काठमाडाैं । पूर्वाधार परियोजनाहरू निर्माणको पहिलो सर्त गहन अध्ययन, त्यसको प्रमाणीकरण र कार्यान्वयन हो । यही पक्षसँग अन्योन्याश्रितरूपमा जोडिएको हुन्छ; इन्जिनियरिङ सेवा अर्थात् परामर्शदातृ निकाय । सम्भवतः नेपालको पहिलो परामर्शदातृ निकाय हो, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस लिमिटेड (चेस्को) । ७ वर्ष अगाडि स्थापना भएको चेस्कोले सुरुमा जलविद्युत र त्यसपछि सडक पूर्वाधार, सिँचाइलगायत क्षेत्रमा सेवा प्रवाह गर्दै आएको देखिन्छ । अब विस्तारै ठूला पूर्वाधारमा पनि सेवा प्रवाहलाई विविधिकरण गर्दै लैजाने योजनामा रहेको चेस्को अन्तर्राष्ट्रिय ज्ञान, सीप र अनुभवलाई समेत समेट्दै अगाडि बढेको छ । यिनै विषयमा केन्द्रित रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापासँग ऊर्जा खबरका लक्ष्मण वियोगी र यशोदा सुनुवारले गरेको कुराकानीको सम्पादित अंश ः
नेपालमा परामर्श सम्बन्धित कार्यलाई अगाडि बढाउने योजना हुँदै गर्दा चेस्कोको पृष्ठभूमि र स्थापनाको उपादेयताबारे प्रकाश पारिदिनुहोस् न ?
यो कम्पनी २०७३ असोज ११ गते स्थापना भएको हो । यसको मुख्य लगानीकर्ता वा प्रवद्र्धक जे भने पनि चिलिमे हाइड्रो पावर कम्पनी हो । चिलिमे आफैंले नेपालमा पहिचान बनासक्यो । पृष्ठभूमिको कुरा गरिरहँदा चिलिमे इन्जिनियरिङलाई चिलिमे हाइड्रो पावरसँग अलग्याएर हेर्न मिल्दैन । चिलिमे हाइड्रो पावर बन्दा नै नेपाली इन्जिनियरहरूको केही विधा प्रयोग गरेर इन्जिनियरहरूकै सहभागितामा त्यो आयोजना आएको हो । त्यसैको पृष्ठभूमि र सेरोफेरोबाट चिलिमे इन्जिनियरिङ बन्नुपर्छ भन्ने मान्यता सहित काम अगाडि बढाइरहेको अवस्थामा इन्जिनियरिङ सेवा प्रदान गर्ने उद्देश्यले यो कम्पनी स्थापना भएको हो ।
कम्पनीले आफ्ना सेवालाई कसरी विविधिकरण गर्दै आएको छ ?
मुख्यतः इन्जिनियरिङसँग सम्बन्धित आयोजना पहिचानदेखि, सुपरभिजन, सञ्चालन र मर्मत संभारसम्म वा आयोजनाका लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान भइरहेका छन् । यही हिसाबले अहिले हाइड्रो पावरसँग सम्बन्धित सम्पूर्ण कार्यहरू जस्तैः हाइड्रोलोजी, जियोलोजी, प्राविधिक एव्म वातावरणीय अध्ययन, आयोजनाको पहिचान लगायत कामहरू गर्दै आएको छ ।
सडक पूर्वाधारलगायत क्षेत्रमा हाम्रो सेवा कतिको विस्तारित भइरहेको ?
स्थापनाकालमा हाइड्रो पावरका क्षेत्रमा सेवा दिने उद्देश्यका साथै प्रबन्धपत्र तयार गरिएको थियो । इन्जिनियरिङ कम्पनी खोलिसकेपछि र नेपालको परिप्रेक्ष्यलाई हेरेर पूर्वाधार विकासका लागि प्रचुर सम्भावना देखेपछि अहिले अन्य क्षेत्रमा पनि सेवा दिने गरी समय सापेक्षिक ढंगले अघि बढेका छौं ।
अहिलेसम्म कति वटा आयोजनामा हामीले काम गरिसक्यौं ?
