विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा प्रवाह हुने गरी कालीगण्डकी र यसका सहायक नदी बेसिनमा २ दर्जन बढी जलविद्युत आयोजना विभिन्न चरणमा छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी लगानीमा यस क्षेत्रमा ७ सय ९१ मेगावाटका जलविद्युत आयोजना  सञ्चालन, निर्माणाधीन र निर्माणमा जाने चरणमा पुगेका हुन् । 

यी मध्ये अहिलेसम्म २०.६० मेगावाटका आयोजना निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् । ५ मेगावाटको घलेम्दी, १३.६ मेगावाटको थापाखोला, २ मेगावाटको तातोपानी आयोजना प्रसारण प्रणालीमा जोडिएका छन् । 

कोरिडोरको दाना–कुस्मा खण्ड सञ्चालनमा आएपछि घलेम्दी, तातोपानी र थापाखोला दाना सबस्टेसनमा जोडिएका हुन् । घलेम्दी हाइड्रो पावरले घलेम्दी र माउन्ट कैशाल इनर्जी कम्पनीले थापाखोला आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । तातापानी साना आयोजना विद्युत प्राधिकरणको स्वामित्वमा छ ।

यस्तै, निर्माण पूरा भइसकेको ४२ मेगावाटको मिस्ट्री खोला प्रणालीमा जोडिने तयारीमा छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु भइसक्नु पर्ने भए पनि कर्मचारी तथा कामदार कोरोना (कोभिड–१९) संक्रमित भएपछि उत्पादन धकेलिएको हो । अहिले पनि कोरोना संक्रमण बढ्दै गएकाले परीक्षणका लागि आउनुपर्ने प्राविधिक आउन नसक्दा उत्पादन सुरु गर्न सकिएको छैन ।

यसैगरी, प्रसारण लाइन कोरिडोरमा आएर जोडिने गरी ४० मेगावाटको राहुघाट आयोजना निर्माणाधीन छ । प्रस्तावित बनखेत सबस्टेसनमा जोडिने यो आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइनको लुप इन र लुप आउट गरी ४ वटा टावर निर्माण गरिएको छ ।

प्राधिकरणको सहायक रघुगंगा हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको २५ प्रतिशत निर्माण पूरा भइसकेको छ । २०७५ देखि निर्माण सुरु भएको आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन गर्ने तालिका भएपनि कोरोना महामारीको असरले तालिका ढेड वर्ष लम्बिने सक्ने कम्पनीले जनाएको छ ।

यही खोलामा तुण्डी पावर कम्पनीले २ आयोजना अघि बढाएको छ । ४८ मेगावाटको माथिल्लो राहुघाट र ३७ मेगावाटको राहुघाट मंगले निर्माणाधीन छन् । माथिल्लो राहुघाटको पहुचमार्ग निर्माण सुरु गरेको कम्पनीका अध्यक्ष जीतबहादुर घर्तीले बताए । उनका अनुसार यसअघि २० मेगावाटको अनुमति पाएको यो आयोजनाको क्षमता बढाइएर ४८ मेगावाट बनाइएको हो । राहुघाट मंगलेको पनि गत मंसिरदेखि नै निर्माणमा गइसकेको छ ।

अहिले १४ मेगावाटको घारखोला पनि निर्माणाधीन छ । यो आयोजना म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको हो । निलगिरि खोला हाइड्रोपावर कम्पनीले १ सय मेगावाटका २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ६२ मेगावाटको निलगिरि र ३८ मेगावाटको निलगिरि क्यासकेड निर्माणाधीन छन् ।

कालीगण्डकीको सहायक म्याग्दी खोलामा पनि करिब १ सय ७५ मेगावाटका ५ आयोजना अघि बढेका छन् । हाइड्रो इम्पाइर कम्पनीले २० मेगावाटको माथिल्लो म्याग्दी निर्माण गरिरहेको छ । धौलागिरी कालीका हाइड्रो कम्पनीले २५ मेगावाटको दरबाङ म्याग्दी निर्माण गरिरहेको छ । 

५३.५० मेगावाटको माथिल्लो म्याग्दी–१ अप्पर म्याग्दी हाइड्रोपावरले र ५७.३ मेगावाटको म्याग्दी खोला हाइड्रो भिलेज कम्पनीले अघि बढाएका छन् । म्याग्दी खोला निर्माण गर्न विद्युत प्राधिकरणले २०७५ असोजमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो । सम्झौताअनुसार आयोजनाबाट २०८० भित्र विद्युत उत्पादन सुरु गर्ने तालिका छ । 

२१.३ मेगावाटको ठुलो खोला सयुक्त ऊर्जा कम्पनीले, ४ मेगावाटको रुप्से खोला रिसर्ज एण्ड डेपलपमेन्ट ग्रुपले, ६ मेगावाटको रेले खोला एचवाईएम कन्सल्टले, १४.७ मेगावाटको मुडी खोला एभरेष्ट एनजीए एण्ड इन्फ्रास्ट्रक्चर फण्डले र ५.५ मेगावाटको बगर खोला मोना हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेका छन् ।

कालीगण्डकी नदी बेसिनमा मात्र करिब २ सय ८२ मेगावाट ३ आयोजनना निर्माण हुँदैछन् । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिइसकेका ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ५३.५३ मेगावाटको मध्यकालीगण्डकी आयोजना निर्माणमा जाने तयारीमा छन् । माथिल्लो कालीगण्डकी सिनो हाइड्रो, कालीगण्डकी गर्ज कालीगण्डकी हाइड्रोपावर र मध्य कालीगण्डकी हाइड्रो सर्पोट कम्पनीले निर्माण गर्न अनुमति पाएका छन् । 

निर्माणको विभिन्न चरणमा रहेका यी सबै आयोजनाको विद्युत कालीगण्डकी कोरिडोरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यी आयोजनाको विद्युत प्रवाह हुने कोरिडोरको ३९ किलोमिटर लामो दाना–कुस्मा खण्डको डबल सर्किट प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रसारण लाइनको ८७ किलोमिटर लामो दोस्रो कुस्मा–न्यू बुटवल खण्ड निर्माणाधीन छ । प्रसारण लाइनको ६० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ । तेस्रो न्यू बुटवल–बर्दघाट खण्ड पनि निर्माणाधीन छ । दोस्रो र तेस्रो खण्ड पूरा भइसकेपछि कालीगण्डकी कोरिडोरमा उत्पादन हुने विद्युत न्यू बुटवल हुँदै देशका विभिन्न क्षेत्रमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३