काठमाडौँ । विद्युत् विकास विभागद्वारा निर्माणको प्रस्ताव गरिएको ९७.४३ मेगावाटको डाँडागाउँ खलङ्गा भेरी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवदेन सार्वजनिक गरिएको छ । विभागले उक्त अर्धजलाशय (पिआओआर) आयोजनाको इआइए प्रतिवेदन राय–सुझावका लागि सार्वजनिक गरेको जनाएको छ ।
वन तथा वातावरण मन्त्रालयले जारी गरेको सूचना अनुसार ठूली भेरी नदीको पानी सदुपयोग गर्ने गरी निर्माण गर्न लागिएको आयोजनाको बाँध संरचना रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–११ र जाजरकोटको नलगाड नगरपालिका–१ मा निर्माण गरिने छ । आयोजनाको विद्युत्गृह जाजरकोटको भेरी नगरपालिका–१ मा निर्माण गरिने छ ।
समुद्री सतहबाट ८०१ मिटर उचाइमा पर्ने स्थानमा बाँध निर्माण गरिने छ । ९÷९ मिटर उचाइ र लम्बाइ रहने बाँधमा ३ वटा ढोकाको व्यवस्था गरी नदीको पानी फर्काइने छ । विद्युत्गृहमा पानी लैजान ७.६ मिटर चौडाइ भएको ६ हजार ९७ मिटर लामो हेडरेस सुरुङ निर्माण गरने छ । त्यस्तै, विद्युत्गृहमा पुगेको पानीलाई १८ मिटर चौडा ६५.६५ मिटर लामो सतही टेलरेसमार्फत पुनः नदीमा छोडिने छ ।
७८.४ मिटर नेट हेड रहने आयोजनाबाट वार्षिक ५२३.५८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । आयोजनाको विद्युत् १३२ केभी डडल सर्किट प्रसारण लाइनमार्फत नलाड सबस्टेशनमा जोडिने छ ।
आयोजनाको कुल लागत अनुमान २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार (प्रतिमेगावाट २५ करोड २२ लाख ७६ हजार) रुपैयाँ रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्रभावित जिल्लाका जिल्ला समन्वय समितिको कार्यालयहरू, प्रभावित जिल्लाका नगरपालिकाहरूका स्थानमा आयोजनाको इआइए प्रतिवेदन राखिएकोले उक्त प्रतिवेदनहरू उतार गरी अध्ययन गरेर ७ दिनभित्र राय–सुझाव उपलब्ध गराउन सरोकारवाला सबैमा आह्वान गर्दै मन्त्रालयले सोमबार सूचना जारी गरेको हो ।