स्थापनाको छोटो अवधिमै १५ वटाभन्दा बढी आयोजनामा काम गर्यौं । यसमध्ये कुनै सम्पन्न भइसकेका छन् भने कुनै निर्माणाधीन छन् । सँगै ६–७ वटा वार्ता (नेगोसिएसन) को क्रममा छन् ।
पछिल्लो समय निजी क्षेत्रका केही निकायले इन्जिनियरिङ कम्पनी स्थापना गरेका छन् । काम गराइको हिसाबले निजी र हाम्रो कम्पनीमा के अन्तर छ ?
जुनसुकै क्षेत्रमा इन्जिनियरिङ विद्या त त्यही नै हो तर हाम्रो काम गर्ने तरीकामा भने केही फरक हुन सक्छ । निजी क्षेत्रलाई आफ्नो ढंगले काम गर्ने स्वतन्त्रता हुन्छ; कामको लागि भने आफ्नै ढंगको प्रतिस्पर्धा छ । हामी सार्वजनिक क्षेत्रको भएकाले एउटा प्रक्रियाबाट फरक ढंगले अघि बढेका छौं ।
सार्वजनिक कम्पनीकै रूपमा दुई वटा कम्पनी भए– एनइए इन्जिनियरिङ र चिलिमे । एकीकृत गरी मजबुत भएर जान सक्ने अवस्था छ कि छैन ?
यो समयको माग अनुसार हुने हो, नेपालको पूर्वाधार विकास र हाइड्रो पावर विकासका सवालहरू छन् । हामी आ–आफ्नो ढंगले काम गरिरहँदा पनि प्रचुर मात्रामा सम्भावना छ । अहिलेका लागि एक–अर्कालाई परिपूरक मानेर नै अघि बढ्नुपर्ने अवस्था देखिरहेका छौं ।
भारत र तेस्रो मुलुकलगायत अन्तर्राष्ट्रियस्तरसँग नेपालको इन्जिनियरिङ सेवा के कस्ता पक्षमा तुलनीय होला ?
परामर्श सेवाको इतिहास हेर्दा विश्वमा करिब १५०–२०० वर्ष अघि ब्रिटेनबाट सुरु भएको देखिन्छ । खासगरी, दोस्रो विश्वयुद्धपछि अमेरिकन परामर्शदाता कम्पनीको संख्या ह्वातै बढ्यो । नेपालमा परामर्शदाता सेवाको प्रवेश सन् १९७० देखि हो र संगठितरूपमा सन् १९९० मा स्क्याफको स्थापना भएपछि अगाडि बढेको पाइन्छ । विश्वको र हाम्रो पूर्वाधार विकासको इतिहास धेरै फरक छ तर प्राविधिकरूपमा वा आजको प्रविधिलाई प्रयोग गर्न सकियो भने देशमा उत्पादित जनशक्तिको आधारमा त्यस्तो फरक घट्दै गएको छ ।
नेपालका विज्ञ, इन्जिनियरहरू विकसित मुलुकका ठूला–ठूला कम्पनीमा काम गरिरहेको देखिन्छ, धेरैजसो विदेशमा अध्ययन गरेर फर्केका पनि हुन्छन् । यसर्थमा, हाम्रो जनशक्ति अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हो कि होइन ?
नेपालको जनशक्ति एकदम प्रतिस्पर्धी छ । विश्वका ठूला–ठूला परियोजनामा उहाँहरूले इन्जिनियरिङ सेवा प्रदान गर्दै आउनुभएको छ । यद्यपि, जुन प्रकृतिको पूर्वाधार विकासका लागि हामी प्रवेश गरिरहेका छौं, त्यसका लागि भने अझै अभिवृद्धि गर्दै लानु आवश्यक देखिन्छ ।
एकातिर हाम्रा इन्जिनियरहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी भइरहनुभएको छ, अर्कोतिर देशमा सरकार वा निजी क्षेत्रले ठूलामात्र नभएर मझौला परियोजना निर्माण गर्दा समेत विदेशी परामर्श सेवा लिने प्रक्रिया छ । कहाँनिर तादम्यता मिल्न नसकेको हो ?
