काठमाडौँ । डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले लट–२ को प्याकेज अन्तर्गत उक्त ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड, चाइना र एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपालको संयुक्त उपक्रम (जेसिई–एएनके जेभी) ले पाएको हो ।
सोमबार एक समारोहबीच उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जय सापकोटाले ऊर्जा खबरसँग बताए । ‘उक्त प्याकेजको खरिद सम्झौताका लागि आह्वान गरिएको बोलपत्रमा भाग लिएका ४ कम्पनी मध्ये कम तथा अनुमानित लागतभन्दा १० प्रतिशत कम प्रस्ताव गर्ने कम्पनीसँग ठेक्का सम्झौता गरेका छौँ,’ उनले भने ।
उनका अनुसार उक्त प्याकेज निर्माणका लागि करबाहेक १२ अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मितिले साढे ४ वर्ष (५४ महिना) भित्र निर्माण कार्य पूरा गर्नुपर्ने छ ।
आयोजना निर्माणको प्याकेज–१ अन्तर्गत पर्ने आवासगृह, पहुँच मार्ग, पुल (बेलिब्रिज) लगायतका संरचना निर्माणका लागि प्रक्रिया अनुसार ठेक्का सम्झौता भई काम भइरहेको छ । अब लट–३ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडान र लट–४ अन्तर्गत प्रसारण लाइनसहितका पूर्वाधार निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी (भियुसिएल) ले निर्माण गर्ने यस आयोजनाको बाँध जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा र भूमिगत विद्युत्गृह मुड्केचुला गाउँपालिका–४ इलामा निर्माण हुने छ ।
आयोजनाको कूल लागत अनुमान २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस मध्ये ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ । त्यस्तै, बाँकी ३० प्रतिशतले हुन आउने ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनामा नबिल बैंकको अगुवाइमा हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक लिमिटेडले ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनाबाट वार्षिक वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यस मध्ये वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदमा १९३.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत् ३८ किलोमिटर लामो प्रसारण लाइनमार्फत जाजरकोटमा बन्ने ४०० केभीको नलगाड हब सबस्टेसनमा जोडिने छ ।
आयोजनाको विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ, वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र पिक आवरमा १०.५५ रुपैयाँ प्रतियुनिटका दरले विद्युत् खरिद गर्ने छ ।