काठमाडाैं । पछिल्ला वर्षहरूमा सौर्य ऊर्जा विकासले व्यापकता पाइरहेकाे छ । जल र थल, छत या छाना या पानी बगिरहेको नहरमाथि जहाँतहीँ किफायति स्राेतको रूपमा बहुउपयोगी सावित हुँदैछ । यहाँ केही यस्तै ऊर्जा परियोजनाहरूको चर्चा गरिएकाे छ :
साइमनगम फ्लोटिङ सोलर फार्म : दक्षिण कोरियाले पहेंलो सागरको तटमा रहेको ज्वारभाटा समतल साइमनगम नजिकै संसारको सबैभन्दा ठूलो तैरने सौर्य ऊर्जा (फ्लोटिङ फोटो भल्टेक) २.१ गिगावाट प्लान्टको विकास गरिरहेकाे छ। याे हालसम्मकाे विश्वकै सबैभन्दा ठूलो सञ्चालनमा ल्याउन लागिएकाे फ्लोटिङ सोलार फार्म हो । कोरियन वोन ४.६ ट्रिलियन (३९ लाख ६० हजार अमेरिकी डलर) को लागतमा निर्माण हुन लागेकाे ३० वर्गकिलाेमिटर क्षेत्रफलमा फैलिएको छ र ५० लाखभन्दा बढी सौर्य पाताहरू जडान हुनेछन् । सन् २०२३ सम्म याे प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेकाे छ ।
ओमकारेश्वर बाँध फ्लोटिङ सोलर फार्म : भारतको मध्य प्रदेशस्थित ओमकारेश्वर बाँधमा ६०० मेगावाटको तैरने सौर्य ऊर्जा आयोजना निर्माण गर्ने योजना छ । २,००० हेक्टरमा फैलिने प्रस्तावित सोलार फार्म खण्डवा जिल्लाको नर्मदा नदीमा करिब ३० अर्ब (४०९.८६ मिलियन डलर) रुपैयाँको अनुमानित लगानीमा निर्माण गरिने छ।
विश्व बैंकसँगको साझेदारीमा सोलार आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पावर ग्रिड कर्पोरेशन अफ इन्डिया, इन्टरनेशनल फाइनान्स कर्पोरेशन र विश्व बैंकबीच आयोजनामा लगानी गर्न सैद्धान्तिक सहमति पनि भएको छ । मध्य प्रदेश पावर म्यानेजमेन्ट कम्पनीसँग ४०० मेगावाटको विद्युत् खरिद सम्झौता (पिपिए) भएको यो परियोजना २०२३ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
आयोजनाको स्थानबाट खण्डवाको सबस्टेसनसम्मको प्रसारण लाइन सर्भेको काम भइरहेको छ । आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव अध्ययनका लागि छिट्टै ठेक्का आह्वान गर्ने तयारीमा छ । मध्य प्रदेशले पनि खण्डवाको इन्दिरा सागर बाँधमा १ गिगवाटको तैरने सौर्य ऊर्जा परियोजना निर्माण गर्ने योजना बनाएको छ।
पुनश्च: जडित क्षमता ५२० मेगावाट रहेको ओमकारेश्वर जलाशययुक्त (रिजर्भायर) विद्युत परियोजना हो । यो परियोजनाको निर्माण सन् २००३ मा शुरु भएर सन २००७ मा सम्पन्न भएको थियो । जलविद्युत परियोजनामाथि सोर्य ऊर्जा उत्पादन गर्न भारत सक्रियतासाथ अगाडि बढेको देखिन्छ।
हांग्जो फेंगलिङ विद्युत विज्ञान प्रविधि फ्लोटिङ सोलर फार्म : चीनले झेजियाङ प्रान्तमा ३२० मेगावाटको फ्लोटिङ पिभी पावर प्लान्ट दुई चरणमा विकास गरेको छ । २०० मेगावाटको पहिलो चरण सन् २०१७ मा सम्पन्न भएको थियो भने दोस्रो चरणको १२० मेगावाटको अप्रिल २०२० मा । सिक्सीको चाङ्गे र झोउजियाङ जलाशयहरूमा निर्मित, पावर प्लान्टले लगभग ३५ कराेड २० लाख किलोवाट-घण्टा हरित ऊर्जा उत्पादन गर्दछ । यसले सौर्य ऊर्जा र एक्वाकल्चर (जलखेती) समायोजन गरेको छ । प्यानलमुनिको पानीमा मत्स्यपालन गरिन्छ ।
