काठमाडाैँ । सल्यानको दार्मा गाउँपालिका–३ का धुलखर्क, मैनेरी र झुलेली तथा कुमाख गाउँपालिका–६ को तिहारिचौरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । दार्मा–३ का ३ स्थानमा २५ केभिएका ३ थान र कुमाख–६ तिहारिचौरमा २५ केभिएको १ थान ट्रान्सफर्मर जडान गरी वितरण संरचना निर्माण तथा चार्ज गरिएपछि ती बस्ती राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका हुन् ।
पूर्ण विद्युतीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्युतीकरणबाट दार्मा गाउँपालिका–३ का थप करिब ५०० घरधुरीमा विद्युत् सेवा पुगेको नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । उनका अनुसार यससँगै वडाको विद्युतीकरण दर ९८ प्रतिशत पुगेको छ । लामो समयदेखि सौर्य तथा वैकल्पिक ऊर्जाको भरमा रहेका ग्रामीण बस्ती राष्ट्रिय ग्रिडमा जोडिएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
विद्युतीकरणको कामलाई गति दिन गाउँपालिका अध्यक्ष निमबहादुर केसीसहितको टोली, वडा अध्यक्ष पोखरबहादुर खत्रीको निरन्तर निगरानी तथा सहजीकरण र निर्माण व्यवसायीको सक्रिय भूमिका रहेको रावलले जानकारी दिए । स्थानीय तहको निरन्तर समन्वय र निर्माण पक्षको सक्रियताले वितरण संरचना निर्माण तथा चार्ज गर्ने काम छिटो सम्पन्न भएको उनकाे भनाइ छ ।
उनका अनुसार नवनिर्मित विद्युत् संरचनाको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दको समेत उपस्थिति रहेको थियो । विद्युत् सेवा पुगेपछि स्थानीयवासीले घरघरमा मिटर जडान प्रक्रिया अघि बढाउन चासो देखाएका छन् । केही उपभोक्ताले मिटर जडानको प्रक्रिया सुरु गरिसकेको जनाइएको छ ।
राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि दुर्गम तथा ग्रामीण बस्ती उज्यालो हुनुका साथै स्थानीयस्तरमा ग्रामीण उद्योग तथा व्यवसाय सञ्चालनको सम्भावना बढेको स्थानीयवासीको भनाइ छ । बाँकी विद्युतीकरण हुन नसकेका क्षेत्रमा समेत यथाशीघ्र विद्युत् लाइन विस्तार गर्न उनीहरूले माग गरेका छन् ।
यसअघि सोलार बत्तीको उज्यालोमा निर्भर रहेका बस्ती राष्ट्रिय ग्रिडमा जोडिएसँगै स्थानीयवासीले भरपर्दो विद्युत् सेवाको पहुँच पाएका छन् । विद्युत् पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि, साना उद्योग तथा रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।