६ हजार त खोला–नदीहरू नै छन्, नेपालमा । हिउँदमा गङ्गा नदीमा बग्ने पानी मध्ये ७१ प्रतिशत नेपाली भू–भागबाट जान्छ । त्यो पानी नेपाल र तिब्बतमा उत्पादन हुन्छ । केही वर्ष जलस्रोत मन्त्रालयको सचिव भएर काम गरेका अन्वेषक डा. द्वारिकानाथ ढुङ्गेलले अविश्रान्त परिश्रमसाथ नेपालको पानी सम्बन्धी इति वृत्तान्त समेटिएको एउटा ढड्डु कृति लेखेर खाँटी देशभक्तको परिचय दिएका छन् ।
मलाई लागेको छ– यो नेपालको ‘पानी पुस्तक’ हो भन्दा अत्योक्ति हुँदैन । यो कृति पढेर मैले कति बुझेँ, त्यो आफ्नै ठाउँमा छ । पानी पण्डितहरूले चाहिँ अझै बढी बुझ्ने निश्चित छ । कृतिका सर्जकले मलाई पत्याएर ‘यसो दुई–चार हरफ लेखिदिने कि ?’ भन्दै पाण्डुलिपि पढ्ने अवसर दिनु नै कृतज्ञता व्यक्त गर्ने कारण बनेको छ । उहाँको यो विश्वासले म फुलेल भएको छु ।
द्वारिकाजीले केही लेखिदिने प्रस्ताव गरिरहँदा ‘पूरै पढ्न त के भ्याइएला सुँघेरै मात्र भए पनि केही त लेख्छु’ भन्ने भइरहेको थियो । सामग्री हात परेपछि पाना पल्टाउँदै गएँ । जहाँ आँखा परे त्यहाँ त्यहाँ अडिँदै गएँ । ठेली मोटो नै रहेछ । मेरो अयोग्यताले हो कि, यसमा समाविष्ट सामग्रीहरूको आकर्षणले हो पल्टाइएका पाता नबिराई पढ्न थालेँ ।
म सैद्धान्तिक कुरा कम बुझ्छु । देख्दा पानी जति सरल छ, विविध काममा प्रयोग गर्दा त्यति नै जटिल र विश्लेषण गर्दा अझ धेरै दुरुह पनि । भो; अरू नभनाैं । यो ग्रन्थको तिर्खा मेट्न आफैंले पढ्नुपर्छ । मैले पानी पिएर तपाईंको तिर्खा मेटिँदैन, तपाईंले नै पिउनुपर्छ ।
सफा ऐना
तपाईंको हातमा पर्ने कृति एउटा सफा ऐना हो । यसमा सिङ्गो देश नै छर्लङ्ग देख्न सकिन्छ । सरकार के हो ? राजनीति के हो ? राजनीतिक पार्टी के हुन् ? नेता को हुन्, कस्ता हुन् ? उनीहरू कोेबाट परिचालित छन् ? कसका अगाडि निरीह देखिन्छन् ? त्यसको छनक पनि सहजै पाइन्छ तर पढ्ने धैर्य भने अवश्य चाहिन्छ । पढ्दै गएपछि छोड्न मन नलाग्ने सामग्री एकत्रित गरिएको छ, पुस्तकमा ।
डा. द्वारिकानाथ ढुङ्गेल करिब साढे दुई वर्ष जलस्रोत सचिव भएका रहेछन् । त्यसक्रममा उनले मन्त्रीका हैसियतमा पशुपतिशम्शेर राणा, सहायक मन्त्री (पछि राज्यमन्त्री) सर्वेन्द्रनाथ शुक्ला, प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राज्यमन्त्री राजीव पराजुली र ‘संलग्न मन्त्री’का रूपमा शान्तिशम्शेर राणालाई बेहोरेछन् । त्यसैगरी, उप–प्रधान तथा जलस्रोत मन्त्री शैलजा आचार्य अन्तर्गत पनि काम गरेका रहेछन् । उनीहरूसँग सचिवका हैसियतमा काम गर्दाका अनेक रोचक र घोचक प्रसंग पुस्तकमा चाख–परक ढंगले उतारेका छन् ।
ऐना–रूपी पुस्तकमा लेखकले जलस्रोत सचिव छँदा कति ठाउँमा हेपिनुप¥यो, खेदिनुप¥यो, खप्की खानुप¥यो ती सन्दर्भ पनि उल्लेख गरेका छन् । साथै, एउटै मन्त्रालयमा दुई जना मन्त्री बेहोर्नुपरेको, अर्को मन्त्रीलाई ‘संलग्न मन्त्री’ भन्नुपरेको जस्ता राजनीतिकरूपले जटिल रहस्यहरू पनि उजागर गरेका छन् । नेपालका राजनीतिक पार्टी र तिनका नेताहरूको सक्कली अनुहार हेर्नु छ भने अरू होइन; ढुङ्गेलको पुस्तक पढौं वा उनले बनाएको ऐना हेरौं ।
मन्त्रीको रुचि : जागिर खुवाउने
मन्त्रीहरूको चाख र चासो ‘नीति, योजना तर्जुमा र निर्धारित कार्यक्रम सहजतापूर्वक सञ्चालन भएका छन्÷छैनन्’ भन्नेतिर भन्दा नाता–गोता, पार्टीका कार्यकर्ता, समर्थकहरूलाई जागिर र ठेक्का दिलाउनमा बढी हुने गरेको कुरा यसमा उल्लेख गरिएको छन् । अन्त केहीमा अल्झाउन नसके सल्लाहकार, जनसम्पर्क, प्रेस सल्लाहकार कुनै पदमा राख्नैपर्ने, जागिर खुवाउनैपर्ने । धन र धाक भएकाहरूले पनि पर्याप्त सेवा र सुविधा कुम्ल्याउने । मन्त्रीले सचिवलाई लिखितरूपमा अधिकार प्रत्यायोजन गर्ने तर मन्त्रीलाई नसोधी सचिवले ती अधिकार प्रयोग गर्न नपाउने– कस्तो विडम्बना ? त्यति मात्र होइन कर्मचारी सरुवामा औधी अभिरुचि लिने मन्त्रीहरूले बढी लाभ हुने पदमा आफ्नो मान्छे सरुवा गर्नैपर्ने हुँदो रहेछ ।
