विद्युत अपडेट

  • प्राधिकरण : ८१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७१३ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२४० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९२७ मे.वा.
२०८३ कार्तिक १३, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

भूमिका

नेपालको प्राकृतिक स्रोतसाधनलाई सही ढङ्गले उपयोग गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । यस सन्दर्भमा १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना नेपालको ऊर्जा सुरक्षा, आर्थिक विकास र राष्ट्रिय समृद्धिका लागि महत्त्वपूर्ण अवसर हो । यस आयोजनालाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी बाढी जोखिम न्यूनीकरणमा योगदान, व्यवस्थित बस्ती विकास, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण, उद्योग विस्तार र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउन आवश्यक छ । विशेषगरी गोरखा र धादिङ क्षेत्रको प्राकृतिक, आर्थिक तथा सामाजिक सम्भावनालाई एकीकृत रूपमा उपयोग गर्न सकेमा यसले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउन सक्छ ।

यस उद्देश्यलाई साकार बनाउन दीर्घकालीन सोच, एकीकृत गुरुयोजना, पर्याप्त लगानी, वातावरण संरक्षण, प्रभावित परिवारको उचित पुनःस्थापना र स्थानीय जनताको सक्रिय सहभागिता आवश्यक छन् । जलविद्युत् विकाससँगै समग्र क्षेत्रको योजनाबद्ध विकासलाई प्रभावकारी बनाउन स्पष्ट कानुनी आधार, अधिकार, जिम्मेवारी र जवाफदेहितासहितको बूढीगण्डकी विकास प्राधिकरण स्थापना गर्ने प्रस्तावलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्छ । प्राधिकरणले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच समन्वय गरी बस्ती, पर्यटन, कृषि, पूर्वाधार र स्थानीय अर्थतन्त्रको विकासलाई एकीकृत दिशामा अघि बढाउन सक्छ ।

यस क्रममा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडले प्राधिकरण स्थापना नभएसम्म जलविद्युत् आयोजनाको विकाससम्बन्धी जिम्मेवारी निरन्तर निर्वाह गर्ने र प्रस्तावित विकास प्राधिकरणले समग्र क्षेत्रको विकासमा समन्वयकारी भूमिका खेल्ने गरी कार्यविभाजन स्पष्ट गर्नुपर्छ । संघीय, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यबाट पारदर्शी, वातावरणमैत्री र जनमुखी विकासलाई प्राथमिकता दिनुपर्छ।

अन्ततः बूढीगण्डकी आयोजनाको सफलता विद्युत् उत्पादन र भौतिक संरचना निर्माणमा मात्र सीमित हुनु हुँदैन। यसबाट स्थानीय जनताले रोजगारी, आयआर्जन, सुरक्षित बस्ती र नयाँ अवसर प्राप्त गर्नुका साथै देशले ऊर्जा सुरक्षा र आर्थिक समृद्धिको आधार बलियो बनाउन सक्नुपर्छ । बूढीगण्डकीलाई एउटा जलविद्युत् आयोजना मात्र नभई स्थानीय जनताको समृद्धि र आत्मनिर्भर नेपालको निर्माणसँग जोडिएको साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउनु आजको आवश्यकता हो । 

महत्त्वपूर्ण अवसर

नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न देश हो। हाम्रा हिमाल, नदीनाला, वनजङ्गल, उर्वर भूमि र सांस्कृतिक सम्पदा विकासका महत्त्वपूर्ण  आधार हुन् तर प्राकृतिक स्रोतसाधन हुँदाहुँदै पनि हामीले तिनको सही उपयोग गर्न सकेका छैनौँ । हाम्रो मुख्य चुनौती स्रोतको अभावभन्दा पनि उपलब्ध स्रोतलाई एकीकृत योजना, बलियो संस्था र दीर्घकालीन सोचका साथ उपयोग गर्न नसक्नु हो । यही सन्दर्भमा बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको समग्र विकासका लागि एउटा ठूलो अवसर हो । 

१,२०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजना केवल विद्युत् उत्पादन गर्ने परियोजना होइन । यसले नेपालको ऊर्जा सुरक्षा बलियो बनाउन, वर्षायाममा बाढीबाट हुने क्षति कम गर्न सहयोग पुर्‍याउन, स्थानीय बस्तीको विकास गर्न, पर्यटन विस्तार गर्न, कृषि उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र गोरखा तथा धादिङ क्षेत्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान दिन सक्ने सम्भावना बोकेको छ ।

त्यसैले, बूढीगण्डकीलाई केवल बाँध, सुरुङ, विद्युत्गृह र प्रसारण लाइनको सीमाभित्र राखेर हेर्नु हुँदैन। यसलाई पानी, ऊर्जा, भूमि, मानव बस्ती, प्रकृति, पर्यटन र स्थानीय अर्थतन्त्रलाई जोड्ने राष्ट्रिय विकास अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।

हाम्रो सोच स्पष्ट हुनुपर्छ– बूढीगण्डकीबाट बिजुली उत्पादन गर्ने मात्र होइन, बूढीगण्डकीको अवसरबाट स्थानीय जनताको जीवनस्तर उकास्ने र देशको समृद्धिमा योगदान पुर्‍याउने हो।

ऊर्जा सुरक्षा र आत्मनिर्भरता 

आजको युगमा ऊर्जा विकासबिना आर्थिक विकास सम्भव छैन । उद्योग सञ्चालन गर्न, कृषि उत्पादन बढाउन, यातायातलाई आधुनिक बनाउन, सूचना प्रविधिको विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न भरपर्दो ऊर्जा आवश्यक हुन्छ ।

नेपालमा विद्युत् उत्पादन बढ्दै गएको भए पनि वर्षायाम र हिउँदको विद्युत् उपलब्धतामा ठूलो अन्तर रहन्छ । वर्षायाममा पर्याप्त पानी हुने भएकाले विद्युत् उत्पादन बढ्छ, तर हिउँदमा नदीको बहाव घट्दा उत्पादन कम हुन्छ। यही अवस्थाले ऊर्जा व्यवस्थापनमा चुनौती सिर्जना गर्छ ।

