काठमाडौं । नेपालमा बिजुली बाल्ने परम्परा वि.सं. १९६८ साल जेठ ९ गतेबाट सुरु भएको थियो । सुरुमा राजा तथा राणा परिवारसम्म मात्र बिजुलीको पहुँच थियो । वि.सं. २००३ सालसम्म अन्यत्रबाट बिजुली आयात भएको थिएन ।
पूर्वजलस्रोत मन्त्री पशुपतिशम्शेर जबराका पिता विजयशम्शेर जबराले सार्वजनिक रूपमा जलविद्युत उत्पादन र वितरणको योजना बनाएका थिए । युरोपमा भूगर्भ विज्ञान (जिओलोजी) पढेर फर्केपछि विजयशम्शेरले कालीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण गर्न अध्ययन गरे ।
हाल देवघाट तीर्थस्थलभन्दा केही माथि बाँध बाँधेर २२ मेगावाटको आयोजना निर्माण गर्ने र त्यसको टेलरेसबाट निस्केको पानीबाट चितवन र नवलपरासीका खेतियोग्य जमिनमा सिँचाइ गर्ने योजना थियो । साथै, उत्पादित विद्युत दुई जिल्लाका अलावा काठमाडौंमा पर्याप्त बिजुली वितरण गर्ने र शैक्षिक विकास गर्ने सोच बन्यो ।
विजयशम्शेरको उक्त योजना तत्कालीन श्री ३ महाराज मोहनशम्शेर जबरा समक्ष प्रस्तुत गरियो । उनले पनि स्वीकार गरे । मोहनशम्शेर विजयका पिता थिए । अध्ययनअनुसार त्यतिबेला कालीगण्डकीबाट उत्पादित विद्युतको मूल्य प्रतियुनिट ६ पैसा पर्दो रहेछ ।
तत्कालीन समयमा भारतमा ब्रिटिशको शासन थियो । राणाहरूको मुख्य शक्तिको रूपमा पनि ब्रिटिशहरू पर्दथे । जलविद्युत उत्पादन, विद्युतीकरण र शैक्षिक विकासको योजना मोहनशम्शेरले तत्कालीन कोलकाताका गभर्नरलाई सुनाएछन् ।
ती ब्रिटिश गभर्नरले त्यत्रो महँगो ६ पैसा प्रतियुनिटमा किन विद्युत उत्पादन गर्ने भन्ने प्रश्न उठाएछन् । त्यसको साटो ३ पैसामा भारतबाट बिजुली लैजान सुझाएछन् । देश विकास गर्ने विजयशम्शेरको त्यो आकर्षक योजना त्यतिकै तुहियो ।
कालीगण्डकी तुहिएपछि ब्रिटिशहरू पनि भारत छोडेर गए । र, नेपालले त्यहीबेलादेखि भारतबाट निरन्तर बिजुली आयात गरिरहेको छ । कालीगण्डकी निर्माणको परिकल्पना गरेको ७३ वर्षपछि पनि नेपालले भारतबाट बिजुली किनेकै छ । उताबाट बिजुली नआए यहाँ हाहाकार हुने अवस्था उत्पन्न हुन्छ ।
प्रतियुनिट ३ पैसामा किन्न थालेको बिजुलीको मूल्य ७३ वर्षपछि प्रतियुनिट करिब ११ रुपैयाँसम्म पुगेको छ । २०७६ सालको हिउँदमा उच्च माग हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट करिब ५ सय ७० मेगावाटसम्म बिजुली किनेको थियो ।