काठमाडौँ । बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौँडाबाट काठमाडौँसम्म चल्ने गरी ३० वटा विद्युतीय माइक्रो बस सञ्चालनमा आएका छन् । यातायात व्यावसायीहरूको समूह राष्ट्रिय स्वतन्त्र मल्टिपर्पोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो बस हस्तान्तरण गरेको हो ।
बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्रीपछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । खतिवडाले विद्युतीय सवारी वातावरणमैत्री मात्र नभएर यात्रु र व्यावसायमैत्री समेत रहेको भन्दै व्यावसायीहरूलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता बताए । सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्विकल्प रहेको भन्दै व्यावसायीलाई सफलताको शुभकामना दिए । उनले भने, ‘इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो ।’
आजैदेखि सेवाको सुरुवात भएको जानकारी दिँदै व्यावसायीहरूले यात्रुहरूको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताए । इन्धन खर्च बचत हुनाले विद्युतीय गाडी दीर्घकालीन रूपमा व्यावसायीको हितमा रहने उनीहरूको विश्वास थियो ।