जलाशययुक्त जलविद्युत् आयोजनाले वर्षायामको पानी सञ्चित गरेर आवश्यकताअनुसार विद्युत् उत्पादन गर्न सहयोग पुर्‍याउन सक्छ । बूढीगण्डकीजस्तो ठूलो जलाशययुक्त आयोजना नेपालको विद्युत् प्रणालीलाई थप लचिलो र भरपर्दो बनाउन महत्त्वपूर्ण  हुन सक्छ ।

यसबाट देशभित्र उद्योगधन्दा विस्तार गर्न, विद्युतीय सवारीसाधनको प्रयोग बढाउन, खाना पकाउन विद्युत्‌को उपयोग विस्तार गर्न र आर्थिक गतिविधिलाई गति दिन सहयोग पुग्न सक्छ। अतिरिक्त विद्युत् उपलब्ध भएको अवस्थामा क्षेत्रीय विद्युत् व्यापारबाट आम्दानी गर्ने सम्भावना पनि रहन्छ तर हाम्रो उद्देश्य विद्युत् उत्पादनको क्षमता बढाउने मात्र हुनु हुँदैन । उत्पादित विद्युत् देशको आर्थिक रूपान्तरणमा कसरी उपयोग गर्ने भन्ने प्रश्नलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ । विद्युत् उत्पादन हाम्रो लक्ष्य हो भने विद्युत्‌को उपयोगबाट उद्योग, रोजगारी र राष्ट्रिय आय बढाउनु हाम्रो दीर्घकालीन उद्देश्य हुनुपर्छ ।

विपद् जोखिम न्यूनीकरण 

नेपालले हरेक वर्ष बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का कारण जनधनको क्षति व्यहोर्दै आएको छ । जलवायु परिवर्तन, अव्यवस्थित बस्ती, नदी किनारको जोखिमपूर्ण उपयोग र कमजोर पूर्वाधारले यो चुनौतीलाई अझ जटिल बनाएका छन् ।

बूढीगण्डकी नदीमा उपयुक्त जलाशय निर्माण भएमा यसको जलाधार क्षेत्रबाट आउने पानीको केही अंश सञ्चित गरी निश्चित अवस्थामा नदीको बहाव व्यवस्थापन गर्न सहयोग पुग्न सक्छ । यसले जलाशयले प्रभाव पार्न सक्ने क्षेत्रमा बाढीको जोखिम घटाउन योगदान दिन सक्छ तर यस विषयमा एउटा कुरा स्पष्ट हुनुपर्छ । जलाशययुक्त आयोजना बनेपछि सबै प्रकारका बाढी नियन्त्रण हुन्छन् भन्ने मान्नु हुँदैन । अत्यधिक वर्षा, जलाधार क्षेत्रमा आउने पहिरो, जलाशयको क्षमता, सञ्चालन नियम र अन्य नदीबाट आउने बहावका कारण बाढीको जोखिम कायम रहन सक्छ ।
त्यसैले बूढीगण्डकीलाई प्रभावकारी विपद् व्यवस्थापनसँग जोड्न निम्न काम आवश्यक छन्:

•    जलाधार क्षेत्रको संरक्षण र पहिरो नियन्त्रण ।
•    वर्षा, नदीको बहाव र जलाशयको अवस्थाको नियमित अनुगमन ।
•    बाढीको पूर्वसूचना प्रणाली र समुदायमा सूचना पुर्‍याउने व्यवस्था ।
•    जोखिमयुक्त बस्ती तथा पूर्वाधारको पहिचान ।
•    स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरकारी संस्थाबीच समन्वय ।
•    जलाशय सञ्चालनका लागि स्पष्ट बाढी व्यवस्थापन नियम ।

यसरी आयोजना निर्माण र सञ्चालनलाई विपद् जोखिम न्यूनीकरणसँग जोड्न सकेमा यसको राष्ट्रिय महत्व अझ बढ्न सक्छ । हामीले बूढीगण्डकीलाई केवल विद्युत् उत्पादनको आँखाले होइन, पानीको सुरक्षित व्यवस्थापन र जनधनको संरक्षणको दृष्टिले पनि हेर्नुपर्छ ।

व्यवस्थित बस्ती विकास

ठूला जलाशययुक्त आयोजनाले स्थानीय भूगोल, बस्ती र आर्थिक गतिविधिमा परिवर्तन ल्याउँछन् । बूढीगण्डकी आयोजनाको विकाससँगै प्रभावित क्षेत्रको पुनर्वास, पुनःस्थापना र जीविकोपार्जनलाई व्यवस्थित बनाउनु हाम्रो महत्त्वपूर्ण  जिम्मेवारी हो ।

स्थानीय नागरिकले आफ्ना घर, जग्गा, सामाजिक सम्बन्ध र परम्परागत जीवनशैलीसँग जोडिएका धेरै विषयमा परिवर्तन भोग्नुपर्ने हुन सक्छ । त्यसैले, विकासको नाममा स्थानीय जनतालाई केवल क्षतिपूर्ति प्राप्त गर्ने पक्षका रूपमा हेर्नु हुँदैन । उनीहरूलाई नयाँ अवसरको साझेदार बनाउनु आवश्यक छ।यसका लागि व्यवस्थित बस्ती विकासको एकीकृत योजना बनाउनुपर्छ ।

नयाँ बस्ती कस्तो हुनुपर्छ ?

नयाँ बस्तीमा सुरक्षित आवास, गुणस्तरीय सडक, खानेपानी, ढल व्यवस्थापन, विद्युत्, इन्टरनेट, विद्यालय, स्वास्थ्य संस्था, बजार, खेलमैदान र सार्वजनिक स्थलको व्यवस्था हुनुपर्छ।बस्ती निर्माण गर्दा आजको आवश्यकता मात्र होइन, आगामी ३०–५० वर्षको जनसंख्या र आर्थिक गतिविधिको सम्भावनालाई समेत ध्यान दिनुपर्छ । 

