काठमाडौँ । गत आर्थिक वर्ष (आव २०८१/८२) मा ३३ अर्ब ४४ करोड ५८ लाख ९१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएका छन् । गत साउनदेखि असारसम्म दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, कार/जीप/भ्यान तथा अनएसेम्बल्ड (संयोजन नगरिएका) गरी २३ हजार २ सय ९७ थान विद्युतीय सवारी साधन आयात भएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष कम सङ्ख्यामा विद्युतीय सवारी साधन आयात भएको हो । अघिल्लो आर्थिक वर्षमा ३० अर्ब ७७ करोड ७३ लाख ३८ हजार रुपैयाँका २३ हजार ८ सय ७२ थान विद्युतीय सवारी साधन आयात भएका थिए । गत वर्षको आयातबाट सरकारले २० अर्ब २७ करोड ८४ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उक्त आवमा भारत र चीनबाट १ अर्ब १ करोड ६४ लाख ५६ हजार रुपैयाँको तीनप्राङ्ग्रे सवारी साधन ९ हजार ७ सय २८ वटा आयात भएको छ । चीन, भारत र इन्डोनोसियाबाट ४ हजार ७ सय ३२ वटा ८ अर्ब ३१ करोड १४ लाख ८० हजार रुपैयाँको ५० किलोवाट (किवा) सम्मका कार/जिप/भ्यान आयात भएको छ । साथै, चीन, भारत र कोरियाबाट १८ अर्ब ६२ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको ५० देखि १०० किवासम्का ७ हजार ४ सय ३३ वटा कार/जिप/भ्यान आयात भएका छन् ।
चीन, जर्मनी, भारत, कोरिया, मलेसिया र यूएसबाट ४ अर्ब ५३ करोड ४५ लाख ३० हजार रुपैयाँको १०० देखि २०० किवासम्मका १ हजार ३ सय ६२ वटा सवारी साधन आयत भएका छन् ।
चीन, भारत र यूएसबाट २७ करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबरको २०० किवाभन्दा माथिका ४२ वटा सवारी साधन साधन आयात भएका छन् । ३०० किवाको २ वटा सवारी साधन चीनबाट ८३ लाख २३ हजार रुपैयाँमा आयात गरिएको छ ।
त्यस्तै, चीन र भारतबाट १ अर्ब ४९ करोड ५३ लाख ९१ हजार रुपैयाँको ६ हजार ७ सय ८६ सवारी साधनका संयोजन नगरिएका (अनएसेम्बल्ड) सामाग्री आयात भएको छ ।