विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

छिल्लो समय विश्वका धेरै देशहरू स्वच्छ ऊर्जा विकास र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । ऊर्जामा आत्मनिर्भर बन्ने र त्यसमा पनि सकेसम्म नवीकरणीय ऊर्जामा आत्मनिर्भर बन्ने मुलुकहरूको चाहना देखिएको छ । कार्बन उत्सर्जनलाई शून्यमा पुर्‍याउने दीगो विकास लक्ष्य निर्धारण भएका कारण पनि विश्वका सबैजसो देशलाई प्रदूषणरहित नवीकरणीय ऊर्जामा आत्मनिर्भर बन्नुपर्ने चुनौती थपिएको छ तर विविध कारणले हरेक देश आफैँमा नवीकरणीय ऊर्जामा आत्मननिर्भर बन्न सक्ने अवस्था छैन । कुनै देशमा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावना धेरै छ भने कुनैमा कम । यस्तो पृष्ठभूमिमा सम्बन्धित देशहरू बढीभन्दा बढी अन्तरदेशीय ऊर्जा सहकार्यमा जुट्दै गएको देखिन्छ । उनीहरू विद्युत् आदानप्रदानमा समेत नजिकिँदै गएका छन् । पछिल्लो समय दक्षिण एसियाली देशहरूले अघि सारेको अन्तरदेशीय ऊर्जा सहकार्यबारे संक्षिप्त चर्चा गरौँः

भारत–श्रीलंका

भारत र श्रीलंकाबीच १२० किलोमिटर लामो अन्तरदेशीय विद्युत् प्रसारण सञ्जाल समुद्रमुनि वा आकाश मार्गबाट जोड्न गृहकार्य गर्ने सहमति भएको विषय सिलोङ इलेक्ट्रिसिटी बोर्डले जनाएको छ । बोर्डका अनुसार यसका लागि प्राविधिक प्रतिवेदन अन्तिम चरणमा रहेको र दुवै देश मिलेर यो विषयमा अन्तिम निर्णय लिने तयारीमा छन् । आकाश मार्गको प्रयोग भएमा प्रसारण लाइनको लागत तुलनात्मक रूपमा कम रहनेसमेत जनाइएको छ ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेको भारत भ्रमणका क्रममा उक्त सहमतिमा हस्ताक्षर हुने अनुमान गरिएको छ । त्यस्तै, केही समयअघि भारतको अडानी समूहले श्रीलंकामा हावाबाट विद्युत् ऊर्जा उत्पादनमा ठूलो रकम लगानी गर्ने जनाएको थियो । हाल, भारतसँग अन्तरदेशीय प्रसारण सञ्जाल जोडिएका देशहरूमा नेपाल, भुटान र बंगलादेश मात्र रहेका छन् ।

भारत–साउदी अरेबिया 

भारत र साउदी अरेबिया समुद्रमुनिबाट प्रसारण सञ्जाल निर्माण गरी नवीकरणीय ऊर्जामा सहकार्य गर्न सहमत भएका छन् । अफगानिस्थान र इरान पनि एक आपसमा प्रसारण सञ्जाल स्थापना गरी आवश्यक ऊर्जाको माग पूर्ति गर्न सहकार्य गर्ने भएका छन् ।

सिंगापुर र इन्डोनेसिया

आगामी ५ वर्षभित्र सिंगापुरले इन्डोनेसियाबाट २ गिगावाट नवीकरणीय ऊर्जा आयात गर्ने भएको छ । जसले सिंगापुरको बढ्दो ऊर्जाको मागमध्ये १५ प्रतिशत पूर्ति हुने देखिन्छ । त्यस्तै, कम्बोडियाबाट पनि सिंगापुरले १ गिगावाट बिजुली आयात गर्ने भएको छ । सन् २०३५ सम्म यो क्षमता ४ गिगावाट पुर्‍याइने जनाइएको छ ।

भारत–अमेरिका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जुनमा भएको वासिङ्टन भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपति जो बाइडेनले नवीकरणीय ऊर्जाको पूर्वाधार विकासमा भारतलाई अमेरिकाले एक अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए । यस सहयोगबाट वातावरणमा हानी गर्ने ऊर्जा उत्पादनमा कटौती गरी हरित ऊर्जा उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसबाट ‘मेड इन इन्डिया’ विद्युतीय बस र कार्बनरहित सार्वजनिक यातायात विकासमा समेत सहयोग पुग्ने उल्लेख छ ।