जलाशयको उपयुक्त स्थान र भूगर्भीय अवस्थाको अध्ययन गरी सुरक्षित क्षेत्रमा योजनाबद्ध बजार केन्द्र विकास गर्न सकिन्छ । त्यस्ता केन्द्रलाई स्थानीय उत्पादनको बिक्री, पर्यटन सेवा, कृषि सामग्रीको आपूर्ति र साना उद्योग सञ्चालनसँग जोड्न सकिन्छ तर सबै प्रभावित परिवारलाई एउटै स्थानमा सार्ने वा सबै क्षेत्रलाई नगर घोषणा गर्ने सोच उचित हुँदैन । प्रत्येक क्षेत्रको भौगोलिक अवस्था, स्थानीय आवश्यकताहरू, कानुनी व्यवस्था र नागरिकको रोजाइअनुसार फरक–फरक समाधान आवश्यक हुन्छ । नगर विकासको नाममा खेतीयोग्य जमिन, वन, नदी किनार र प्राकृतिक सम्पदामाथि अनावश्यक दबाब पर्न दिनु हुँदैन ।

हाम्रो उद्देश्य केवल नयाँ घर बनाउनु होइन, सुरक्षित, व्यवस्थित, सुविधासम्पन्न र आर्थिक रूपमा आत्मनिर्भर बस्ती निर्माण गर्नु हो ।

पर्यटन विकास

नेपालमा पर्यटन विकासको ठूलो सम्भावना छ । प्राकृतिक सुन्दरता, हिमाल, नदी, ताल, धार्मिक स्थल र सांस्कृतिक विविधता हाम्रा महत्त्वपूर्ण  सम्पत्ति हुन् । बूढीगण्डकी जलाशयको विकासले उपयुक्त स्थानमा नयाँ पर्यटन गतिविधि विस्तार गर्ने अवसर दिन सक्छ । जलाशय, वरिपरिका पहाड, स्थानीय गाउँ, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यलाई व्यवस्थित रूपमा जोड्न सकेमा यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।
यसका लागि निम्न सम्भावनाको अध्ययन गर्न सकिन्छ:

•    जलाशयको उपयुक्त क्षेत्रमा सुरक्षित डुङ्गा सञ्चालन ।
•    दृश्यावलोकन स्थल र पैदलमार्ग निर्माण ।
•    स्थानीय संस्कृति, परम्परा र खानाको प्रवर्द्धन ।
•    घरबास अर्थात् होमस्टे कार्यक्रमको विस्तार ।
•    स्थानीय उत्पादनमा आधारित हस्तकला र उपहार सामग्रीको बिक्री ।
•    उपयुक्त स्थानमा होटल, रेस्टुरेन्ट र पर्यटन सेवा ।
•    धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई जोड्ने पर्यटन मार्ग ।
•    वातावरणीय अध्ययनले अनुमति दिएका क्षेत्रमा जलआधारित मनोरञ्जन गतिविधि ।

तर पर्यटन विकासका नाममा जथाभावी निर्माण गर्न हुँदैन। जलाशयको सुरक्षा, पानीको गुणस्तर, जैविक विविधता र स्थानीय संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । पर्यटन व्यवसायमा स्थानीय युवालाई तालिम दिएर गाइड, होटल व्यवस्थापक, डुङ्गा सञ्चालक, उद्धारकर्मी र अन्य सेवाप्रदायकका रूपमा अवसर दिन सकिन्छ ।

पर्यटक आएर फोटो खिचेर फर्किने मात्र होइन, स्थानीय वस्तु किन्ने, स्थानीय सेवा प्रयोग गर्ने र स्थानीय परिवारको आम्दानी बढाउने वातावरण बनाउनुपर्छ । यसरी पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकेमा बूढीगण्डकी क्षेत्रका नागरिकका लागि नयाँ आम्दानीका स्रोत खुल्न सक्छन् ।

कृषि विकास

नेपालको ग्रामीण अर्थतन्त्रको आधार कृषि हो। बूढीगण्डकी क्षेत्रको विकास गर्दा कृषिलाई पछाडि छोडेर अघि बढ्न सकिँदैन । आयोजनाका कारण प्रभावित हुने खेतीयोग्य जमिन, किसानको जीविकोपार्जन र कृषि उत्पादन प्रणालीलाई ध्यानमा राखेर कृषि विकासको छुट्टै योजना बनाउनुपर्छ ।

क्षेत्रअनुसार फलफूल, तरकारी, खाद्यान्न, मसला, मौरीपालन, पशुपालन र अन्य उपयुक्त कृषि व्यवसायको सम्भावना अध्ययन गर्न सकिन्छ । कुन उत्पादन उपयुक्त हुन्छ भन्ने निर्णय माटो, हावापानी, पानीको उपलब्धता र बजारको मागका आधारमा हुनुपर्छ ।

कृषि विकासलाई परम्परागत उत्पादनमा मात्र सीमित नराखी आधुनिक प्रविधि, सिँचाइ, गुणस्तरीय बीउ, प्राविधिक सेवा, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनसँग जोड्नुपर्छ । उदाहरणका लागि, किसानले उत्पादन गरेको तरकारी, फलफूल, दूध, मह वा अन्य कृषि सामग्रीको स्थानीय स्तरमै प्रशोधन र बिक्री गर्न सकिने व्यवस्था बनाउन सकिन्छ। पर्यटन व्यवसाय र स्थानीय बजारलाई कृषि उत्पादनको स्थायी ग्राहक बनाउन सकिन्छ ।

तर जलाशय बनेपछि वरिपरिका सबै जमिनमा सिँचाइ उपलब्ध हुन्छ भन्ने बुझाइ सही होइन । जलाशयको पानी कृषि प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना, उचाइको अन्तर, पम्पिङ खर्च, वातावरणीय प्रभाव र आर्थिक व्यवहार्यताको छुट्टै अध्ययन आवश्यक हुन्छ ।

यसैगरी, जलाशयमा माछापालन वा अन्य जलआधारित व्यवसाय सञ्चालन गर्नुअघि पानीको गुणस्तर, जैविक प्रभाव, जलाशय सञ्चालन नियम र सुरक्षाको मूल्याङ्कन गर्नुपर्छ । कृषकलाई तालिम, सहुलियतपूर्ण वित्तीय पहुँच, कृषि बीमा र बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सकेमा स्थानीय उत्पादनको मूल्य बढाउन सकिन्छ ।

हाम्रो सोच हुनुपर्छ—आयोजनाबाट प्रभावित किसानले आफ्नो परम्परागत आम्दानीको आधार गुमाएर मात्र बस्नुपर्ने अवस्था नआओस्; उनीहरूले नयाँ सीप, नयाँ बजार र नयाँ अवसर प्राप्त गरून् ।