थ्री गाेर्जेज न्यू इनर्जी फ्लोटिङ सोलर फार्म : चीनको पूर्वी प्रान्त आन्हुइको हुवाइनान सहरमा अवस्थित थ्री गाेर्जेज न्यू इनर्जीको १५० मेगावाटको फ्लोटिङ सोलार फार्म एउटा तालमा निर्माण गरिएको थियो । जुन पुरानो कोइलाखानी भत्किँदा अस्तित्वमा आएको हो । सोलार फार्मले उत्पादित विद्युतलाई सन् २०१७ डिसेम्बरमा राष्ट्रिय ग्रिडमा जोडेको थियो । यसले सबैभन्दा ठूलो फ्लोटिङ सौर्य ऊर्जा प्लान्टको रूपमा आन्हुइमा ४० मेगावाट फ्लोटिङ सौर्य ऊर्जालाई पछाडि पारेकाे थियाे ।
सिराता जलाशय फ्लोटिङ सोलर फार्म : १४५ मेगावाटको सिराता फ्लोटिङ पिभी परियोजना इन्डोनेसियाको पश्चिम जाभा क्षेत्रको सिराता जलाशयमा २२५ हेक्टर क्षेत्रफलमा विकास गर्ने प्रस्ताव गरिएको छ । यो पूरा भएपछि दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो फ्लोटिङ सौर्य ऊर्जा परियोजना हुने लक्ष्य राखिएको छ । यसकाे निर्माण गरी सन् २०२२ सम्म व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने योजना छ । देशको पहिलो तैरने सौर्य ऊर्जा प्लान्टको रूपमा सेट गरिएको, सिरटा परियोजनाले वर्षमा २,१४,००० टन कार्बन उत्सर्जन उन्मूलन गर्नेछ ।
एनटिपिसी कायमकुलम फ्लोटिङ सोलर फार्म : टाटा पावर सोलारले केरलाको अल्लाप्पुझाको कायमकुलममा रहेको नेशनल थर्मल पावर कर्पोरेशन (एनटिपिसी) को जलाशयमा १०५ मेगावाटको तैरने सौर्य ऊर्जा परियोजना निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले सन् २०१९ काे सेप्टेम्बरमा भारतको राज्य-स्वामित्वमा रहेको ऊर्जा उत्पादन उद्यम (एनटिपिसी) बाट प्रसंशापत्र (एलओए) पनि प्राप्त गरेकाे थियाे । विद्युत् आयोजना २१ महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
एनटिपिसी रामागुण्डममा फ्लोटिङ सोलर फार्म : भारतको तेलंगानाको (एनटिपिसी) रामागुण्डममा १०० मेगावाटको फ्लोटिङ सोलार फार्म निर्माणाधीन छ । कम्पनीको ४५० एकडमा फैलिएको जलाशयमा फैलिएको तैरने सौर्य ऊर्जा परियोजना जडान गरिने छ । आयोजना निर्माणको लागि सन् २०१८ को डिसेम्बरमा टेन्डर जारी गरी २०१९ को जुनमा लगानी स्वीकृत भएको र सन् २०२० को जुनमा शिलान्यास गरिएको थियो।
सिईसिईपी फ्लोटिङ सोलर फार्म : चीनको आन्हुईमा अवस्थित ७० मेगावाटको फ्लोटिङ सोलार फार्मलाई सन् २०१९ मार्चमा ग्रिडमा जोडिएको थियो । चाइना इनर्जी कन्जर्भेसन एन्ड इन्भायरमेन्टल प्रोटेक्सन ग्रुप (सिईसिईपी) को स्वामित्वमा रहेको सोलार फार्म फ्रान्सेली फ्लोटिङ सोलार विशेषज्ञ सिएल एण्ड टेरेस हाइड्रेलियो प्रविधिद्वारा स्थापना गरिएको छ। परियोजनाले ६० हेक्टरभन्दा बढी क्षेत्र ओगटेको छ र त्यसमा १९४,७३१ सोलार प्यानलहरू जोडित छन् ।
