पञ्चतत्त्व व्यापक छ तर वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिक पनि । यही कारण यो विषयलाई नवीकरणीय ऊर्जासँगको घनिभूत सम्बन्धमा केन्द्रित रहेर केही हदसम्म उजगार गर्न चाहन्छु । सभ्यता अनुसार पञ्चतत्त्व फरक–फरक छन, केही सभ्यताहरूले फलाम र काठलाई पनि पञ्चतत्त्वभित्र समावेश गरेको पाइन्छ । तैपनि, ती तत्त्वहरू पृथ्वीभित्रकै अंश भएकोले यो ब्रह्माण्डलाई सन्तुलनमा राख्ने पाँच वटा तत्त्वहरूबाट नै हामी ऊर्जा उत्पादन गरिरहेका छौँ ।
जल : जीवजन्तु र वनस्पति जगतमा पानी अर्थात् जलको महत्त्व र अपरियहार्यता सर्वविदितै छ । पिउन, पकाउन, सरसफाई, सिँचाइ, यातायात, उद्योग र कलकारखाना आदिमा जलको प्रयोग व्यापक छ । विद्युत् उत्पादन गर्ने क्रममा पनि ‘ग्राभिटी फ्लो’बाट टर्बाइन घुमाएर मात्र होइन, पानीलाई वाफ बनाएर वाफबाट पनि टर्बाइन घुमाइन्छ ।
नेपालमा वाफ टर्बाइन प्रयोगमा ल्याउन आवश्यक देखिँदैन । किनकि, हाम्रो भू–बनोट नै ‘ग्राभिटी फ्लो’को लागि अति उपयुक्त छ । अर्को शब्दमा भन्दा हामीलाई प्रकृतिले जलस्रोतका साथै भौगोलिक वनावटले पनि जलविद्युत् उत्पादनका लागि वरदान नै दिएको छ । प्राकृतिक ग्यासमा धनी मुलुकहरूले भने ग्यासबाट वाफ र वाफबाट टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्छन् । जसलाई हामी ‘स्टीम टर्बाइन’ भनिन्छ । पानी ग्रहण गर्दा ऊर्जा त दिन्छ नै, यसको बहुआयामिक प्रयोग जस्तै उच्च चाप दिएर ढुङ्गा, फलाम (स्टिल), काठसमेत चिर्दछ । प्राकृतिक सन्तुलन बिग्रिँदा हुने प्रकोपमा पानीको शक्तिको तान्डवको त कल्पनै गर्न सकिँदैन ।
वायु : चङ्गा उडाउन होस् या स–साना पानीजहाजलाई तैरन, मिल चलाउन (कुटानी/पिसानी), पानी तान्न, वायुको महत्त्व त छँदैछ । जीवजन्तु, वनस्पतिका लागि अपरिहार्य तत्त्व हुनुका साथै प्रकृतिमा निःशुल्क प्राप्त यो स्रोतबाट विद्युत् पनि उत्पादन गरिन्छ । नेपालको भू–बनोट अनुरूप ठूला–ठूला टर्बाइन ढुवानी गर्न असम्भव छ । किनकि, यसको आवश्यक ब्लेडको लम्बाई नै ३० मिटरसम्म हुन्छ । यसो हुँदा, हाम्रो पहाडी क्षेत्रका सडकहरूमा ढुवानी प्रायः असम्भव नै छ । हेलिकोप्टरबाट ढुवानी र जडान गर्दा परियोजनाको लागत बढ्ने हुनाले नेपालमा यो ऊर्जा लोकप्रिय हुन सकेको छैन ।
अग्नि : प्रकाश र तापका निमित्त अग्नि हाम्रो जनजीवनमा अभिन्न अङ्ग हुँदै आएका छन् । जन्मदेखि मृत्युसम्म हाम्रो रीतिरिवाजमा अग्निको उतिकै भूमिका हुन्छ । नेपालमा जीवाश्म इन्धनको प्रवेश हुनुभन्दा अगाडि रातीमा घर तथा पर्यावरण उज्यालो पार्न या यात्रा गर्न पानी वा अग्निकै सहारा प्रमुख थियो । खाना पकाउनदेखि रेल चलाउन ऊर्जा, कृषि, उद्योग, यातायात विविध क्षेत्रमा अग्निकै भूमिका देखिन्छ । सौर्यमण्डलको केन्द्रविन्दु सूर्य भएकोले सूर्यले अग्निको प्रतिनिधित्व गर्दछ । सूर्यबाट उत्पादित ऊर्जा त व्यापक छ ।