रोजगारी, उद्योग र सीप विकास

कुनै पनि ठूलो आयोजना निर्माणको वास्तविक लाभ त्यसले सिर्जना गर्ने रोजगारी र आर्थिक अवसरबाट पनि मापन गरिन्छ । बूढीगण्डकी आयोजना निर्माणका क्रममा प्राविधिक, प्रशासनिक, निर्माण, यातायात, आपूर्ति, आवास र अन्य क्षेत्रमा कामका अवसर सिर्जना हुन सक्छन् । आयोजना सम्पन्न भएपछि पनि पर्यटन, कृषि, व्यापार, मर्मतसम्भार र सेवा क्षेत्रमा रोजगारीको सम्भावना रहन्छ । तर निर्माण अवधिमा सिर्जना भएका सबै रोजगारी स्थायी हुँदैनन्। त्यसैले दीर्घकालीन रोजगारी सिर्जना गर्ने कार्यक्रम अहिलेबाटै तयार गर्नुपर्छ ।

स्थानीय युवालाई निम्न क्षेत्रमा तालिम दिन सकिन्छ:

•    निर्माण कार्य र प्राविधिक सीप ।
•    विद्युत् तथा मेकानिकल मर्मतसम्भार ।
•    होटल व्यवस्थापन र पर्यटन सेवा ।
•    कृषि तथा खाद्य प्रशोधन ।
•    कम्प्युटर, डिजिटल सेवा र उद्यम सञ्चालन ।
•    सुरक्षा, प्राथमिक उपचार र विपद् व्यवस्थापन ।

स्थानीय उद्यमीलाई निर्माण सामग्री, ढुवानी, खाना, आवास, सरसफाइ र अन्य सेवा उपलब्ध गराउन सक्ने अवसर दिनुपर्छ । खरिद प्रक्रियामा प्रचलित कानुन र प्रतिस्पर्धात्मक व्यवस्थाको पालना गर्दै स्थानीय व्यवसायको क्षमता बढाउन सकिन्छ ।

साथै, निर्माणका लागि आवश्यक वस्तु तथा सेवा स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना अध्ययन गर्नुपर्छ । यसले विदेशी मुद्रा बाहिरिने दबाब कम गर्न, राष्ट्रिय उद्योगलाई बजार उपलब्ध गराउन र देशभित्र आर्थिक गतिविधि बढाउन मद्दत गर्न सक्छ । आयोजना सम्पन्न हुँदा केवल संरचना निर्माण भएको हुनु पर्याप्त हुँदैन; स्थानीय जनतामा सीप, उद्यमशीलता र आत्मविश्वास पनि विकास भएको हुनुपर्छ ।

वातावरण तथा सम्पदा संरक्षण 

विकास र वातावरण एकअर्काका विरोधी होइनन् । सही योजना, वैज्ञानिक अध्ययन र जिम्मेवार कार्यान्वयनबाट विकासका अवसर बढाउँदै वातावरणीय प्रभावलाई कम गर्न सकिन्छ । बूढीगण्डकीजस्तो ठूलो जलाशययुक्त आयोजनामा वन, वन्यजन्तु, जलचर, नदीको प्राकृतिक बहाव, स्थानीय संस्कृति, पुरातात्त्विक सम्पदा र भूगर्भीय अवस्थासम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र स्वीकृत व्यवस्थापन योजनाअनुसार प्रभाव न्यूनीकरण, प्रभावित परिवारको उचित व्यवस्थापन, वन संरक्षण र आवश्यक पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

जलाधार क्षेत्रको संरक्षण, पहिरो नियन्त्रण, नदी तथा खोलाको स्वच्छता र फोहोर व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता आवश्यक हुन्छ । जलाशयको वरिपरि जथाभावी घर, होटल र सडक निर्माण हुन नदिन भूउपयोग योजना बनाउनुपर्छ । सुरक्षित दूरी, भूगर्भीय अवस्था, जलाशयको सञ्चालन र विपद् जोखिमलाई ध्यानमा राखेर निर्माणको अनुमति दिनुपर्छ ।

विकासका क्रममा स्थानीय धार्मिक स्थल, ऐतिहासिक सम्पदा र सांस्कृतिक पहिचानलाई सम्भव भएसम्म संरक्षण गर्नुपर्छ । स्थानान्तरण आवश्यक हुने अवस्थामा पनि सम्बन्धित समुदायसँग परामर्श गरी उचित व्यवस्था गर्नुपर्छ । राष्ट्र निर्माण भनेको प्राकृतिक सम्पदा नष्ट गरेर भौतिक संरचना थप्नु मात्र होइन । भावी पुस्ताले पनि उपयोग गर्न पाउने गरी प्राकृतिक स्रोतको जिम्मेवार व्यवस्थापन गर्नु हो ।

बलियो प्राधिकरण आवश्यक

अब मूल प्रश्न आउँछ : जलविद्युत्, बस्ती विकास, पर्यटन, कृषि, सडक, वातावरण, रोजगारी र स्थानीय अर्थतन्त्रजस्ता विभिन्न विषयलाई एउटै दिशामा कसरी अघि बढाउने ? यी सबै काम फरक फरक निकायबाट मात्र सञ्चालन हुँदा योजना दोहोरिने, बजेट छरिने, जिम्मेवारी अस्पष्ट हुने र विकासको समग्र लाभ प्राप्त गर्न कठिन हुने जोखिम रहन्छ ।

यसैले बूढीगण्डकी क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट कानुनी आधार, पर्याप्त अधिकार, दक्ष जनशक्ति, पारदर्शी कार्यप्रणाली र जवाफदेहितासहितको बूढीगण्डकी विकास प्राधिकरण स्थापना गर्ने अवधारणा महत्त्वपूर्ण छ ।

यसको उद्देश्य अर्को सरकारी निकाय थप्नु मात्र हुनु हुँदैन ।बरु विद्यमान निकायबीच समन्वय गर्ने, दीर्घकालीन योजना बनाउने, विकासका कार्यक्रमलाई एकीकृत गर्ने र परिणामको अनुगमन गर्ने प्रभावकारी संस्था निर्माण गर्नु हुनुपर्छ । प्राधिकरणको संरचना र अधिकार संघीय कानुन, विद्यमान संस्थाहरूको कार्यक्षेत्र, स्थानीय तहको अधिकार तथा सरोकारवालासँगको परामर्शका आधारमा निर्धारण गर्नुपर्छ ।

