काठमाडौँ । ४६५ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडमा कार्यरत सबै कर्मचारीको सेवा–सुविधा अब समान हुने भएको छ । आफूहरूलाई दिइएको सेवा–सुविधा समान हुनुपर्ने मागसहित आन्दोलनरत दोलखा जिल्लाबासी कर्मचारी र कम्पनी व्यवस्थापन पक्षबीच सेवा–सुविधा समान गर्ने सहमति बुधबार भएको हो । सहमतिपछि कर्मचारीले गरिरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
बाहिरी जिल्लाबासी कर्मचारीलाई दिइएको सेवा–सुविधा भन्दा कम आफूहरूलाई दिइएको भन्दै दोलखा जिल्लाबासी कर्मचारीले ४ दिनदेखि आन्दोलन गरिरहेका थिए । कम्पनीले दोलखाबासी कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीहरूलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको थियो ।
बुधबारको वातामा आयोजनामा कार्यरत सबै कर्मचारीलाई समान ७५ प्रतिशत नै अतिरिक्त सुविधा चैत महिनाकै पारिश्रमिकदेखि उपलब्ध गराउने सहमति बनेको संघर्ष समितिका संयोजक रामबहादुर खड्काले बताएका छन् ।
दुई पक्षबीच भएको लिखित सहमति पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतम तथा मनोज ताम्राकार, पूर्णगोपाल रन्जित, अनिता बजगाई र मित्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस्तै, दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्कासहित कर्मचारीहरूको तर्फबाट सातजनाले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार आयोजनामा कार्यरत अन्य ४ करार कर्मचारीलाई साताको ४ दिनमात्रै काम लगाउँदै आएकोमा अब महिनाको ३० दिन नै काम लगाउने, करार कर्मचारीलाई करारनामाको व्यवस्था गरिने, विषयगत दक्षता समूहमै काम गर्ने वातावरण मिलाउने समेत उल्लेख रहेको छ ।
यसअघि पनि दोलखा जिल्लाबासी कर्मचारीले आन्दोलन गरेपछि सेवा–सुविधा २०८१ भित्र कार्यान्वयन गर्ने सहमति भएको थियो तर सहमति कार्यान्वयन नभएपछि पुनः कर्मचारी आन्दोलनमा उत्रिएका थिए । कम्पनीमा २२३ जना करार कर्मचारी रहेकोमा दोलाखाका १०१ जना करारमा रहेका छन् ।