा सुधार गरिरहेका छौँ । सबस्टेसन थप्ने, वितरण लाइन मर्मतको काम निरन्तर भइरहेको छ । जडित क्षमता ग्राहकको अनुरोध हुनासाथ विस्तार गरिदिने नीति छ । प्रचार तथा जनचेतना अभियान पनि चलाउँदै छौँ ।
विद्युतीय चुलोदेखि भाँडामा अनुदान, सहुलियत तथा छुट योजना अपनाउन पनि सकिन्छ । उपकरण उत्पादक तथा वितरकसँग छलफल गरेर सस्तोमा उपलब्ध गराउनेतर्फ पनि हाम्रो जोड छ । मर्मतसम्भार तालिमलाई स्थानीय स्तरमा पु¥याउन गृहकार्य गरिरहेका छौँ । यसमा सरोकारवाला सबै सङ्घ, संस्थाको पनि उत्तिकै सक्रियता चाहिन्छ ।
चुनौती सम्बोधन हुनुपर्छ
विराज गौतम, सीईओ, पीडा
गार्हस्थ्य विद्युत् खपत विस्तारमा विद्युतीय भान्सा राम्रो विकल्प हो तर सोचिएजस्तो यो सहज छैन । पहुँच बढाउन निरन्तर बिजुली आपूर्ति उपकरणको सहज उपलब्धता, इन्डक्सन वा ई कुकरजस्ता उपकरणको मूल्य सस्तो बनाउनु पर्छ । स्थानीयस्तरमा मर्मतसम्भार गर्ने जनशक्ति पनि चाहिन्छ । भोल्टेज नपुगेर पुनः दाउरा प्रयोग गर्न थालेको पनि अध्ययनको क्रममा देखिएको छ । यी सबै विषयलाई सम्बोधन गर्ने हो भने विद्युतीय चुलो प्रयोगले व्यापकता पाउँछ ।