प्राधिकरणका मुख्य जिम्मेवारी

•    पहिलो : एकीकृत गुरुयोजना निर्माण
बूढीगण्डकी जलाशय र प्रभाव पर्ने क्षेत्रको भूमि उपयोग, बस्ती विकास, सडक, पर्यटन, कृषि, उद्योग, वातावरण र सामाजिक विकासलाई समेटेर दीर्घकालीन गुरुयोजना तयार गर्ने ।

•    दोस्रो : जलविद्युत् आयोजना निर्माणमा सहजीकरण
बूढीगण्डकी जलविद्युत् कम्पनीद्वारा हालसम्म भइरहेको काम र सम्बन्धित सरकारी निकायबीच समन्वय गरी आयोजना विकास, वित्तीय व्यवस्थापन, निर्माण र सञ्चालनसम्बन्धी कामलाई सहज बनाउने ।

•    तेस्रो : पुनर्वास र जीविकोपार्जन 
प्रभावित परिवारको अधिकार संरक्षण, उचित क्षतिपूर्ति, पुनःस्थापना, सीप विकास र दीर्घकालीन आयआर्जनका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने।

•    चौथो : नगर तथा बस्ती विकास
सम्बन्धित स्थानीय तहसँग सहकार्य गरी योजनाबद्ध बस्ती, बजार केन्द्र, सार्वजनिक सेवा र आवश्यक पूर्वाधारको विकासमा सहयोग गर्ने ।

•    पाँचौँ : पर्यटन, कृषि र उद्योग
सम्भाव्यताका आधारमा निजी क्षेत्र, सहकारी, स्थानीय उद्यमी र समुदायलाई सहभागी गराई नयाँ आर्थिक गतिविधि विस्तार गर्ने ।
•    छैटौँ—: वातावरण तथा विपद् व्यवस्थापन
जलाधार संरक्षण, बाढी पूर्वसूचना, पहिरो जोखिम न्यूनीकरण, वातावरणीय अनुगमन र जलाशय वरिपरिको सुरक्षित भूउपयोगमा समन्वय गर्ने ।

•    सातौँ—: लगानी र स्रोत परिचालन
सरकारी बजेट, निजी लगानी, वित्तीय संस्था, विकास साझेदार र अन्य कानुनसम्मत स्रोतबाट आवश्यक लगानी जुटाउने सम्भावना विकास गर्ने ।

•    आठौँ : पारदर्शिता र जवाफदेहिता
आयोजना, बजेट, खरिद, प्रगति, वातावरणीय अवस्था र स्थानीय लाभसम्बन्धी जानकारी सार्वजनिक गर्ने तथा नियमित रूपमा सामाजिक र वित्तीय लेखापरीक्षण गराउने ।

प्राधिकरणले सबै काम आफैँ गर्नेभन्दा पनि सम्बन्धित निकायलाई जिम्मेवारी स्पष्ट गरी एकीकृत परिणाम हासिल गर्ने व्यवस्था मिलाउनुपर्छ । स्थानीय सरकारको भूमिका र नागरिकको सहभागितालाई कमजोर बनाउने होइन, अझ प्रभावकारी बनाउने यसको उद्देश्य हुनुपर्छ ।

कम्पनी र प्राधिकरणको भूमिका

प्राधिकरण स्थापना नभएसम्म बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड र प्रस्तावित बूढीगण्डकी विकास प्राधिकरणको काम, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा छुट्याउनु आवश्यक हुन्छ ।

बूढीगण्डकी जलविद्युत् कम्पनीको मुख्य जिम्मेवारी बूढीगण्डकी जलाशय आयोजना सफलतापूर्वक विकास गर्नु हो र प्राधिकरण स्थापना नभएसम्म बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडले बूढीगण्डकी जलाशय आयोजना विकासको कामलाई निरन्तरता दिनुपर्छ । यसअन्तर्गत प्राविधिक अध्ययन, वित्तीय व्यवस्थापन, ठेक्का तथा निर्माण व्यवस्थापन, गुणस्तर नियन्त्रण, वातावरणीय र सामाजिक दायित्व तथा आयोजना सञ्चालनको तयारीजस्ता काम पर्छन् ।

अर्कोतर्फ, विकास प्राधिकरणको प्रस्तावित भूमिका बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको साथसाथै समग्र क्षेत्रको एकीकृत विकासमा केन्द्रित हुनुपर्छ । यसले बस्ती विकास, पर्यटन, कृषि, स्थानीय आर्थिक गतिविधि, पूर्वाधार र वातावरणीय कार्यक्रमबीच समन्वय गर्न सक्छ । यसरी स्पष्ट कार्यविभाजन गर्न सकेमा एउटै कामका लागि दुई निकायबीच दोहोरो खर्च हुने वा जिम्मेवारी अन्योलमा पर्ने सम्भावना घट्छ । जलविद्युत् आयोजनाको निर्माण र सञ्चालनमा ढिलाइ नहुने तथा क्षेत्रीय विकासका कार्यक्रम पनि सँगसँगै अघि बढ्ने वातावरण बनाउनुपर्छ ।

यसका लागि आयोजना विकासको चरणसँग मेल खाने गरी चरणबद्ध क्षेत्रीय विकास योजना आवश्यक हुन्छ। सबै काम एकैपटक गर्न खोज्नुभन्दा प्राथमिकता निर्धारण गरी स्रोत र क्षमताअनुसार कार्यान्वयन गर्नु उपयुक्त हुन्छ ।

