काठमाडौँ । थप करिब ८० मेगावाट विद्युत् निर्यात गर्नका लागि भारतले नेपाललाई सहमति प्रदान गरेको छ । दुई जलविद्युत् आयोजनाबाट उत्पादित उक्त परिमाणको विद्युत् निर्यात गर्न बिहीबार (भदौ ५ गते) स्वीकृति प्रदान गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ५० मेगावाटको मेवाखोलाबाट ४८.५ मेगावाट र ३२ मेगावाटको करुवा सेतीबाट ३१.०४ मेगावाटको बिजुली भारत निर्यात गर्न स्वीकृत प्राप्त भएको छ ।
यसअघि भारतले विभिन्न आयोजनाबाट कुल ८५० मेगावाट र १० दिन पहिला (साउन २६ गते) विद्युत् २०० मेगावाट थप गरी १०५० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति दिएको थियो । थपिएको ८० मेगावाट गरी भारतमा निर्यात हुने कूल क्षमता ११३० मेगावाट पुगेको भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले जानकारी दिए ।
यसबाहेक नेपालले वर्षामा ५ महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । योसहित नेपालले दुई देशमा गरी कुल ११७० मेगावाट निर्यात गर्न पाउने भएको छ ।