पृष्ठभूमि
पछिल्लो समय विश्व अर्थतन्त्र र राजनीतिमा तातो बहसको विषय बनेको छ– बढ्दो वैश्विक तापमान र यसले निम्त्याएको जलवायु परिवर्तन । दिनानुदिन बढ्दै गरेको विश्वव्यापी तापक्रमले निम्ताउने मौसमी बदलाव एवम् प्रकृतिक स्रोत साधन र तिनको चक्रमाथिको प्राभावले समग्र मानवीय जीवनका क्रियाकलापमाथि नै प्रत्यक्ष र परोक्ष असर गर्दै आएको छ । पेट्रोलियम र प्राकृतिक ग्यासको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीरण, कृषि तथा पशुपालन, वनविनाश तथा डढेलो एवम् अन्य मानवीय गतिविधिले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढ्नुमा प्रमुख भूमिका खेल्दै आएका छन् ।
विश्व मौसम सङ्गठन (डब्लुएमओ) ले सन् २०२४ लाई सबैभन्दा तातो वर्षको रूपमा उल्लेख गरेको छ । सन् २०१५–२०२५ सम्मका ११ वर्ष रेकर्ड राखिएयताकै सबैभन्दा तातो ११ वर्षको रूपमा उल्लेख गरिएको छ ।
बढ्दो विश्वव्यापी तापक्रमले हिमनदी र ध्रुवीय बरफ पग्लँदै जाने, हिमताल विस्फोट भई बाढीको जोखिम बढ्ने, हिमनदीहरूमा पानी उपलब्धतामा असर पर्ने देखिएको छ । साथै, समुद्री सतह बढेर तटीय भूभाग र टापुहरू डुबानको जोखिममा पर्ने, खडेरी, अनियन्त्रित वर्षा र कृषि तथा खाद्य सुरक्षामा असर गर्ने, वन, जैविक विविधता र पारिस्थितिक प्रणालीमा क्षति पुग्नको साथै समग्र मानव स्वास्थ्यमा असर पर्ने देखिन्छ ।
नेपालको अवस्था
नेपाल एक प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो । यहाँको भौगोलिक बनावट आफैँमा एक अनुपम सम्पदाको रूपमा रहेकोले विश्वमै पर्यटकीय गन्तव्यको रूपमा स्थापित छ तर यही प्राकृतिक तथा भौगोलिक संरचना नेपालको लागि बेलाबेलामा अभिशाप समेत बन्ने गरेको छ । विभिन्न समयमा घटिरहेका प्रकृतिक विपत्ति र धन–जनको क्षतिले समेत यो तथ्यलाई पुष्टि गर्दछ । सन् २०२४ को विश्व जोखिम सूचकाङ्कका अनुसार नेपाल विश्वकै प्राकृतिक विपद् जोखिमका हिसाबले १९३ मध्ये १३६ औँ स्थानमा रहेको छ । अर्थात् यो उच्च जोखिमयुक्त देशको स्थानमा छ ।
पछिल्लो समय बढ्दो विश्वव्यापी तापमानले पग्लिँदै गरेका हिमाल, हिमनदी र हिमताल विस्फोटको सम्भावनाले नेपाललाई प्राकृतिक विपत्तिको हिसाबले झनै जोखिमयुक्त देशको रूपमा स्थापित गरेको छ ।
जलविद्युत् क्षेत्र
नेपालको जलविद्युत् उत्पादन मुख्यतः हिमनदीमा आधारित छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०२५/०२६ को वार्षिक प्रतिवेदन अनुसार कुल जडित विद्युत् उत्पादन क्षमता ४१२० मेगावाट छ । यसको लगभग ९१.६ प्रतिशत अर्थात् ३,७७४ मेगावाट हिस्सा जलविद्युत्को छ । बाँकी, सौर्य उर्जाको हिस्सा ७ प्रतिशत, थर्मल उर्जाको हिस्सा १.३ प्रतिशत र बगासद्वारा उत्पादित् विद्युत्को हिस्सा ०.१ प्रतिशत रहेको छ ।
यस्तो पृष्ठभूमिमा विश्वव्यापि तापमानको वृद्धि यही क्रममा जारी रहे हिमाल तथा हिमतालहरू पग्लदै (फुट्ने) जाने हो भने यिनै स्रोतमा आधारित नदिहरूको वहाव घट्ने निश्चित छ । फलस्वरुपः कालान्तरमा समग्र विद्युत् उत्पादन क्षमतामा ठूलो असर पर्न सक्ने देखिन्छ ।