विद्युत् प्राधिकरण : लैंनो गाई
नेपाल विद्युत् प्राधिकरण विद्युत् शक्ति विकास र विस्तार गर्न बनेको हो कि नेताहरूका मान्छेहरूलाई पाल्न ? प्रश्न छ । अझ सांसदहरूले सुविधामा झिकाएका गाडी प्राधिकरणले भाडामा लिइदिनुपर्ने चाहिँ किन ? यो सामग्री पढ्दै जाँदा पाठकले यस्तै प्रश्न गरिरहन्छन् ।
३० मेगावाटको चमेलियाबाट बत्ति बल्न ११ वर्ष लाग्यो भने १४ मेगावाटको कुलेखानी– ३ बाट ऊर्जा उत्पादन हुन १२ वर्ष लाग्यो । खर्च त कति हो कति ? सांँच्चै भन्ने हो भने चमेलिया जलविद्युत् आयोजना बिजुली उत्पादन गर्ने भन्दा ठूलाहरूलाई विलासितायुक्त महँगा गाडी चढाउने परियोजना बन्न पुग्यो । कसरी सकेको होला, त्यति धेरै महँगा गाडी, त्यति धेरै संख्यामा किन्न ?
प्राधिकरणलाई सेवामुखी व्यापारिक संस्था बनाउन विफल भएको कुरा पनि उल्लेख छ, पुस्तकमा । प्राधिकरणसँग सम्बन्ध नै नभएका व्यक्तिहरूका लागि समेत विदेश भ्रमणको खर्च बेहोर्ने जस्ता काम पनि हुने रहेछन् । यसरी हेर्दा प्राधिकरण लैंनो गाई हुन गएको देखिन्छ ।
दुर्लभ सन्दर्भ सामग्री
मन्त्री पशुपतिशम्शेरले रोजेर लगेका रहेछन्, जलस्रोत सचिवमा डा. द्वारिकानाथ ढुङ्गेललाई । पछि त कहिलेकाहीँ मन्त्रीसँगै तीतो–पिरो भएछ । निकै ठाकठुक परेछ, घुक्र्याउने काम पनि गरेछन्, ढुङ्गेलले ।
ढुङ्गेलले पुस्तकमार्फत अमेरिकी कुटनीतिज्ञको हेपाइ र खप्की, अष्टे«लियन कङ्गारुको अपमान पनि सहनु परेको र ब्रह्मले ‘नमान’ भने पनि राजनीतिक नेताको दबाबमा केही काम गर्नुपरेको स्वीकार गरेका छन् । शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाको नाता पर्ने भाइ एनरोन कम्पनीका नेपाली एजेन्ट भएको प्रसंग पनि पुस्तकमार्फत सार्वजनिक गरिएको छ । कमिसन एजेन्टहरूका सामुन्ने प्रधानमन्त्री लगायत नेताहरूको निरीहता स–विस्तार सार्वजनिक गरेर एक देशभक्तले गर्ने कर्तव्य पूरा गरेका छन्, पुस्तकमार्फत लेखकले ।
डा. ढुङ्गेलले महाकाली सन्धि वरिपरिका सबै घटना र पात्रहरूको सत्य कथा प्रामाणिक तवरले सार्वजनिक गरेर ‘एउटा ऐतिहासिक जिम्मेवारी पनि पूरा गरेका छन्’ भन्ने मेरो टिप्पणी छ । त्यस्तै, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा कोसी उच्चबाँध बनाउने निर्णयमा सहमति जनाएको कुरा पनि यस पुस्तकमा उल्लेख छ ।
समग्रमा महाकाली सन्धि, विद्युत् ऊर्जा व्यापार सम्झौता, २०५२; एनरोन र कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजना, स्मेकसहित पश्चिम सेती जलविद्युत् आयोजनामा कसको के अभिरुचि देखियो ? त्यसमा हाम्रा राजनीतिक नेताहरूको दृष्टिकोणबारे देखे–भोगेका, टिपोट गरेका कुरा समावेश गरेर एउटा दुर्लभ सामग्री तयार गरी ठूलो गुन लगाएका छन्, लेखकले ।
‘नाफा कमाउन मात्र बढी केन्द्रित हुने विदेशी कम्पनीहरू र तिनका नेपाली एजेन्टहरू कति बलवान हुँदा रहेछन्’ भन्ने बुझ्न सघाउने उपयुक्त सामग्री मान्न सकिन्छ, यसलाई । स्मेकले पश्चिम सेती डेढ दशकसम्म कब्जा गरेर नेपालको सुदूरपश्चिम क्षेत्रको विकास रोकी राख्ने काम गर्यो । शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द त्यही क्षेत्रबाट धेरै पल्ट प्रधानमन्त्री भए तर आयोजना कार्यान्वयन गर्न सकेनन् । यो कुरा पनि प्रकाशोन्मुख पुस्तकमा समावेश छ ।
(रिसाल वरिष्ठ पत्रकार हुन्)