नेपाल र सोभियत संघबीच २० जुलाई, सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भयो । वि.सं. २०१७ साल पुस १ गते संसद विघटन गरी एकदलीय पञ्चायती व्यवस्थामार्फत प्रत्यक्ष शासन शुरू गर्नु अघि राजा महेन्द्रले केही देशहरूको राजकीय भ्रमण गरेका थिए । उनको त्यस्तै राजकीय भ्रमणमध्ये झण्डै महिना दिन लामो सोभियत संघ भ्रमण पनि एक थियो । सोभियत नेतृत्वले एकतन्त्री रूपमा चलाइरहेको शासन–व्यवस्थाको अवलोकनपछि उनमा पनि शायद त्यस्तै एकछत्र राज गर्ने महत्त्वाकांक्षा जागृत भएको हुँदो हो ।
सुप्रिम सोभियतका तत्कालीन अध्यक्ष क्लिमेन्ट भरोशिलोभको निमन्त्रणामा राजदम्पत्तीले ४ जुन, सन् १९५८ मा शुरू गरेको राजकीय भ्रमण २८ दिन चलेको थियो । सोभियत नेतृत्वले भ्रमणलाई यतिसम्म महत्त्व दिएको थियो कि रानी रत्नको रूप–लावण्यको बखान गर्दै गाउन लगाइएको रुसी गीत ‘करालेभा नेपाला’ (नेपालकी महारानी) निक्कै पछिसम्म लोकप्रिय थियो । शीतयुद्धले विश्व ध्रुवीकृत भइरहेको त्यो समयमा नेपालजस्ता विपन्न, शक्तिहीन देशले पनि महाशक्ति राष्ट्रहरूबाट मान वा भाउ पाउने अवस्था थियो ।
राजदम्पत्तिको सोभियत भ्रमणको पदचाप धेरै पछिसम्म नेपालमा सुनियो । उक्त भ्रमणमा सोभियत संघ र नेपालबीच आर्थिक र सांस्कृतिक क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताहरू भए । त्यही अन्तर्गत पूर्व–पश्चिम राजमार्गको ढल्केबर–पथलैया (१०८ किलोमिटर) खण्ड सोभियत सरकारले निर्माण गरिदियो । जुन महेन्द्रको एकदमै महत्त्वाकांक्षी परियोजना थियो । राजमार्ग निर्माणकै क्रममा ल्याइएका रसियन जीप पछिसम्मै नेपाली सडकमा नामी भएर कुदिरहे ।
रुसको उल्यानोभ्स्क कारखानामा निर्मित ‘उआज’ जिप चितवन जङ्गल सफारीमा प्रयोग भएको मैले पनि देखेकै हुँ । तराई, चुरे क्षेत्रका खेत–खलियानमा भीमकाय बेलारुस ट्र्याक्टर देखिन्थे । राष्ट्रिय महत्त्वका ठूला निर्माण परियोजनामा दाता मुलुकको प्रत्यक्ष संलग्नता हुँदा त्यतिबेलाको नेपाली समाजलाई स्मरणयोग्य अनुभवहरू नमिल्ने कुरै भएन ।
कम्युनिस्ट पार्टीहरू प्रतिबन्धित गर्ने राजाको शासन र विश्वभरका कम्युनिस्ट देशलाई आफ्नो ब्लकमा समेटेर राख्न खोज्ने सोभियत शासकबीच त्यतिबेला यस्तो सहकार्य भएको देख्दा मलाई अचम्म लाग्छ; त्यो सहयोग पनि दिल–मुठ्ठी खोलेरै । हुन त, सन् १९५० को दशकको अन्ततिरै साम्यवादी देशहरू सोभियत र चिनियाँ खेमामा विभाजित हुन थालिसकेका थिए । छिमेकी चीनको छत्रछायामा नजाओस् भनेर सोभियत संघले गैरसाम्यवादी मुलुक नेपाललाई फकाउन खोजेको पनि हुन सक्छ ।
लाेपाेन्मुख मुलुकलाई केही आवश्यकता पूर्तिको माध्यमबाट आफू निकट राख्ने शीतयुद्धकालीन होड त्यो बेला भएकै हो । महेन्द्रको चतुर्याइँ विश्व महाशक्तिबिचको त्यही प्रतिस्पर्धाबाट लाभ लिनेमा देखियो । सोभियत सरकारले सन् १९५८ मा ५० शैयाको कान्ति बाल अस्पताल बनाइदिने घोषणा गर्यो, सन् १९६३ जनवरीमा निर्माण सम्पन्न गरी त्यो अस्पताल हस्तान्तरण नै गरियो । राजा महेन्द्र स्वयम्ले अस्पताल उद्घाटन गरेका थिए । सरकारी लगानीको दोस्रो छुट्टै बाल अस्पताल अहिलेसम्म बनेकै छैन । यसले पनि त्यो समयमा कान्ति बाल अस्पताल बन्नु कति महत्त्वपूर्ण थियो भन्ने पुष्टि गर्छ ।