अर्कोतर्फ, जलमा आधारित विद्युत् उत्पादन केन्द्रका बाँध, वेर, पानी लैजाने सुरुङ, विद्युत्गृह, स्विचयार्ड तथा सबस्टेशन, प्रसारण एवम् वितरण लाइन जस्ता पूर्वाधार पनि हिमताल विष्फोटबाट आउने अप्रत्याशित बाढीको चपेटामा परेर ध्वस्त हुने जोखिम उच्च छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय एवम् विपद् व्यवस्थापना प्राधिकरणको तथाङ्क अनुसार हालसालै आएको रसुवा भोटेकोसी बाढीले मुलतः भोटेकोसी र त्रीशुली नदी बेसिनमा १२ वटा जलविद्युत् केन्द्र ध्वस्त बनाएएको छ । जसको कुल जडित उत्पादन क्षमता ४३१ मेगावाट रहेको छ । निर्माणको विभिन चरणमा रहेका करिब ७८३ मेगावाटका आयोजनामा क्षति पुर्याएको छ । त्यस्तै, २२० केभी त्रिशूली–३ ‘बी’ हब लगयतका सबस्टेसनहरू समेत ध्वस्त भएका छन् ।
उक्त अप्रत्याशित र प्रलयकारी बाढीबाट उर्जा क्षेत्रसहित समग्रमा पुर्याएको आर्थिक क्षति निकै ठूलो छ । जलविद्युत्को बाहुल्य रहेको नेपाल जस्तो मुलुकका लागि भविष्यमा जुनसुकै बेला पनि ठूलो ऊर्जा सङ्कट आउन सक्छ भन्ने कुराको ‘रेड सिग्नल’ उक्त बाढीले दिएको आभास भएको छ ।
यी विविध घटनाक्रमले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन सुरक्षा प्रदान गरी दिगो विकासको मार्गमा उन्मुख गराउने हो भने ‘उर्जा मिश्रण’को आवश्यकतालाई समयमै उच्च महत्त्वका साथ हेरिनुपर्ने कुरा इङ्गित गरेको छ ।
के हो उर्जा मिश्रण ?
सामान्य अर्थमा भन्दा कुनै पनि देश ऊर्जाका एउटैखाले स्रोतमा निर्भर नरही विभिन्न स्रोतको सामञ्जस्यतापूर्ण समावेशिता अपनाउनु नै ‘उर्जा मिश्रण’ हो । यसले सम्भावित प्राकृतिक विपत्ती वा भू–राजनीति प्रभावका कारण उत्पन्न हुन सक्ने विश्वव्यापी आपूर्ति प्रणालीमा अवरोधले सम्बन्धित देशको समग्र उर्जा क्षेत्रमा कमभन्दा कम असर पारोस् भन्ने उद्देश्य राखेको हुन्छ । ऊर्जा मिश्रणले उर्जा सुरक्षाकाे प्रत्याभूति गराउनुका साथै नवीकरणीय उर्जाको हिस्सा बढाउन समेत मद्दत गर्दछ, जसले वातावरण संरक्षणमा सहयोग पुर्याउने, स्वदेशी उत्पादित स्रोतहरूको प्रयोगमा टेवा पुर्याउने, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ वा कोइलाको मूल्यमा हुने उतारचढावको प्रभाव कम गरी मूल्य स्थिर राख्न सहयोग पुर्याउने जस्ता विविध फाइदा समेत प्रदान गर्दछ ।
मुलतः नेपालको विद्युत् उत्पादनमा नविकरणीय ऊर्जा नै भरपर्दो तथा सुलभ स्रोतको रूपमा रहँदै आएको छ । यहाँ सैद्धान्तिकरूपमा जलविद्युत्को सम्भाव्य उत्पादन क्षमता ८३ हजार मेगावाट मानिँदै आएको छ । वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको तथ्याङ्क अनुसार सौर्य ऊर्जाको सम्भाव्य क्षमता ४७ हजार मेगावाट र वायु उर्जाको ३ हजार मेगावाट मानिएको छ ।
विश्वस्तरमा ऊर्जा मिश्रण
विश्वमा सबैभन्दा बढी ऊर्जा खपत गर्ने छिमेकी देश चीनको कुल जडित उत्पादन क्षमता ३ हजार ८९१ गिगावाट रहेको छ । उक्त देशको ऊर्जा मिश्रणमा सबैभन्दा बढी कोइलाको हिस्सा ३३.४ प्रतिशत छ । त्यस्तै, सौर्य विद्युत् ३०.९ प्रतिशत, वायु ऊर्जा १६.४ प्रतिशत, जलविद्युत् ११.५ प्रतिशत र अन्य ४.४ प्रतिशत रहेको छ ।
