काठमाडौँ । नेपालको ऊर्जा विकासको आधारभूमि खडा गरेका साना जलविद्युत् आयोजनाहरूलाई धराशयी हुनबाट जोगाउनुपर्ने यस क्षेत्रका विज्ञ, विश्लेषक तथा सरोकारवालाले बताएका छन् । देश विद्युत् उत्पादनको प्रतिकुल अवस्थाबाट गुज्रिँदा त्यस्ता आयोजनाले सहरदेखि गाउँसम्मकाे विद्युतीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै विद्युत् विकासको जगसमेत निर्माण गरेको हुँदा तिनको संरक्षणका लागि आवाज उठाइएको हो ।
ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा हुँदै आएको ऊर्जा नीति संवादको एघारौँ शृङ्खलाअन्तर्गत मंगलबार (फागुन १३ गते) को छलफलमा उपस्थित अधिकांश विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले साना जलविद्युत् आयोजनाहरूलाई जसरी पनि बचाउनुपर्ने बताए । २-३ सय किलोवाट, १–२ मेगावाट, १० मेगावाट हुँदै अहिले ५ सय मेगावाटसम्मका आयोजना बनाउने अनुभव र साहस साना आयोजनाबाटै प्राप्त भएको भन्दै त्यस्ता आयोजनालाई ‘मर्न दिन नहुने’ अधिकांशको धारणा थियो । यसका लागि राज्य तथा राज्य संयन्त्रका तर्फबाट नीतिगत र व्यवहारिक सहयोग उपलब्ध हुनुपर्ने उनीहरूको तर्क थियो ।
कार्यक्रममा ग्रीन इनर्जी आन्टरप्रेनर्स नेपाल (ग्रीन) का अध्यक्ष एवम् ऊर्जाविज्ञ सूर्यप्रसाद अधिकारीले साना जलविद्युत् आयोजनाको दिगो सञ्चालनमा देखिएका चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै विश्व परिवेशमा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजना विकासको अवस्था तथा नेपालको ऊर्जा विकासमा यसको योगदान, सम्भावना र चुनौतीका विषयमा प्रकाश पारेका थिए ।
‘विश्वमा १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको जडित क्षमता ७८ गिगावाट रहेको अनुमान छ,’ अधिकारीले प्रस्तुतिकरणका क्रममा उल्लेख गरे, ‘युरोपले यो स्तरका सम्भाव्य आयोजनामध्ये ८० प्रतिशत र चीनले ५४ प्रतिशतको विकास गरिसकेको छ, जुन विश्वको कुल सम्भावनाको २८ प्रतिशत हो ।’
उनले नेपालमा हाल सञ्चालनमा रहेका, उत्पादन तथा सर्वेक्षण अनुमति लिएकासहित १० मेगावाटसम्मका कुल १ हजार ९ सय ७१ दशमल ४५ मेगावाटका ३८८ आयोजना रहेको जानकारी गराए । हाल नेपालमा यो स्तरका ११० वटा आयोजनाबाट ५१०.७९ मेगावाट विद्युत् उत्पादन भइरहेको पनि प्रस्तुतिकरणका क्रममा उल्लेख गरेका थिए ।
‘देशको ऊर्जा विकासको आधारभूमि निर्माण गरेका साना आयोजनालाई अवमूल्यन नगरौँ,’ उनले भने, ‘अहिल्यै पनि १० मेगावाटदेखि साना १३ वटा आयोजना बन्द गरिने हो भने विभिन्न २३ वटा जिल्ला अँध्यारो हुने अवस्था छ ।’ साना जलविद्युत् आयोजना यति महत्त्वपूर्ण हुँदाहुँदै सरकार र सरकारी निकाय (विद्युत् प्राधिकरणसमेत) ले यिनलाई जोगाउन कुनै कदम नचालेको उनले गुनासो गरे ।
अधिकारीका अनुसार साना आयोजनाको दिगो सञ्चालनका लागि प्राविधिक, कानुनी/प्रशासनिक, सामाजिक तथा वित्तीय चुनौतीहरू देखिएका छन् । प्राविधिक चुनौती अन्तर्गत हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण र यससम्बन्धी परामर्शका लागि विदेशमा भर पर्नुपर्ने अवस्था रहनु, सामान्य ममर्त सम्भार खर्चका लागि पनि वार्षिक ३५ करोड रुपैयाँ बाहिरिनु, प्राविधिक रूपमा अनुभव र व्यावसायिकताको कमी हुनु जस्ता चुनौती छन् ।
त्यस्तै, झन्झटिलो, जटिल र स्वविवेकी अधिकारयुक्त कानुनी/प्रसाशनिक व्यवस्था, समाजले अपनत्व लिन नसकेको, राजनीतिक हस्तक्षेप जस्ता चुनौतीहरू रहेको पनि उनले उल्लेख गरे । रोयल्टी, कर, सेवा शुल्क, वित्तीय ह्रास, पेनाल्टी, ह्रास कट्टी, मर्मतसम्भार, प्रशासनिक खर्च तथा तलब, वित्तीय खर्च, बीमा जस्ता सबै शीर्षकमा यस्ता आयोजनाले १५ वर्षसम्म वार्षिक १५३.१२ प्रतिशत र त्यसपछि अर्को १५ वर्षसम्म १९५.५० प्रतिशत तिर्नुपर्ने भएपछि यस्ता तिनबाट नाफा लिनु आकाशको फलजस्तो बनेको उनले औँल्याएका थिए ।
