काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–६ मा प्रस्तावित ३० मेगाटको ढल्केबर–२ सौर्य आयोजनाको विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । आयोजनास्थलदेखि नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनसम्म २.७ किलोमिटर लम्बाइको प्रसारण लाइन निर्माण गरिने भएको हो । यसका लागि प्रवर्द्धक कम्पनी इन्टिग्रेटेड इनर्जी एन्ड इन्डस्ट्रियल इन्टरप्राइजेज प्रालिले अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ ।
विभागले उल्लेख गरेअनुसार प्रस्तावित प्रसारण लाइनअन्तर्गत ४३ वटा डबल सर्किट पोल निर्माण गरिने छन् । प्रसारण लाइनमा एएल ५९ ‘प्यान्थर’ कन्डक्टर प्रयोग गरिनेछ । पोलको अधिकतम उचाइ १३ मिटर र पोलबीचको औसत दूरी करिब ४० मिटर रहनेछ ।
प्रसारण लाइन तथा पोल निर्माणका लागि करिब १.१५ हेक्टर जग्गा आवश्यक पर्ने जनाइएको छ । प्रसारण लाइनको राइट अफ वे विद्युत् नियमावली, २०५० अनुसार प्राविधिक दृष्टिले न्यूनतम ६ मिटर कायम गरिनेछ । अर्थात् केन्द्रबिन्दुबाट दायाँ–बायाँ ३–३ मिटर क्षेत्र प्रसारण लाइनको अधिकार क्षेत्रभित्र पर्नेछ ।
प्रस्तावित प्रसारण लाइन निर्माणको काम करिब ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उल्लेखनीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र राय तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विद्युत् विकास विभागले सोमबार सूचना जारी गरेको छ ।