लगानी, लाभ बाँडफाँट र स्थानीय सहभागिता

एकीकृत विकासको योजना बनाउनु मात्र पर्याप्त हुँदैन । त्यसलाई कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत पनि जुटाउनुपर्छ । बूढीगण्डकी क्षेत्रको विकासमा सरकारी लगानी, जलविद्युत् आयोजनासँग सम्बन्धित कानुनसम्मत स्रोत, निजी क्षेत्रको लगानी, बैंक तथा वित्तीय संस्थाको सहभागिता र उपयुक्त विकास साझेदारीको सम्भावना अध्ययन गर्न सकिन्छ तर जलविद्युत् आयोजनाबाट प्राप्त हुने सबै आम्दानी स्वतः प्राधिकरणको कोषमा जम्मा गर्न मिल्छ भन्ने मान्नु हुँदैन । आयोजनाको आम्दानी, ऋण भुक्तानी, सञ्चालन खर्च, कर, रोयल्टी र अन्य दायित्वसम्बन्धी विद्यमान कानुनी तथा वित्तीय व्यवस्थाको सम्मान गर्नुपर्छ ।

त्यसैले, प्राधिकरणको वित्तीय संरचना स्पष्ट कानुनी व्यवस्था, सम्भाव्यता अध्ययन र पारदर्शी वित्तीय योजनाका आधारमा तयार गर्नुपर्छ ।स्थानीय नागरिकको हितलाई पनि विकास योजनाको केन्द्रमा राख्नुपर्छ । प्रभावित परिवारले उचित क्षतिपूर्ति पाउनुका साथै नयाँ सीप, व्यवसाय र रोजगारीका अवसरमा पहुँच प्राप्त गर्नुपर्छ । स्थानीय समुदायको सहभागितामा विकास कोष वा लाभ बाँडफाँटको उपयुक्त प्रणाली स्थापना गर्न सकिने सम्भावना पनि अध्ययन गर्न सकिन्छ । यस्तो व्यवस्था कानुनी आधार, वित्तीय दिगोपन र निष्पक्ष वितरणको सिद्धान्तमा आधारित हुनुपर्छ ।

महिला, युवा, सीमान्तकृत समुदाय र आर्थिक रूपमा कमजोर परिवारलाई पनि विकासका अवसरमा सहभागी गराउनुपर्छ । विकासको लाभ केही सीमित व्यक्ति वा संस्थामा मात्र केन्द्रित हुनु हुँदैन । स्थानीय जनताले आफ्नो क्षेत्रमा भइरहेको परिवर्तनको लाभ प्रत्यक्ष अनुभव गर्न पाउनुपर्छ ।

सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैली

ठूलो आयोजना र ठूलो विकास योजनासँगै ठूलो जिम्मेवारी पनि आउँछ । त्यसैले, संस्थागत संरचना बलियो बनाउँदा सुशासनलाई पहिलो प्राथमिकता दिनुपर्छ । प्राधिकरण स्थापना गरिएमा दक्ष प्राविधिक, अर्थशास्त्री, नगर योजनाकार, वातावरणविद्, कृषि विज्ञ, पर्यटन विशेषज्ञ, सामाजिक विकासकर्मी र वित्तीय व्यवस्थापनका जनशक्तिलाई आवश्यकताअनुसार सहभागी गराउनुपर्छ ।

प्राधिकरणको कार्यसम्पादन केवल बैठक, प्रतिवेदन र बजेट खर्चका आधारमा मूल्याङ्कन गर्नु हुँदैन । त्यसबाट प्राप्त वास्तविक उपलब्धिलाई मापन गर्नुपर्छ ।

उदाहरणका लागि:
•    प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जनमा भएको सुधार ।
•    स्थानीय युवाले प्राप्त गरेको तालिम र रोजगारी ।
•    नयाँ तथा स्तरोन्नति भएका सार्वजनिक सेवा र पूर्वाधार ।
•    कृषि उत्पादन र स्थानीय उद्यमबाट भएको आम्दानी वृद्धि ।
•    पर्यटन गतिविधि र स्थानीय व्यवसायको विस्तार ।
•    वातावरणीय संरक्षण र विपद् जोखिम न्यूनीकरणका उपलब्धि ।
•    समयमै सम्पन्न भएका कार्यक्रम र बजेटको प्रभावकारी उपयोग ।
यस्ता सूचकका आधारमा नियमित अनुगमन गर्नुपर्छ। प्रगति सार्वजनिक गर्नुपर्छ र कमजोरी देखिएमा सुधारको जिम्मेवारी तोक्नुपर्छ ।

हामीले संस्थालाई व्यक्तिभन्दा बलियो बनाउनुपर्छ। नेतृत्व परिवर्तन भए पनि योजना, बजेट, प्राथमिकता र विकासको निरन्तरता कायम रहने प्रणाली स्थापना गर्नुपर्छ ।

तीन तहका सरकारबीच सहकार्य

बूढीगण्डकी क्षेत्रको विकास कुनै एउटा कम्पनी वा एउटा सरकारी निकायको प्रयासबाट मात्र सम्भव हुँदैन । संघीय सरकारको नीतिगत नेतृत्व, प्रदेश सरकारको समन्वय, सम्बन्धित स्थानीय तहको सक्रिय सहभागिता, निजी क्षेत्रको लगानी र स्थानीय नागरिकको विश्वास आवश्यक हुन्छ ।

गोरखा र धादिङका सम्बन्धित स्थानीय तहलाई विकास प्रक्रियाको महत्त्वपूर्ण  साझेदार बनाउनुपर्छ । स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता, बस्तीको अवस्था, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र स्थानीय व्यवसायसम्बन्धी प्राथमिकता पहिचान गर्न सक्छन् । प्रस्तावित विकास प्राधिकरणले यी प्राथमिकतालाई एकीकृत गुरुयोजनासँग जोड्न सक्छ ।

सडक निर्माण गर्दा पर्यटन र कृषि बजारलाई पनि ध्यान दिनुपर्छ। बस्ती विकास गर्दा विद्यालय, स्वास्थ्य संस्था र रोजगारीको सम्भावनालाई समेट्नुपर्छ । पर्यटन विस्तार गर्दा स्थानीय उत्पादनको बिक्री बढाउने व्यवस्था गर्नुपर्छ । यसरी एउटा क्षेत्रमा गरिएको लगानीले अर्को क्षेत्रमा पनि लाभ दिने वातावरण बनाउनुपर्छ ।

यही नै एकीकृत विकासको मूल भावना हो—एउटै योजनाले धेरै क्षेत्रमा सकारात्मक परिणाम दिन सक्ने गरी स्रोत र प्रयासलाई जोड्नु ।

कार्यान्वयनको स्पष्ट मार्गचित्र
बूढीगण्डकीको एकीकृत विकासलाई व्यवहारमा उतार्न कामको प्राथमिकता र समयसीमा स्पष्ट हुनुपर्छ।