त्यस्तै, अर्को छिमेकी भारतको कुल जडित विद्युत् उत्पादन क्षमता ५२० गिगावाट रहेको छ । उक्त देशको ऊर्जा मिश्रणमा पनि सबैभन्दा बढी हिस्सा कोइलाकै छ । भारतमा कोइला तथा लिग्नाइटबाट उत्पादित विद्युत्को जडित क्षमता ४३.८ प्रतिशत छ । नवीकरणीय (सौर्य, वायु, अन्य) ऊर्जा स्रोतको हिस्सा ४०.६ प्रतिशत, जलविद्युत् ९.८ प्रतिशत र अन्य स्रोतको ५.७ प्रतिशत रहको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाको कुल जडित क्षमतामा सबैभन्दा बढी हिस्सा रहेको प्राकृतिक ग्यासको हिस्सा ४० प्रतिशत, सौर्य ३१.५, नविकणीय ऊर्जा २१.५ प्रतिशत तथा बाँकी अन्यको ऊर्जाको हिस्सा छ । त्यस्तै, ब्राजिलको ऊर्जा उत्पादनमा जलविद्युत्को ६० प्रतिशत, सौर्यको २४.८ प्रतिशत एवम् वायु तथा जैविक ऊर्जाको हिस्सा १७.१ प्रतिशत रहेको छ ।
उल्लिखित देशहरूको ऊर्जा मिश्रणको अवस्थालाई मध्येनजर गर्दा नेपालमा जलविद्युत्को हिस्सा ९१.६ प्रतिशत देखिनु र स्रोतको विविधीकरण गर्न नसक्नु ऊर्जा सुरक्षाको दृष्टिकोणले प्रतिकूल देखिन्छ ।
ऊर्जा मिश्रणको यो अवस्थालाई सरकार र ऊर्जा क्षेत्रको मुख्य जिम्मेवारी लिँदै आएको विद्युत् प्राधिकरणले केही हदसम्म चासो दिएको पनि देखिन्छ । विभिन्न प्रतिवेदनमा ऊर्जा मिश्रणलाई एक महत्त्वपूर्ण चिन्तनको रूपमा उल्लेख गरिए पनि यसले कार्यान्वयनतर्फ भने ठोस गति लिन सकेको देखिँदैन ।
राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक २०७२ ले ऊर्जा मिश्रणकै एउटा ढाँचाको रूपमा लिन सकिने 'उत्पादन मिश्रण (जेनेरेसन मिक्स)' लाई प्राथमिकता दिएको देखिन्छ । यसले नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको बाहुल्यतालाई कम गरी जलाशय, पम्प जलाशय तथा आंशिक जलाशय (पिआरओआर) आयोजनाको हिस्सा बढाउँदै लाने उद्देश्य राखेको थियो । यस अन्तर्गत जलाय तथा पम्प जलाशयको हिस्सा ४० देखि ५० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै, आंशिक जलाशयको हिस्सा १५ देखि २० प्रतिशत, नदी प्रवाहमा आधारित आयोजनाको हिस्सा २५ देखि ३० प्रतिशतभित्र सीमित राख्ने र अन्य नवीकरणीय ऊर्जाको हिस्सा ५ देखि १० प्रति पुर्याउने लक्ष्य राखेको थियो ।
विविध कारणले उद्देश्य अनुरूपको सफलता हात पर्न नसके पनि यो उद्देश्यले ऊर्जा मिश्रण/उत्पादन मिश्रणको आवश्यकतालाई भने महत्त्वका साथ हेरेको देखिन्छ ।
आगामी दिशा
एकातिर, शक्ति राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको विषयलाई वेवास्ता गर्दै गएको देखिन्छ । उनीहरूले यसलाई राजनीतिक मुद्दाको रूपमा स्थापित गर्दै लाने सम्भावनासमेत उत्तिकै बढको देखिन्छ । अर्कोतिर, बढ्दो वैश्विक तापमानका कारण जलवायु परिवर्तन र यसबाट सिर्जना हुने विपद्को उच्च जोखिममा रहेका नेपाल जस्ता राष्ट्रहरूले यसको क्षति दिनप्रतिदिन भोग्दै जानुपर्ने बिडम्बनापूर्ण विवशता स्थापित हुँदै गइरहेको छ । यसर्थ, निकट भविष्यमै आउन सक्ने कहालीलाग्दो ऊर्जा सङ्कटको अवस्थालाई व्यवस्थापन गर्न नेपाल सरकार र सरोकारवाला निकायले ‘ऊर्जा मिश्रण’को गाम्भीर्यतालाई समयमै बोध गरी कार्यान्वयनमा अघि बढ्नु अपरिहार्य छ ।
लेखक नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर हुन् ।