भुटान–युरोप

भुटानका प्रधानमन्त्रीको भर्खरै भएको युरोप भ्रमणका क्रममा भुटानको ड्रुक ग्रिन पावर कर्पोरेशन र दुई वटा इन्टरनेशनल कम्पनीबीच जलविद्युत्‌मा सफ्टवेयरको प्रयोग र परामर्श सेवा प्राप्त गर्ने विषयमा सहमति भएको छ । यसबाट हरित परामर्श सेवामा अन्तर्राष्ट्रिय सहयोगले जलविद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ ।

नेपाल, भारत र बंगलादेश 

नेपालले सन् २०३५ सम्म ३० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने: नेपालको जलविद्युत्‌काे बजार भारत र बंगलादेश नै हो । ती बजार खुला हुँदा आगामी १२ वर्षमा थप ३२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एकीकृत ऊर्जा विकास कार्यक्रम लागू गरी ठोस कार्ययोजनाका साथ अघि बढी आगामी १२ वर्षमा २५ देखि ३० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने बताएका छन् ।

नेपाल–कोरिया

मन्त्री बस्नेतले हालै कोरियन लगानी रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को शिलन्यास गरेका छन् । उक्त आयोजना नेपालको आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) माध्यमबाट दक्षिण कोरियाली कम्पनीबाट निर्माण हुने भएको छ ।

रसुवा जिल्लाको आमाछोदुङ्गमो गाउँपालिकाको १ नम्बर वडामा यस आयोजनाको बाँध निर्माण गर्ने योजना छ । यसको विद्युत्‌गृह भने सोही जिल्लाको उत्तरगया गाउँपालिकामा निर्माण हुँदैछ ।

पाकिस्तान–विश्व वैंक

पाकिस्तानले सन् २०३१ सम्म नवीकरणीय ऊर्जाको प्रयोग ६२ प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । हाल, पाकिस्तानमा कूल ऊर्जा खपतको ३१ प्रतिशत मागमात्र नवीकरणीय ऊर्जाबाट आपूर्ति भइरहेको छ । यसका लागि जैविक ऊर्जाको प्रयोगमा कमी ल्याउन नवीकरणीय उत्पादनमा वृद्धि गर्नुपर्दछ । ‘पाकिस्तान्स स्पेशल इन्भेष्टमेन्ट फ्यासिलिटेशन काउन्सिल (एसआइएफसी)’ ले पाकिस्तानमा नवीकरणीय ऊर्जा उत्पादनका लागि आवश्यक कार्य गर्दछ ।

बंलादेश–भारत

सौर्य, वायु र जलविद्युत्‌बाट दक्षिण एसियामा वातावरणमैत्री विद्युत् उत्पादन गरी जैविक ऊर्जा विस्थापन गर्न बंगलादेशका निजी क्षेत्रबाट मात्र ३ अर्ब अमेरिकी डलर लगानी गर्ने सहमती भएको छ । बंगलादेशले नवीकरणीय ऊर्जा प्लान्टबाट उत्पादित विद्युत् २० वर्षका लागि निश्चित मूल्य (फिक्स्ड पावर ट्यारिफ) मा बंगलादेश पावर डेभलपमेन्ट बोर्डले खरिद गर्ने जनाइएको छ । यसरी, उत्पादित बिजुली मौसमअनुसार प्रतियुनिट ११.८८, १०.९३ र १३.४१४ टाकामा खरिद गर्ने सम्झौता छ ।