पहिलो चरण : आधार तयार गर्ने
सबैभन्दा पहिले विद्यमान अध्ययन, वातावरणीय प्रतिवेदन, प्रभावित क्षेत्रको विवरण, भूउपयोग, स्थानीय आवश्यकताहरू र आर्थिक सम्भावनाको समीक्षा गर्नुपर्छ। सम्बन्धित सरकारी निकाय, स्थानीय तह, प्रभावित परिवार, विज्ञ, निजी क्षेत्र र नागरिक समाजसँग परामर्श गर्नुपर्छ। प्रस्तावित प्राधिकरणको औचित्य, कानुनी स्वरूप, अधिकार, खर्च र जिम्मेवारीको विस्तृत अध्ययन तयार गर्नुपर्छ।

दोस्रो चरण : कानुनी र संस्थागत व्यवस्था
बूढीगण्डकी विकास प्राधिकरणको आवश्यकता बुझ्न आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिएको नीतिगत व्यवस्थालाई ध्यानपूर्वक हेर्नुपर्छ।बजेट वक्तव्यमा १,२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना अधिकारसम्पन्न प्राधिकरणको मोडेलमा अगाडि बढाउने उल्लेख छ । साथै, २०८३ साल आश्विन ३० गते मन्त्रिपरिषद्ले प्रस्तावित बूढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यसले सरकारको नीतिगत सोच आयोजनाको निर्माण मात्र होइन, त्यसको बहुउद्देश्यीय उपयोग र संस्थागत व्यवस्थापनतर्फ पनि उन्मुख भएको संकेत गर्छ ।

यहाँ एउटा महत्त्वपूर्ण भिन्नता स्पष्ट हुनुपर्छ– बजेटमा प्राधिकरणको मोडेललाई प्राथमिकता दिइनु र प्राधिकरणसम्बन्धी कानुन पारित भई पूर्ण रूपमा स्थापना हुनु फरक विषय हुन् । विधेयकको अन्तिम स्वरूप, अधिकार, संगठन संरचना र कार्यान्वयन व्यवस्था सम्बन्धित कानुनी प्रक्रियाबाट स्पष्ट हुनुपर्छ । प्राधिकरण स्थापना गर्न उपयुक्त कानुन निर्माण वा विद्यमान कानुनमा आवश्यक व्यवस्था गर्नुपर्छ । त्यसको अधिकारक्षेत्र, कार्यविभाजन, वित्तीय संरचना, जवाफदेहिता र स्थानीय तहसँगको सम्बन्ध स्पष्ट गर्नुपर्छ । यसै चरणमा एकीकृत गुरुयोजना, प्राथमिकता निर्धारण र लगानीको प्रारम्भिक ढाँचा तयार गर्न सकिन्छ ।

तेस्रो चरण : प्राथमिकताका कार्यक्रम कार्यान्वयन
आयोजनाको प्रगतिसँग मेल खाने गरी सुरक्षित बस्ती, सडक, सार्वजनिक सेवा, सीप विकास, कृषि, पर्यटन र वातावरण संरक्षणका प्राथमिक कार्यक्रम सुरु गर्नुपर्छ । स्थानीय जनतालाई प्रत्यक्ष लाभ दिने, कम जोखिम भएका र आर्थिक रूपमा सम्भाव्य कार्यक्रमलाई प्राथमिकता दिन सकिन्छ ।

चौथो चरण : दीर्घकालीन आर्थिक केन्द्रको विकास
पूर्वाधार र आधारभूत सेवा विकास भएपछि उपयुक्त स्थानमा बजार केन्द्र, पर्यटन सेवा, कृषि प्रशोधन, साना उद्योग र अन्य आर्थिक गतिविधि विस्तार गर्न सकिन्छ । यी कार्यक्रमको सफलता मूल्याङ्कन गर्दै नयाँ लगानी र थप विकासका क्षेत्र पहिचान गर्नुपर्छ । यो मार्गचित्र कठोर समयसीमा तोक्नेभन्दा पनि अध्ययन, कानुनी प्रक्रिया, वित्तीय उपलब्धता र आयोजनाको वास्तविक प्रगतिका आधारमा कार्यान्वयन गर्नुपर्छ ।

विकासको केन्द्रमा जनता

कुनै पनि आयोजना कति ठूलो छ भन्ने कुरा त्यसको मेगावाट, लागत वा बाँधको उचाइले मात्र निर्धारण गर्दैन । त्यसबाट जनताको जीवनमा कस्तो परिवर्तन आयो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण  हुन्छ । बूढीगण्डकी आयोजनाबाट प्रभावित परिवारको पीडा र अपेक्षालाई बुझ्नु आवश्यक छ । आफ्नो घर, जग्गा, गाउँ वा परम्परागत जीवनशैलीमा परिवर्तन भोग्नुपर्ने जनतालाई केवल राष्ट्रिय विकासको नाममा त्याग गर्न भनिरहनु पर्याप्त हुँदैन ।

उनीहरूलाई सम्मानपूर्वक सुन्नुपर्छ, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ,  जीविकोपार्जनका नयाँ अवसर उपलब्ध गराउनुपर्छ र विकासका निर्णयमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना हुनुको अर्थ स्थानीय जनताको आवाज कम महत्त्वपूर्ण  हुनु होइन । बरु स्थानीय नागरिकको अधिकार र सम्मानको संरक्षण गरेर आयोजना अगाडि बढाउनु नै साँचो राष्ट्रिय गौरव हो ।

बूढीगण्डकी क्षेत्रका नागरिकले यो आयोजना आफ्नो जीवनमा अवसर ल्याउने परियोजना हो भन्ने अनुभूति गर्न सक्नुपर्छ । जब स्थानीय जनताको विश्वास प्राप्त हुन्छ, तब विकासको काममा सहकार्य बढ्छ, सामाजिक सम्बन्ध बलियो हुन्छ र आयोजना दीर्घकालीन रूपमा सफल हुने आधार तयार हुन्छ ।