यस्ता नीतिगत तथा व्यवहारिक चुनौतीहरू हटाएर साना आयोजनालाई बचाउने हो भने ५ मेगावाटभन्दासाना आयोजनालाई अनुमतिपत्रको अवधि नतोक्ने, ५ देखि १० मेगवाटसम्मका आयोजनालाई ५० वर्षको अनुमतिपत्र दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै, ५ मेगावाटभन्दा सानाको रोयल्टी, कर, सेवा शुल्क, वित्तीय ह्रास घटाउन ऐन नियममा व्यवस्था गर्ने, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा ‘लिऊ या तिर’ व्यवस्था लागु गर्ने, आयोजना सञ्चालन अवधि सय वर्ष कायम गरी १ प्रतिशत ह्रास कट्टीको व्यवस्था गर्ने, बीमा शुल्क १ प्रतिशतभन्दा कम कायम गर्ने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।
सबैभन्दा महत्त्वपूर्ण त यस्ता आयोजनाको दिगो सञ्चालनका लागि पिपिए दरमा समायोजन गरी ८ महिना हिउँदमा प्रतियुनिट ९.३० रुपैयाँ र ४ महिना वर्षायाममा ५.६० रुपैयाँ कायम गरी १५ वर्षको मूल्य वृद्धिसमेत समावेश गर्नुपर्ने उनको निचोड थियो ।
कार्यक्रममा पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले ‘ठूलाभन्दा साना राम्रा’ भन्ने भावलाई बुझेर यस्ता आयोजनाको समस्या मिहिनरूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए । यस्तै, विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थले विद्युत् विकासमा सरकारले बोलाएर नै निजी क्षेत्र आएकोले साना आयोजना बनाउने नीति प्रवर्द्धकलाई समेत सहजीकरण गर्नुपर्ने धारणा राखे ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सानासहित लघुजलविद्युत् आयोजनासमेतलाई मर्नबाट जोगाउनुपर्ने बताए । साथै, प्राधिरकणका पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटले प्राधिकरण र प्रवर्द्धक एकअर्कालाई एकअर्को पक्षले पारेको असरलाई एकअर्को पक्षले नै सम्बोधन गर्नुपर्ने व्यवस्था गरिए हदसम्म समस्याको समाधान केही हुने बताए ।
कार्यक्रममा मार्टिन चौतारीका अध्यक्ष एवम् ऊर्जा उद्यमी कुमार पाण्डेले आफूले सुरुमा १८३ किलोवाटको स्यांगे निर्माण गरेको स्मरण गर्दै नेपालको जलविद्युत् विकासको पहिलो आधार नै साना जलविद्युत् आयोजना भएको भन्दै यिनलाई बाँच्ने आधार प्रदान गर्नुपर्ने बताए । ‘साना आयोजनालाई यिनकै संरचनामा सोलार प्लान्ट विकास गर्न सक्ने अनुमति दिएर ग्रिडमा लैजाने व्यवस्था गरियो भने धेरैहदसम्म आर्थिक अवस्थामा सुधार हुन सक्छ,’ उनले भने ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले साना आयोजनाको योगदान विद्युतीकरणमा महत्त्वपूर्ण भएकोले यिनको संरक्षण आवश्यक रहेको बताए । कार्यक्रममा एनएमबी बैंक दिगो बैंकिङ विभागका प्रमुख दिनेश दुलालले पर्याप्त अध्ययन नगरी आयोजना निर्माण गर्दै जाँदा पनि बढी समस्या आएको भाव व्यक्त गरे । बैंकिङ क्षेत्रलाई पेलेर जाने वा ब्याज घटाएरमात्र तिनको उद्दार नहुने हुँदा सरकारले नै यसमा विशेष नीति ल्याएर संरक्षण गर्नुको विकल्प नरहेको उनको धारणा थियो ।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, (इपान) का उपमहासचिव प्रकाश दुलालले अब साना र ठूला आयोजनाको पिपिए दर, बैंक ऋणको ब्याजदर, रोयल्टी दर लगायतमा फरक गरी सानालाई कम गरिएन भने साना आयोजना थप समस्यामा पर्ने बताए । इपान कार्यसमिति सदस्य सुमन जोशीले साना आयोजना प्रवर्द्धक र लगानीबर्ता बैंकलाई परेको पिर सरकार तथा राज्य संयन्त्रले नबुझेको गुनासो गरिन् ।
ऊर्जा अभियान्ता कृष्णप्रसाद भण्डारीले अब साना जलविद्युत् आयोजना जोगाउन राजनीतिकस्तरबाटै निर्णय हुनुपर्ने बताए । अध्येता तथा प्रवर्द्धक विदुर पौडेलले धराशयी भई बन्द नै भइसकेका आयोजनाहरू विश्वविद्यालयका सम्बन्धित विषयका विद्यार्थीको अध्ययनका लागि खुला गर्ने सके यसबाट विद्यार्थीले महत्त्वपूर्ण ज्ञान हासिल गर्ने बताए ।
छलफलको अन्त्यमा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले हिमालबाट हिउँ हराएको तथा नेपालबाट समृद्धिसँगै सबै चिज हराउँदै गएको भावसहितको कविता वाचन गरी कार्यक्रमलाई राेमाञ्चक बनाएका थिए ।