दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ मा निर्माणाधीन कालिञ्चोक साना जलविद्युत् आयोजनाको भौतिक प्रगति एक वर्षमै ८० प्रतिशत भएको छ । हिमालयन इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ३ मेगावाटको उक्त आयोजना एक वर्ष अघि निर्माण सुरु गरिएको थियो ।
आयोजनाका प्रबन्ध निर्देशक पुण्यप्रसाद रिमालका अनुसार सिभिलको अधिकाँश काम सकिएर अहिले मेकानिकलको काम भइरहेको छ । हेडवर्क्समा अहिले गेटहरुको काम भइरहेको छ । त्यस्तै १२०० मिटर पेनस्टक पाइप मध्ये ७५० मिटर जडान भइसकेको छ ।
विद्युत्गृहको सिभिलको काम सकेर अहिले मेसिन जडानको तयारी भएको उनले बताए । अहिले क्रेन राख्ने काम जारी छ । इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका लागि सामान कलकत्ता आइपुगेको छ अहिले त्यहाँबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको उनले बताए । विद्युत्गृहका उपकरणसहित अबको ३ महिनाभित्र काम पूरा गरेर आगामी पुस मसान्तभित्र विद्युत् बाल्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
उत्पादित विद्युत् १२ किलोमिटर टाढा रहेको सिँगटी सब स्टेशनमा जोडिने छ । विद्युत् प्रसारणका लागि ३३ केभी प्रसारण लाइनमध्ये १० किलोमिटर पूरा भएको छ ।
आयोजनामा ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणमार्फत लगानी जुटाइएको छ । संस्थापक सेयर नै धेरै भएपछि बैंकको ऋण कम लिएको आयोजनाको प्रबन्ध निर्देशक पुण्यप्रसाद रिमालले जानकारी दिए । आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेशनलले ऋण लगानी गरेको छ । ६० करोड लागत अनुमान रहेको आयोजनामा बैंकले ३० करोड लगानी गरेको छ । बाँकी शेयरधनीहरुकै संस्थापक शेयर लगानी गर्ने उनले बताए । ‘हामीले स्थानीयबासीसँगै मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने गरी कम्पनी बनाएका छौँ,’ उनले भने, ‘स्थानीयले कम्पनीमा राम्रै लगानी गर्नु भएको छ, आयोजना समयमै पूरा गरेर बेलैमा लाभाशं लिने गरी बैंकको ऋण कम गरेका हौँ ।’ आयोजनाको फिल्डमा गत वर्ष दशैंतिहारपछि पूर्वाधारको काम सुरु भएको थियो ।
आयोजनाले १७०० मिटर सडक निर्माण गरेको छ । शिखरजन खोला र बुदेखानीको पानीलाई छुट्टाछुट्टै इन्टेक बनाएर ल्याई भूमेस्थानमा मिसाएर मुख्य इन्टेकमार्फत पेनस्टके पाइप हुँदै विद्युत्गृहमा पुर्याइने छ । आयोजनाको लागि मुख्य हेडरेस पेनस्टक पाइप ११२० मिटर र सहायक खोलाबाट मुख्य इन्टेकसम्म ल्याउन १८ सय ८० मिटर पेनस्टक पाइप जडान गर्नुपर्ने छ । आयोजनाको मुख्य काम पूरा भएपछि सहायक खोलाको पानी ल्याउने पेनस्टक जडान र इन्टेकको काम गर्ने तयारी छ ।
आयोजनाको ग्रस हेड ३२२ मिटर रहेको छ भने नेटहेड ३१४ मिटर रहेको छ । आयोजनाबाट वार्षिक १६.९४८ गिगावाट विद्युत् उत्पादन हुने छ । यो आयोजनाको काम पूरा भए लगत्तै सोही इन्टेकभन्दा माथिल्लो क्षेत्रमा अर्को एक मेगावाटको आयोजना निर्माण गर्ने तयारी गरेको छ ।
यो आयोजना निर्माण गरिरहेको लगानीकर्ताको समूहले दोलखाकै गौरीशंकर गाउँपालिका– ५ मा निर्माणाधीन एक मेगावाटको तिनेखू खोलाको काम पनि अन्तिम चरणमा पुर्याएको छ । उक्त आयोजनाबाट मंसिरबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सो आयोजना बैंकबाट लिलामी सकारेर निर्माण गरेको हो । यही समूहले ६ वटा विद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।