राष्ट्रिय स्वाभिमान र भावी पुस्ताप्रतिको जिम्मेवारी

बूढीगण्डकीको विकासलाई आजको आवश्यकतामा मात्र सीमित राख्नु हुँदैन । यसले आगामी पुस्ताका लागि कस्तो आर्थिक, सामाजिक र वातावरणीय आधार तयार गर्छ भन्ने विषयमा पनि विचार गर्नुपर्छ । हामीले निर्माण गर्ने सडक, बाँध, बस्ती, बजार, विद्यालय र सार्वजनिक संस्थाले धेरै दशकसम्म सेवा दिनुपर्छ । त्यसका लागि गुणस्तरीय निर्माण, दीर्घकालीन मर्मतसम्भार, आर्थिक दिगोपन र संस्थागत क्षमता आवश्यक हुन्छ ।

देशको आफ्नै स्रोतबाट ऊर्जा उत्पादन बढाउनु राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो तर स्वाभिमान भनेको केवल स्वदेशी स्रोतको उपयोग गर्नु मात्र होइन; स्रोतको सही व्यवस्थापन गर्नु, जनताको विश्वास कायम राख्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु र प्राप्त अवसरलाई व्यापक राष्ट्रिय हितमा उपयोग गर्नु पनि हो ।

बूढीगण्डकीको विकासबाट देशले ऊर्जा, उद्योग, पर्यटन, कृषि र मानव संसाधनको विकासमा योगदान प्राप्त गर्न सकेमा यसको प्रभाव आयोजनास्थलभन्दा धेरै टाढासम्म पुग्न सक्छ । हामीले यस्तो विकास मोडेल तयार गर्नुपर्छ, जसले स्थानीय समुदायलाई अवसर दिन्छ, निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्छ, सरकारलाई दीर्घकालीन लाभ दिन्छ र भावी पुस्ताका लागि जिम्मेवार विकासको उदाहरण प्रस्तुत गर्छ ।

निचोड : बूढीगण्डकीमार्फत समृद्ध नेपाल

बूढीगण्डकी आयोजना नेपालको ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण  परियोजना हो। तर यसको सम्भावना जलविद्युत् उत्पादनमा मात्र सीमित छैन । यसले ऊर्जा सुरक्षा बलियो बनाउन, जलाशय सञ्चालनमार्फत बाढी जोखिम व्यवस्थापनमा योगदान दिन, व्यवस्थित बस्ती विकास गर्न, पर्यटन विस्तार गर्न, कृषि र स्थानीय उद्योगलाई प्रोत्साहन गर्न तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्ने सम्भावना बोकेको छ । यी सम्भावनालाई वास्तविक उपलब्धिमा बदल्न एकीकृत योजना, दीर्घकालीन सोच, पर्याप्त लगानी, स्थानीय जनताको सहभागिता र प्रभावकारी संस्थागत व्यवस्था आवश्यक हुन्छ ।

यसै उद्देश्यका लागि स्पष्ट कानुनी आधार र जवाफदेहितासहितको बूढीगण्डकी विकास प्राधिकरण स्थापना गर्ने प्रस्तावमाथि गम्भीर अध्ययन र आवश्यक निर्णय गर्नुपर्छ । प्राधिकरणको काम जलविद्युत् कम्पनीको जिम्मेवारी दोहोर्‍याउनु होइन, समग्र क्षेत्रको विकासलाई एउटै दिशामा अघि बढाउनु हुनुपर्छ ।
बूढीगण्डकी जलविद्युत् कम्पनीले प्राधिकरण स्थापना नभएसम्म बूढीगण्डकीजलाशययुक्त जलविद्युत् आयोजना बिकासको कामलाई निरन्तरता दिनुपर्छ । आयोजना सफलतापूर्वक विकास गर्ने, प्राधिकरणले क्षेत्रीय विकासमा समन्वय गर्ने, स्थानीय सरकारले नागरिकका आवश्यकता सम्बोधन गर्ने र संघीय तथा प्रदेश सरकारले नीतिगत तथा वित्तीय सहयोग गर्ने व्यवस्था बनाउन सकिन्छ ।

यसरी सबै निकायको क्षमता र जिम्मेवारीलाई जोड्न सकेमा बूढीगण्डकी राष्ट्रिय विकासको एउटा उदाहरणीय नमुना बन्न सक्छ ।

अन्त्यमा, हामी सबैले एउटा कुरा मनन गर्नुपर्छ– राष्ट्र निर्माण सरकारको मात्र जिम्मेवारी होइन। सरकारी निकाय, प्राविधिक, निजी क्षेत्र, स्थानीय समुदाय र नागरिक सबैको साझा जिम्मेवारी हो । ठूला आयोजनाको सफलता पनि सबैको सहकार्यबाट मात्र सम्भव हुन्छ ।

बूढीगण्डकीलाई सफल बनाउनु भनेको एउटा जलविद्युत् आयोजना सम्पन्न गर्नु मात्र होइन; ऊर्जा सुरक्षामा योगदान पुर्‍याउनु, जनताको जीवनस्तर उकास्नु, स्थानीय अर्थतन्त्र बलियो बनाउनु र राष्ट्रको समृद्धिका लागि नयाँ आधार तयार गर्नु हो ।

हाम्रो सोच संकुचित हुनु हुँदैन। हाम्रो योजना एकीकृत हुनुपर्छ । हाम्रो कार्यशैली पारदर्शी हुनुपर्छ । हाम्रो विकास जनतामुखी हुनुपर्छ । हाम्रो लक्ष्य स्पष्ट हुनुपर्छ– नेपालको प्राकृतिक सम्पदालाई जिम्मेवारीपूर्वक उपयोग गर्दै वर्तमान र भावी पुस्ताका लागि समृद्ध, सुरक्षित र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु ।

त्यसैले, बूढीगण्डकीको पानीबाट ऊर्जा, यसको वरिपरिबाट अवसर, स्थानीय जनताबाट सहभागिता र सामूहिक प्रयासबाट समृद्धि सिर्जना गरौँ । बूढीगण्डकीको विकासलाई एउटा आयोजनाको सफलतामा मात्र सीमित नराखौँ; यसलाई समृद्ध नेपाल निर्माणको साझा राष्ट्रिय अभियान बनाऔँ।

लेखक बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस

अरुण रजौरिया

अरुण रजौरिया, बूढीगण्डकी जलविद्युत्‌ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्  ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३