पछिल्ला दिनमा मझौला आयोजनामा नेपाली परामर्शदाताको उपस्थिति एकदम ठूलो देखिँदै आएको छ । त्यसले गर्दा हाम्रो साहस र योग्यता पनि बढ्दै गएको छ । साथसाथै, हाम्रै चेस्कोको अनुभवलाई मात्र हेरियो भने पनि अहिलेसम्म झन्डै १०० करोड रुपैयाँ विदेशिने पुँजी रोकिएको अवस्था छ ।
पूर्वाधार विकासमा सरकारका निश्चित योजना छन्, ऊर्जामा पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य छ । यता, विद्युत खरिद सम्झौता (पिपिए) नभएको र सडक पूर्वाधारमा पनि नीतिगत अवरोध देखिन्छ । यस्तो अवस्थामा इन्जिनियरिङ सेवा सशक्तरूपमा अगाडि जान सक्ने अवस्था बन्ला ?
विकास निर्माणका सवालमा अवश्य पनि हामीलाई विभिन्न प्रकृतिका धेरै चुनौतीहरू छन्; जस्तो कि, नीतिगत, कार्यान्वयन, प्राविधिक योग्यता जस्ता लगायत । मुख्यतः हामीले हरेक ठाउँमा समायोजन गर्न जरुरी छ । खासगरी, नीतिगतभन्दा बजार विस्तारीकरणका लागि आयोजनाको विकासका द्वार खुल्ला हुने सम्भावना छ । अब हामी सडक र सुरुङमार्गको युगमा प्रवेश गर्दैछौं । जुन हाइड्रो पावर क्षेत्रमा नेपाली जनशक्तिको उपस्थितिमा थुप्रै भइसकेको छ, त्यहाँ विज्ञता, क्षमता र दक्षताको सदुपयोग गर्दै पूर्वाधारका अन्य क्षेत्रको विस्तारीकरणमा पनि हामी लाग्न आवश्यक भइसकेको छ । त्यही अनुसार हामीले पूर्वतयारी गर्न जरुरी छ ।
भोलिका दिनमा विदेशी कम्पनीको दाँजोमा परामर्श सेवा प्रदान गर्न सक्ने गरी अगाडि बढ्न सरकारी र निजी क्षेत्रबीच सहकार्य गरेर जाने सम्भावना कतिको देख्नुहुन्छ ?
यसलाई अलि फरक ढंगले भन्दा ठिक होला । विदेशसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि नेपाल अहिले विकासको कुन अवस्थामा छ ? हामी देख्न सक्छौं, भर्खर त विकास निर्माणका कार्यहरूको रूप धारण गरिरहेको सुरुवाती अवस्था छ । यसमा हामी विदेशीको दाँजोमा पुग्नु भन्दा इन्जिनियरिङका व्यक्तिगत प्रतिभाहरू जससँग ५०औं वर्ष ठूला–ठूला आयोजनाको अनुभव छ । त्यसमा हामीले प्रविधि, ज्ञान र सीप लिएर हाम्रो दक्षता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।
सरकारी र निजी कम्पनी मिलेर जाँदा देशभित्र बन्ने ठूला आयोजनाका लागि इन्जिनियरिङ सेवा दिन सक्ने अवस्था बन्ला ?
धेरै ठूला र कम्प्लेक्स आयोजनाहरूका लागि अझै पनि उँहाहरूबाट ज्ञान, सीप र अनुभव लिन जरुरी छ । राष्ट्रमै भएको दक्ष जनशक्ति र पुँजीलाई अधिकतम सदुपयोग गर्दै उहाँहरूको ज्ञान, सीप अनुभवलाई पनि साथसाथै लैजानुपर्ने अवस्था देखिन्छ ।
स्वदेशी इन्जिनियरहरूको विज्ञता राज्य निर्माणमा राज्यले कतिको सदुपयोग गरेको पाउनुभएको छ ?
