काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी हुन सकेन । उनले आफूलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै बुधबार दायर गरेको रिटमा मागअनुसार आदेश हुन नसकेको हो ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा आज उक्त मुद्दाको पहिलाे बहसपछि सरकारकाे कुरा सुन्नुपर्ने भन्दै आइतबारका लागि पेशी ताेकिने जनाइएको छ। दोस्रो नम्बरमा घिसिङको र पाँचौं नम्बरमा हितेन्द्रदेव शाक्यको मुद्दा पेसीमा रहेको थियो ।
पक्ष र विपक्ष दुवैलाई छलफलका लागि आइतबार झिकाउने आदेश भएको सर्वोच्च स्रोतले जानकारी दियो । यद्यपि, नयाँ मुद्दाका चापका कारण आइतबार समेत यस विषयमा छलफल हुने न्यून सम्भावना रहेको एक वकिलले बताए ।
मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकले घिसिङलाई पदमुक्त गरी प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आफूलाई कार्यावधि बाँकी छँदै हटाएको भन्दै सरकारको निर्णयविरुद्ध उनले चैत १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । बिहीबार सर्वोच्चमा दर्ता भएको निवेदनको सुनुनाईका लागि आज (शुक्रबार) पेशी तोकिएको थियो ।