सेम्बकर्प फ्लोटिङ सोलर फार्म : सिंगापुरको टुआसस्थित टेङ्गेह जलाशयमा ४५ फुटबल मैदान बराबरको क्षेत्रमा ६० मेगावाटको फ्लोटिङ सोलार प्लान्ट निर्माण गर्ने याेजना छ । सेम्बकर्पलाई सन् २०२० फेब्रुअरीमा आयोजना निर्माण गर्न छनोट गरिएको थियो । सन् २०२० काे अगष्टमा निर्माण सुरु भएको परियाेजना सन् २०२१ मा पूर्ण रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । जसमा १,४६,००० भन्दा बढी सौर्य प्यानलहरू जडान गरिनेछ र यसले प्रतिवर्ष करिब ३२,००० टन कार्बन उत्सर्जन उन्मूलन गर्ने अपेक्षा गरिएको छ ।
हप्चियन बाँध फ्लोटिङ सोलर फार्म : हान्वा क्यु सेल्सले दक्षिण कोरियाको Hapcheon बाँधमा ४१ मेगावाटको फ्लोटिङ सोलार प्लान्ट निर्माण गरिरहेको छ । कोरिया वाटर (के-वाटर), कोरिया वाटर रिसोर्सेस इन्स्टिच्युटले सन् २०२० मा हान्वा क्यु सेल्सलाई सोलार परियोजना विकास गर्ने अधिकार प्रदान गरेकाे थियाे । परियोजनाबाट लगभग ६०,००० घरहरू लाभान्वित हुने अनुमान गरिएको छ ।
सौर्य नहर
अब नहरमात्र होइन, सौर्य नहरको परिकल्पना गर्नु जरुरी छ । सौर्य नहरहरूले पानी बचाउँछन्, ऊर्जा उत्पादन र प्राकृतिक भूमिहरू सबै एकै समयमा सुरक्षित गर्छन् । सोलार फार्म हरित ऊर्जाको ठूलो स्रोत भए पनि धेरै मानिसहरूले यसलाई मन पराउँदैनन् । किनकि, यस्ता फार्मले खेतीयोग्य र आवासीय क्षेत्र लामो समयसम्म ओगटेर राख्दछन् । नयाँ परियोजनाले छायाबाट लाभान्वित हुने नहरहरूमा सौर्य प्यानलहरू राखेर विकल्प खोजिरहेक छन् ।
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा पनि सौर्य नहर (नहर माथि सौर्य ऊर्जा) को परियोजना बन्दैछ । यदि, क्यालिफोर्नियाको ४,००० माइल (६,४३७ किलोमिटर) फोटोभोल्टिक प्यानलहरूले ढाकिएमा वाष्पिकरण ८२ प्रतिशतसम्म कम गराई प्रतिवर्ष लगभग ६३ अर्ब ग्यालन पानी बचत हुनेछ।
भारतको मेहसाना जिल्लाको काडी तालुकको चन्द्रासन गाउँ नजिक नर्मदा शाखा नहरमा अवस्थित पाइलट परियोजनाले १ मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्छ र ७५० मिटर लामो नहरबाट वार्षिकरूपमा ९०,००,००० लिटर पानीको वाष्पिकरणलाई रोक्छ । साथै, ऊर्जा र जल सुरक्षा प्रदान गरी दुई वटा चुनौतीलाई एकैसाथ सम्बोधन गरेकाे छ।
नेपाल जस्तो मुलुकमा यो प्रविधि वरदान नै हुन सक्छ, खोला या नदीको सतह नहरभन्दा तल भएको अवस्थामा पनि नहरकै सैर्य ऊर्जा प्रयोग गरी पानी तानेर सिँचाइ गर्न सकिन्छ ।
छानामा सौर्य ऊर्जा
भरतपुर महानगरपालिकाका अधिकांश आवासीय र व्यापारिक भवनहरूमा घामकाे तापबाट बच्नका निमित्त माथिल्लो तलामा छानो राखेको देख्न सकिन्छ । विद्युत प्राधिकरणले नेट मिटरिङको व्यवस्था गरी ती भवनहरूमा खपत हुने मध्ये दोब्बर ऊर्जा उत्पादन गर्न सकिन्छ। यसाे गर्न सके उपभोक्ताको विद्युत महसुल शून्य नजिक वा शून्य नै हुन सक्छ ।
यसबाट उपभोक्ता पनि खुसी हुने र त्यस्ता भवनहरूबाट उत्पादित विद्युतले राष्ट्रको आन्तरिक मागलाई मनग्य सम्बोधन गर्न सक्छ । जबसम्म वितरण प्रणाली शतप्रतिशत सुध्रिँदैन तबसम्म स्टोरेज भने अत्यावश्यक छ । हामीलाई प्रकृतिले नि:शुल्क स्राेतहरू उपलब्ध गराएकाे छ तर व्यवस्थापन र नियन्त्रणबिना कुनै स्राेत र सम्पदाको अर्थ हुँदैन ।