परामर्श सेवाको सवालमा व्यत्तिगत होस् वा फर्ममा राज्यले अझै बढी गर्न सक्ने ठाउँ देख्छु । त्यक्तिगत, चिनजानको हिसाबले त सदुपयोग भइरहेको छ तर राज्यकै नीतिमा आएर निर्माण व्यवसायीलाई विभिन्न तरिकाबाट आन्तरिकरूपमा केही न केही स्थान दिएको छ । यसैगरी, परामर्श सेवाको सवालमा अबका दिनमा नीति निर्माण गर्दा राष्ट्रिय परामर्श सेवाको सदुपयोग गर्नुपर्ने व्यवस्था आइदेओस् भन्ने हाम्रो चाहाना हो ।
यो क्षेत्रमा ‘थिंक ट्यांक’को जरुरी देख्नुहुन्छ ?
‘थिंक ट्यांक’को रूपमा हाम्रो सदुपयोग नै नभएको भन्ने छैन । जहाँसम्म छुट्टै निकाय बनाउने सवाल छ; यसमा राज्य, प्रदेशको आफ्नै योजना निकाय छन् । हरेक मन्त्रालयका आफ्नै नीति निर्माण निकाय छन् । समस्या कहाँ हो भने हाम्रो नियमितता (कन्सिटेन्ट) छैन्; विकास निर्माण, पार्टीका विचारधाराका सवालमा । राज्य तहमा सबैको निममितता चाहिन्छ र नीति निर्माणका कुरामा अन्तर्विरोध हुनु हुँदैन । विकास निर्माणका लागि वातावरणीय पक्ष इआइए स्वीकृत गर्नुपर्ने कुरामा फरक मत पाइरहेका छौं । राज्यले कुनै आयोजना विकासका लागि राष्ट्रियस्तरको खाका वा मास्टर प्लान ल्याउँदा सबै खालका नीति निर्माणका विषयलाई समान एजेण्डा बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
हरेक राजनीतिक पार्टीले चुनावको समयमा घोषणापत्र तयार गर्छन् त्यसमा इन्जिनियरिङ विषयलाई कत्तिको समेटेको पाउनुहुन्छ ?
त्यो तहसम्मको विश्लेषण मैले गहिराइसम्म गरेको छैन् । उहाँहरूको घोषणापत्रमा राजनितिकका कुरा बढी हुने भएकाले विकास निर्माण र त्योभित्र रहेका एउटा पक्ष परामर्श सेवा अलि ओझेलमा परेको हो कि जस्तो लाग्छ ।
इन्जिनियरिङ सेवामा आत्मनिर्भर हुनका लागि हामीले पहिल्याउनुपर्ने माग कस्तो हुनुपर्छ ?
यसमा दुई पक्ष छन्; पहिलो हामी अब पूर्वाधार विकासको नयाँ युगमा प्रवेश गर्दैछौं । ठूला–ठूला परियोजनाहरू आउँदै छन् । त्यसका लागि हामीले पूर्वतयारी गर्नुपर्छ । इन्जिनियरिङकै सवालमा हेर्न हो भने दक्ष जनशक्ति उत्पादन गर्ने, पुँजीको तयारी र पूर्वाधार विकासमा स्थिरता चाहिन्छ । ऊर्जा क्षेत्रमा अहिलेसम्म ऊर्जा सुरक्षाका खाकाहरू आएका छैनन् । नेपालको जलविद्युत क्षेत्रको आगामी १५ वर्षको लागि छुट्टाछुट्टै योजना आएको छ ।
देशमा हाइड्रो पावरको योगदान भनेको ३ प्रतिशतमात्र छ, आज पनि ७० प्रतिशत परम्परागत ऊर्जाको प्रयोग गरिरहेका छौं । एकातिर, विद्युतीय सवारीको प्रयोग बढाउने भन्छौं, विद्युत उत्पादन बढाउने भन्छौं । अर्कोतिर, पेट्रोलियम गाडीको बिक्री र नेपाल आयल निगमले तेल खपत बढिरहेकै छ । यसरी हेर्दा वार्षिक निगमबाट ३०० अर्ब रुपैयाँ बाहिरिएको छ । यी सबैका लागि व्यापक योजना आएपछि परामर्श सेवालाई त्यसैमा राखेर मुलुकलाई कति दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भनेर लैजानुपर्छ ।
आज राज्यले ठूलो परियोजना सुरु गर्यो भने नेपालको इन्जिनियरिङ सेवामा दक्ष जनशक्ति कति उपलब्ध होलान् ?