प्रसारण सञ्जाल पूर्वी एसियसम्म पुर्‍याउने योजना

भारतका ऊर्जा मन्त्री आरके सिंहले भारत र साउदी अरेबीयाबीच जोड्ने प्रसारण सञ्जाल जोड्ने समझदारी पत्रमा सेप्टेम्बर १५ मा हस्ताक्षर गरेका छन् । भारत, साउदी अरेबिया, संयुक्त अरब अधिराज्य र सिंगापुर आधुनिक र ठूला ग्रीडका पूर्वाधार विकास गर्ने गरी अघि बढेका छन् । यसबाट ती क्षेत्रका देशहरू नवीकरणीय ऊर्जा  आदानप्रदानका लागि प्रसारण सञ्जालका माध्यमबाट जोडिने विश्वास बढ्दै गएको छ । ग्रीड जोडिएपछि सम्बन्धित देशहरूको आवश्यकताका आधारमा विद्युत् आदानप्रदान हुन सक्छ । यस्तो पूर्वाधार विकासले दक्षिण पूर्वी एसिया, मध्यपूर्व तथा युरोपसम्म ऊर्जाको आदानप्रदान हुन सक्छ ।

‘वन सन, वन वर्ल्ड एन्ड वन ग्रिड इनिसिएटिभ’ कार्यक्रममा यी देशहरू जोडिएपछि न्यूनतम मूल्यमा नवीकरणीय ऊर्जाको सहज पहुँच हुने छ । यस्ता ग्रीडले एक देशबाट अर्काे देशसँग जोडिई विद्युत्‌काे विश्वव्यापी सञ्जालको विकास गर्ने छन् ।

भारत–सिंगापुर

भारत र सिंगापुरबीच समुद्रमुनिबाट विद्युत् प्रसारण सञ्जाल विस्तार गर्न प्रारम्भिक चरणको छलफल भएको छ । सिंगापुर हुँदै भारतीय ग्रीड आसियान देशहरूबीच जोड्न सहज हुने बताइएको छ । यसका लागि निजी क्षेत्रका धेरै उद्योगी र प्रवर्द्धकहरूले चासोसमेत देखाएका छन् । तसर्थ, यो महत्त्वाकांक्षी योजनाका लागि वित्तीय अभाव नहुने कुरामा भारतीय पक्ष विश्वस्त छ । यसरी निर्माण हुने ग्रीडमा उक्त ग्रीडको क्षमता पूर्ण उपयोग हुने गरी विद्युत्को प्रवाह हुन सके ‘ह्विलिङ चार्ज’मा गिरावट आई उपभोक्ताले प्रयोग गर्ने बिजुलीको प्रतिएकाई लागत कम हुन सक्छ । तसर्थ, यसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुने देखिन्छ । यसका लागि सम्भाव्यता अध्ययनका कार्यहरू भइरहेका छन् ।

सरोकारवालाहरू सम्भाव्यता अभ्ययन प्रतिवेदनको व्यग्र प्रतिक्षामा रहेको देखिन्छ । यसको कार्यान्वयनबाट दक्षिण एसियाली र मध्यपूर्वी देशहरूबीच ऊर्जाको परनिर्भरता बढाई दुवै क्षेत्रको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

अन्तरदेशीय ग्रीड

विभिन्न क्षेत्रीय एवम् अन्तर–क्षेत्रीय देशहरूबीच विद्युत् आदानप्रदानका लागि उच्च क्षमताको आधुनिक प्रसारण पूर्वाधार निर्माणले हाल प्रयोगमा ल्याइएको उच्च मूल्यको ब्याट्रीको विकल्पमा कम मूल्यमै आवश्यक विद्युत् पुर्‍याउन सकिन्छ । उदाहरणका रूपमा भियतनाममा सूर्य अस्ताउँदा भारतमा घाम लागेको हुन्छ । त्यस्तै, भारतमा सूर्य अस्ताउँदा साउदी अरबलगायत देशमा घाम लागिरहेको हुन्छ । जसबाट यी क्षेत्रमै आवश्यक ऊर्जा आदानप्रदान गर्न सहज हुन्छ ।

सिंगापुरको भौगोलिक क्षेत्र सीमित छ । उसले ४ गिगावाट बराबरको कार्बन उत्सर्जन घटाउन सन् २०३५ सम्म आफूलाई चाहिने ऊर्जा आपूर्तिका लागि अन्य देशमा सोलार परियोजना विकास गरी  विद्युत् आयात गर्ने योजना बनाएको छ । जुन २०२२ मा सिंगापुरले मलेसिया र थाइल्याण्डबाट १०० मेगावाट बिजुली आयात गरिरहेको थियो । लाओस, थाइल्याण्ड, मलेसिया र सिंगापुरले ऊर्जा एकीकृत योजनाको माध्यमबाट नवीकरणीय ऊर्जा सिंगापुर पुर्‍याइरहेका छन् । यो ४ आसियान देशहरूको पहिलो अन्तरदेशीय विद्युत् व्यापार पनि हो ।