नेपालमा फोटो–भोल्टाइक सौर्य ऊर्जा मात्रको प्रयोग र खाना पकाउने, अन्न सुकाउने प्रविधि छिट्फुट प्रयोगमा आएको छ । तैपनि, सौर्य ऊर्जाको भरपूर प्रयोग भने देख्न पाइएको छैन । महँगो र २४सै घन्टा ऊर्जा उत्पादन नहुँदा यसलाई भरपर्दो ऊर्जाको रूपमा लिइएको छैन तर अबको अवस्था भने त्यो छैन । सौर्य ऊर्जाले २४सै घन्टा ऊर्जा दिन सक्छ र त्यो पनि भरपर्दो र सस्तो रूपमा ।
सन् २०२६ सालभित्र यस्तो प्रविधि भित्रीसक्ने देखिन्छ । घरायसी प्रयोगमा पूर्णरूपमा विद्युत् त्यही घरले उत्पादन गर्नेछ, प्रसारण लाइन भए राम्रो हुन्छ । राष्ट्रलाई योगदान दिन सक्छ, नभए पनि फरक पर्दैन । हरेक घर ऊर्जा घर बनाउन सरकारले नीति छिट्टै बनाओस् । जुन, निःशुल्क पनि उपलब्ध हुन्छ । किनकि, अब पानीबाटै ब्याट्री बन्ने भयो र २४सै घन्टा सञ्चय गर्न सकिन्छ । पानी र घाम दुवै निःशुल्क प्रकृतिले दिएको छ । हाइड्रोजनको खानी मानिएको सूर्यबाट धेरै खालको ऊर्जा उत्पादन गर्ने द्रुततर खोज जारी नै छ ।
आकाश : आकाश त झनै व्यापक र रहस्यमय छ । हामीले वर्तमान परिप्रेक्ष्यमा चर्चा गरिएका हाइड्रोजन र अमोनिया अन्तरिक्षबाटै प्राप्त हुन्छन् । पानीको भण्डारण गर्ने बादल पनि आकाश नै हुन् । प्रसिद्ध वैज्ञानिक निकोला टेस्लाले खोज सुरु गरे पनि पूर्णरूप लिन सकेको थिएन । उनले चट्ट्याङ ऊर्जा शक्तिलाई सञ्चय गरी विद्युत् उत्पादन गर्न चाहेका थिए । सिङ्गो सौर्य–मण्डल नै आकाशमा सन्तुलित छ भने आकाशको ऊर्जा कल्पना भन्दा बाहिर छ ।
जमीन : जमिनमुनि सञ्चित तरल तापलाई तानेर वाफ र त्यो वाफलाई स्टिम टर्बाइनको मद्दतबाट विद्युत् ऊर्जामा परिणत गरिन्छ । जसलाई हामी भू–तापीय (जियोथर्मल) ऊर्जा स्रोत भनेर चिन्छौँ । जमिनलाई माता पनि भनिन्छ, यहाँभित्र नवीकरणीय ऊर्जाका साथै जीवाश्म इन्धन (पेट्रोलियम पदार्थ, ग्यास कोइला) पनि जमिनभित्रकै सम्पदा हुन् । फरक के हो भने कुनैले वातावरणमा नकरात्मक र कुनैले सकारात्मक पार्छन् । जियोथर्मल ऊर्जालाई नवीकरणीय ऊर्जाको रूपमा लिइन्छ । अति नै जाडो हुने मुलुकहरूमा यो ऊर्जा शक्ति बहुउपयोगी छ । बाफबाट विद्युत् ऊर्जा बन्छ । सो बाफलाई घर तताउन पनि प्रयोग गरिन्छ ।