बीचमा कोभिड–१९ ले गर्दा फुल फेजका केही आयोजनाहरू बन्द भए तर पछिल्लो समय आयोजना निर्माणका ढोकाहरू खुल्दै गएका छन् । अहिले हाम्रै कम्पनीमा खोज्दा पनि आवश्यक भनेजस्तो मान्छे नपाउने स्थिति छ । एकातिर, उत्पादन पनि भइरहेको छ; हामी भनेको सेवाप्रवाही हौं । सेवाप्रवाहीप्रति उहाँहरूको ट्रम एन्ड रिफरेन्सका आधारमा सेवा गर्ने गर्दा हामीले त्यही क्वालिटीको डकुमेन्ट र सेवा प्रदान गर्न त्यही अनुसारको जनशक्ति आवश्यक पर्छ ।
गुणस्तरीय मानवस्रोत उत्पादन गर्न कसरी जाने त ?
सुरुमा त इन्जिनियरहरूको पढाइ राम्रो हुनुपर्यो र उहाँहरूलाई काम गर्न सक्ने वातावरण र आयोजनामा अनुभव बटुल्ने वातावरण सिर्जना हुनुपर्यो ।
चेस्को एउटा सशक्त कम्पनीको रूपमा अघि बढेको छ, यसका सवल पक्षहरूका विषयमा कसरी विश्लेषण गर्नुहुन्छ ?
चेस्कोलाई हामी ‘थ्री पिलर’ भन्छौ । मूल्य (भ्यालु), जनशक्ति र व्यावसायिकता । भ्यालु भनेको; इन्जिनियरले सेवा गर्दा सही ठाउँमा बसेर सही क्वालिटीको काम तोकिएको समय र लागतमा निर्माण पूरा गर्नुपर्यो । जनशक्ति भनेको; इन्जिनियरिङ कम्पनीमा जनशक्ति नै टर्बाइन वा जे भनेपनि जनशक्तिले नै पूर्ण रूपमा काम गर्नुपर्यो । व्यावसायिकता भनेको इन्जिनियरिङ सेवालाई मर्यादित बनाएर समाजमा इन्जिनियरको स्थान उच्च बनाउने दायित्व निर्वाह गर्नुपर्यो । यसैकै आधारमा हामीले काम गरिरहेका छौ । त्यसैले चेस्कोका आगामी दिन बुलन्द छन्, भविष्य उज्यालो छ ।
चेस्कोका आगामी योजनाहरूका विषयमा के भन्नुहुन्छ ?
दुई चीजमा हामी केन्द्रित छौ; एउटा व्यापार विविधीकरण र अर्को कम्पनीको विस्तार ।
पुँजी अभिवृद्धि गर्ने क्रममा चेस्कोले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको सुनिन्छ । त्यस्तो अवस्था किन आयो ?
चिलिमे आफैंमा ब्राण्ड हो र चेस्को आफैमा ब्राण्ड हो । यसले हामीलाई अझ थप जिम्मेवारबोध गराउँछ । पहिलो कुरा त पुँजी अभिवृद्धिमै सहयोग पुर्याउँछ । दोस्रो, पारदर्शिता बढ्दै जान्छ; ब्रान्डिङ अझ बलियो हुन्छ । अहिले सेयर निष्कासन गर्ने अवधारणा मात्र बनाइरहेका छौं । उचित समयमा सञ्चालक समितिले उचित निर्णय लिन्छ भन्ने पर्खाइमा छौं ।