नेपाल–दक्षिण एसिया

नेपाल जलविद्युत् ठूलो सम्भावना भएको देश हो । दक्षिण एसियाली देशहरूले यहाँको जलविद्युत् उपयोग गर्न सके यस क्षेत्रको ऊर्जा सुरक्षामा ठूलो योगदान पुग्ने देखिन्छ । भारत विश्वको ठूलो अर्थतन्त्र भएको औद्योगिक मुलुक हो । साथै, भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि हो । भारतको बढ्दो उद्योगलाई आवश्यक परेका बेला ऊर्जा उपलब्ध गराउनु आफैँमा चुनौतीपूर्ण छ । सौर्य र वायु ऊर्जामा भरपर्दा घाम नलागेको र हावा नचलेको बेला विद्युत् उत्पादन हुँदैन तर यस्तो समयमा पनि विद्युत्‌काे माग भने यथावतै रहन्छ । त्यसलाई तत्काल पूर्ति गर्न नेपालको अपार जलविद्युत्को उपयोग गर्न सकिन्छ ।

संसारभर नै विद्युत्‌काे माग सिधा लाइनबाट हिँड्दैन । अर्थात्, विद्युत्‌काे माग बिहान, दिउँसो, बेलुका (साँझ) र रातमा फरक–फरक हुन्छ । गार्हस्थ बिहान र बेलुका अर्थात् खाना पकाउने समयमा र विद्यार्थीले लेखपढ गर्ने समयमा माग धेरै हुन्छ । औद्योगिक प्रयोगका लागि विद्युत्‌काे माग दिनमा धेरै हुन्छ; रातमा तुलनात्मकरूपमा कम ।

अर्कोतर्फ, विद्युत्‌काे माग मौसमअनुसार पनि फरक–फरक हुन्छ । हिमाली वा पहाडी बस्तीमा घर वा बासस्थान तातो बनाउन जाडो मौसममा विद्युत्‌काे माग धेरै हुन्छ । तराई वा अन्य गर्मी हुने स्थानमा जाडोयाममा गार्हस्थ प्रयोगका लागि विद्युत्‌काे माग गर्मीयाममा भन्दा कम हुन्छ । यस्ता उष्ण स्थानमा गर्मीयाममा शीतल बनाउने प्रयोगजनका लागि विद्युत्‌काे माग अधिक रहने तथ्यङ्कले बताउँछ ।

नेपालको जलविद्युत् उत्पादन पनि मौसमअनुसार तलमाथि भइरहन्छ । पानी पर्ने समयमा उत्पादन धेरै हुन्छ । उता, भारत र बंगलादेशमा यही समयको माग उच्च रहन्छ । यस मौसममा आकाशमा बादल लाग्ने र पानी पनि पर्ने हुँदा सोलारबाट उत्पादित बिजुलीको उत्पादन कम हुन्छ । जलविद्युत्ले विद्युतीय सुरक्षामा ब्याट्रीको काम गर्दछ । यस क्षेत्रमा जुन बेला जति बिजुली चाहिने हो, सो समयको माग धान्न आवश्यक बिजुली उत्पादन गर्न सक्ने गरी नेपालको विद्युत् आयोजनाको विकास गर्न सकिन्छ ।

तसर्थ, यस क्षेत्रका देशको एक अर्काको विद्युत्को मागलाई परिपूरकको रूपमा विकास गरी क्षेत्रीय समृद्धिका लागि नियमित, भरपर्दो र सुरक्षित विद्युत् आपूर्तिमा जोड दिनुपर्छ । अतः नेपाल, भारत, भुटान, श्रीलंकालगायत देशको बृहत् विकासको अवधारणा बमोजिम विद्युत् विकास र ती देशहरूबीच विद्युत्‌काे नियमित तथा सहज आपूर्ति गर्न एक क्षेत्रीय संगठन आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३