पछिल्लो अध्ययन/अनुसन्धानले ऊर्जा उत्पादनमात्र होइन, नियन्त्रण र सरंक्षणका उपायहरू पनि व्यवहारमा उतारेका छन् । अबका दिनहरूमा ऊर्जा खेर जाँदैन । उत्पादित विद्युत्लाई सञ्चित गर्न सकिन्छ । सञ्चयका लागि विविध प्रकारका ब्याट्रीहरू त छँदैछन् । तिनकाे व्यवस्थापन जटिल भएको हुनाले पूरा विश्व नै पर्यावरणमैत्री ब्याट्री बनाउने क्रममा हाइड्रोजन फ्युलसेल वरदान सावित भइसकेको छ । ठूलो स्केलमा उत्पादन नभए पनि नेपालमा अनुसन्धान र विकास भइरहेको छ । पानीलाई नै विविध प्रविधिबाट हाइड्रोजन बनाइन्छ र ऊर्जा उत्पादन गरिसकेपछि पुनः पानी नै भनिन्छ । यो प्रविधिले एउटा साइकल पूरा गर्ने भएकोले यसलाई इनर्जी ३६०˚ भन्न सकिन्छ ।
हाइड्रोजनको उत्पादन भने नयाँ होइन । धेरै पहिलेदेखि नै यो विविध स्रोतहरू (जस्तैः प्राकृतिक ग्यास, युरेनियम) बाट उत्पादन हुँदै आएको थियो । ऊर्जाको स्रोत र प्रविधि अनुसार हाइड्रोजनका नाम पनि फरक–फरक छन् । प्राकृतिक ग्यासबाट उत्पादितलाई “ग्रे हाइड्रोजन” र कोइलाको ऊर्जाबाट उत्पादितलाई “ब्लू हाइड्रोजन” भनिन्छ । स्वच्छ ऊर्जाबाट उत्पादित हाइड्रोजनलाई “ग्रिन हाइड्रोजन” नामकरण गरिएको छ । त्यस्तै, ब्ल्याक, पिन्क, एल्लो थुप्रै प्रकारका हाइड्रोजन छन् ।
बजारमा बढी भएको ऊर्जा ( जलविद्युत्, सौर्य, बायोमास) बाट ग्रिन हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई औद्योगिक क्षेत्रमा बिक्री वितरण गर्ने व्यापक सोच छ । यो सोच एक हिसाबले सही पनि हो तर हाइड्रोजन फ्युलसेलमा बढी भएको विद्युत् सञ्चित गर्न सकिने भएकोले बजार खोजिरहनु पर्दैन । चाहे त्यो नदी प्रवाही दुई घन्टे, चार घन्टे जलविद्युत् होस् वा आंशिकजलाशय (पि–आरओआर) ।
दिउसो मात्र उत्पादन हुने सौर्य ऊर्जा सबै भण्डारण गर्न सकिन्छ, आवश्यक परेमा वितरण पनि । स्मरण रहोस्, हालै विकसित प्रविधि अनुरूप अब “ग्रिन हाइड्रोजन” उत्पादनबिना विद्युत् पनि गर्न सकिन्छ । त्यो प्रविधि २०२६ भित्र नेपाल भित्रिँदैछ भने हाइड्रोजन फ्युलसेल नै ब्याट्री बन्ने छ । पानी नै पेट्रोल बन्ने छ भने चुल्हो पनि ग्रीन हाइड्रोजनले बल्ने छ । बहुउपयोगी ग्रिन हाइड्रोजनको उत्पादन, संरक्षण र बिक्री वितरण गर्न सकेमा मुलुकको अर्थतन्त्र उकासिनेमा दुई मत नहोला ।
अन्त्यमा
पानी जीवन हो, ऊर्जा हो । हरित अर्थतन्त्र पनि हो । बहुउपयोगी छ, आजैदेखि पानीको संरक्षण गरौँ । पूजा गरौँ । जापानिज पर्यटकहरू प्रायः नेपालको पानी पिउन हिच्किचाउँछन् । पानी पुज्ने मुलुकले खोला–नाला पवित्र राख्न सकेका छैनौँ । ऊर्जा सरोकार, जल सरोकार, अर्थ सरोकार, वातावरण सरोकार, पर्यटन सरोकार, खानी तथा खनिज सरोकार, युवा सरोकार, सबै एकजुट होऔँ, जागौँ । मानवले गरिरहेको प्रकृति दोहोनले पृथ्वी खतरामा छ ।