२४ अप्रिल, सन् १९५९ मा सोभियत संघ–नेपालबिच ३ करोड रुबल बराबरको आर्थिक सहयोग आदान–प्रदान गर्ने सन्धि भएको थियो । रकम पूर्व–पश्चिम राजमार्ग विस्तार, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना र जलविद्युत् आयोजना निर्माणमा खर्च गरिने सहमति भएको थियो । समय सापेक्षतामा त्यो ठूलो रकम हो । राजा महेन्द्रको निमन्त्रणामा सन् १९६० फेब्रुअरी १ देखि ५ सम्म सुप्रिम सोभियतका अध्यक्ष क्लेमेन्ट भरासीलोभले ठूलो टोलीसहित नेपाल भ्रमण गरे ।
राजा महेन्द्रको सफल वैदेशिक कूटनीतिका कारण सोभियत संघबाट प्राप्त सहयोगमध्ये पनौती जलविद्युत् आयोजनाको यहाँ संक्षिप्त चर्चा गरिएको छ :
निर्माण शुरू र सम्पन्न
राजा महेन्द्रले २२ अक्टोबर, सन् १९६५ मा पनौती जलविद्युत् आयोजना उद्घाटन गर्दा सोभियत ऊर्जा तथा विद्युत् आपूर्ति मन्त्री पिटर नेपारोझ्नी उपस्थित थिए । रुसमा इन्जिनियरिङ अध्ययन पूरा गरेर फर्किएका इन्जिनियर डा. हरिमान श्रेष्ठ आयोजना निर्माणमा संलग्न थिए । उनले नै नेपालको जलविद्युत् उत्पादन सम्भाव्यता ८३ हजार मेगावाट रहेको भनी शोध गरेका थिए ।
रोशी खोलाको पानी स्थानीय तहमा खानेपानीका लागि वितरण हुन थालेपछि अहिले विद्युत् उत्पादन घटेको छ । पनौती नगरपालिका–१२, खोपासीस्थित वि.सं. २०१७ सालमा निर्माण शुरू भएको आयोजनाबाट २०२२ असार ३१ गतेदेखि विद्युत् उत्पादन शुरू भएको थियो । फर्पिङ र सुन्दरीजलपछि देशमा निर्माण भएको यो तेस्रो जलविद्युत् केन्द्र हो ।
पछिल्लो अवस्था
झण्डै ६ दशक लामो इतिहास बोकेको पनौतीको विद्युत्गृहमा ८०० किलोवाटका ३ वटा युनिट छन् । पानीको अभावमा एउटा मेसिनबाट ७५० किलोवाटमात्रै विद्युत् उत्पादन हुने गरेको छ । पानीको स्रोत खोपासी आसपासका करिब १० हजार रोपनी खेतमा आलु खेती गर्न सिँचाइका लागि लैजाने गरिएको छ । खोलाको मुहान आसपासमा ढुङ्गा तथा क्रसर खानी सञ्चालन गरेर खोलामा लेदो मिसाएका कारण पानी धमिलो हुने गरेकाले पनि विद्युत् उत्पादनमा कमी आएको देखिन्छ ।
पछिल्लो समय पानीको मुहानमा खानीबाट निस्केको माटो सिधै मिसाउँदा जलाशयको पोखरीसम्म आउने कुलो वर्षदिनमै भरिने गरेको छ । विद्युत्गृहको माथिल्लो भेगका वासिन्दाले खोलामै फोहर हालिदिने गर्दा पोखरी प्रदूषित हुँदै बन्ने गरेको छ । यहाँबाट उत्पादित बिजुली २० किलोमिटर टाढा रहेको भक्तपुरको प्रसारण लाइनमा लगेर जोडिन्छ । आयोजना पुरानो भएको हुँदा बिग्रिँदा नयाँ उपकरणहरू नपाइने समस्या छ ।
अध्ययन केन्द्र
पनौतीलाई शोध, अध्ययन तथा अनुसन्धाको केन्द्र बनाउन काठमाडौँ विश्वविद्यालय (केयू र नेपाल विद्युत् प्राधिकरणबिच २०७५ साल जेठ १० गते १० वर्षका लागि सम्झौता भएको छ । दुवै पक्षको सहमतिमा ३ महिनाको सूचनाका आधारमा म्याद बढाउन सकिने सम्झौता छ । केयूका विद्यार्थीहरू यहाँ आएर सम्बन्धित क्षेत्रको अध्ययन गर्न सक्नेछन् । अरू विश्वविद्यालयबाट आउने विद्यार्थीहरूले भने यहाँ आउन सिफारिस पत्र ल्याउनुपर्ने व्यवस्था छ ।
विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत् लगायत इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत्गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने सम्झौता छ । प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरूपमा तालिम, सम्मेलन, लगायत कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।
संक्षिप्त विवरण
नेपालमा जलविद्युत् उत्पादनको इतिहाससम्बन्धी यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।